+
+
उम्मेदवार प्रोफाइल :

रामजनम चौधरी : विरासत फर्काउने चुनौती

२०७४ को चुनाव हारेपछि जोशीपुरमै रिसोर्ट खोलेर पर्यटन व्यवसायमा लागेका उनी राजनीतिबाट अलग हुन भने सकेनन् । परिणाम, उनी सातौं पटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसपटक कांग्रेसबाट चुनावी मैदानमा आएका उनलाई सत्ता गठबन्धनको बलियो साथ पनि छ ।

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक २९ गते १२:४८

२०४८ सालदेखि संसदीय चुनाव लड्दै आएका रामजनम चौधरी पाँच पटक सांसद भइसके । एक पटक स्वास्थ्यमन्त्री पनि बने । २०१७ सालमा कैलाली, जोशीपुरको सामान्य परिवारमा जन्मिएका चौधरी २०३६ सालयता नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्, बीचमा एक पटक बरालिएको बाहेक ।

२०४६ सालको आन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट कांग्रेस पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको बाँके जिल्ला कमिटी उपाध्यक्ष थिए ।

३१ वर्षको उमेरमा पाएको त्यो अवसरलाई उनले विजयमा रूपान्तरण गरे । त्यसपछि सोही क्षेत्रबाट २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी कांग्रेसबाटै विजयी भए । त्यसबीचमा उनले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरे ।

२०६०–६१ पछिको तनावपूर्ण राजनीतिमा भने उनले पहिचानको बाटो रोजेर मधेशी जनअधिकार फोरम, नेपालको मोर्चामा खडा हुन पुगे । २०६४  सालमा समानुपातिकबाट र  २०७० सालको संविधानसभा निर्वाचनमा कैलाली-३ बाट उनी फोरम लोकतान्त्रिक पार्टीबाट सांसद बने  । यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले रामजनमको अविराम विजय यात्रा अवरुद्ध पारिदिए ।

२०७४ को चुनाव हारेपछि जोशीपुरमै रिसोर्ट खोलेर पर्यटन व्यवसायमा लागेका उनी राजनीतिबाट अलग हुन भने सकेनन् । परिणाम, उनी सातौं पटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

यसपटक कांग्रेसबाट चुनावी मैदानमा आएका उनलाई सत्ता गठबन्धनको बलियो साथ पनि छ ।

स्थानीय तहको मतभार

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतभार अनुसार जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टी कैलाली–१ को पहिलो दल हो । नागरिक उन्मुक्तिले सबभन्दा बढी १७ हजार १९३ मत पाएको छ ।

त्यस्तै, कांग्रेसले ११ हजार ११९, नेकपा (एमाले)ले ९ हजार ९००, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७९७, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ३४३ र जनता समाजवादी पार्टी (जसपा)ले १ हजार ८७४ मत पाएका छन् ।

यो क्षेत्रमा एमालेले तपेन्द्र रावललाई उठाएको छ, तर स्थानीय चुनावको नतिजा र सत्ता गठबन्धनले चौधरी बलियो स्थितिमा रहेको देखाउँछ । उनका लागि चुनौती भनेको नागरिक उन्मुक्ति पार्टी र गठबन्धन दलभित्रको असन्तुष्टि मात्र हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?