+
+

स्वास्थ्यमन्त्रीको गुनासो : दिवस मनाउदा मनाउँदै कार्यकाल सकिन लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १४:०१

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सानो हल मंगलबार दिउँसो खचाखच थियो । विश्व मधुमेह दिवसको अवसरमा एउटा गोष्ठी आयोजना गरिएको थियो । विषयविज्ञ, पत्रकार र सरकारी अधिकारीहरूले भरिएको त्यो हलमा प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ ।

विज्ञले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रको एउटै सार थियो, पछिल्लो समय मधुमेहको समस्या बढ्दैछ, सरकारले कुनै एक्सन लेओस् । सबैका विचार, कार्यपत्र र छलफल सुनिसकेपछि मन्त्री खापुङ बोले ।

उनले सुरुमै भने, ‘स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि कहिले क्यान्सर, कहिले मुटु, कहिले मिर्गौला, कहिले मधुमेह लगायतका दिवस मनाउँदा मनाउँदै कार्यकाल सकिन लाग्यो ।

हलभरि हाँसो गुञ्जियो ।

मन्त्री खापुङले सोधे, ‘कोही मधुमेहका बिरामी हुनुहुन्छ ?

हलबाट कुनै जवाफ आएन । ‘चिकित्सक र युवा स्वास्थ्य पत्रकारलाई हुने कुरै भएन ! हामीजस्ता मूर्खलाई लाग्ने रहेछ’, खापुङले त्यति भन्दै गर्दा फेरि हलभरि पुनः हाँसो गुञ्जियो ।

उनले आफूसहित आफ्ना साथीहरुलाई मधुमेह भएको भनेर केही किस्साहरु पनि सुनाए । ‘यो मधुमेह र सुगर एउटै होला जस्तो लाग्छ मलाई । न, होइन कि !’ हलमा फेरि हाँसो चल्यो ।

मन्त्री खापुङ आफैं मधुमेहका बिरामी हुन् । लामो समयदेखि निरन्तर औषधि सेवन गर्दै आएका छन् ।

‘पहाडतिर पार्टीको काममा हिँडिरहेका बेला नजिकै सुगर जाँचको शिविर चलिरहेको थाहा भयो । जचाएर हेरौं न त भनेर गयौं । मलाई अझै याद छ सुगर लेभल त २८४ पो देखियो । त्यसपछि काठमाडौं आएर जाँच गराएर औषधि खान सुरु गरेँ । १२–१३ वर्ष भयो अहिले पनि मधुमेहको नियमित औषधि खाइरहेको छु’, उनले आफ्नो अनुभव सुनाए ।

खापुङले अझै भन्दै गए, ‘मधुमेहको औषधि सुरुवात गरेपछि छोडेको मान्छे भेटेको छैन । तर, केही समय जडिबुटी खाँदा औषधि खानु नपरेको केही साथीको अनुभव पनि सुनेको थिएँ । मैले पनि यो कार्यकालपछि जडिबुटी खाने योजना बनाएको छु ।’

त्यसपछि, उनले यो कार्यक्रममा आउन खासै इच्छा नभएको कुरा उल्लेख गरे । २२ वटा मन्त्रालयका मन्त्रीमध्ये यस्ता सभा, गोष्ठी लगायतका कार्यक्रममा आफू मात्रै हिँड्ने गरेको पनि उनले बताए । आफू मात्रै किन हिँड्नु जस्तो सोचेर असजिलो लाग्दा लाग्दै आएको पनि मन्त्री खापुङले खुलाए ।

कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले मधुमेहको जोखिम बढाउने तत्व र क्रियाकलाप त्याग्न आग्रह गरिन् । सरकारले नसर्ने रोग नियन्त्रण सम्वन्धी विभिन्न नीतिगत व्यवस्था गरेर अघि बढेको भन्दै यसलाई कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताईन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गोमा निरौला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा चुमनलाल दास, ईडीसीडी अन्तर्गतको सर्ने रोग शाखाका प्रम्ुख डा. फडिन्द्र बरालले मधुमेह सहितको नसर्ने रोगमा सरकारले गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका डा. दीपक मल्लले मधुमेह रोगको अवस्था, बढदो जोखिम र नियन्त्रण गर्ने उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?