२९ मंसिर, दाङ । दाङ तुलसीपुरकी दिलमायाले (परिवर्तित नाम) बाध्यात्मक रुपमा देह व्यापार अंगालिन् । अभाव र गरिबीसँग जुध्दाजुध्दै ऊर्जावान दिनहरू अध्याँरा कोठाहरुसँग साटिए । बदलामा अपमान र तिरस्कारमात्र पाइन् ।
२०५०–०६० को दशकको समयमा बादी समुदायमा भएको चेतना विकास र सामाजिक रूपान्तरणपछि उनले पनि देह व्यापार छोडिन् । तिरस्कार र अपमानको जीवनबाट माथि उठ्न खोजिन् । तर आत्मसम्मानको जीवन जिउन सजिलो भएन । किनभने सबैभन्दा भारी थियो, समाजको तिरस्कार र अभावै–अभावले थिचिएको आफ्नै जीवन ।
त्यसपछिका दिनमा उनले कहिले ज्याला मजदुरी गरिन्, कहिले बङ्गुरका पाठा स्याहारिन् । उमेर ढल्कदै गएपछि हातखुट्टा चल्न छोडे । भोक र रोगले सताउन थाल्यो । दुई छाक खान लाउनसमेत मुश्किल पर्यो । जीवनभर सामाजिक तिरस्कार र गरिबीसँग लड्दालड्दै उनको उमेर ढल्कदै गयो । तैपनि अझै उनले दुःखबाट छुट्कारा पाउने कुनै संकेत पाएकी छैनन् ।
….
देहव्यापार छाडेपछि समाजमा पुनःस्थापना हुन नसकेर अभावै अभावको जीवन बाँचिरहेका दिलमायाको जस्तै व्यथा दाङ तुलसीपुरको नयाँ बस्ती, पातुखोला बस्ती र घोराहीको दुर्गाभवानी बस्तीका धेरैको छ ।
सम्मानपूर्वक बाँच्न पाउनुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गरेपछि सरकारले २०६५ सालमा वादी समुदायलाई देह व्यापार मुक्त घोषण गर्यो । त्यसपछि वादी समुदायका महिला रुपान्तरणको बाटोमा लागे । तर उनीहरुको पुनःस्थापना र सम्मानजक जीवन बाँच्नका लागि राज्यले आयआर्जनसँग जोड्ने कुनै योजना ल्याएन । फलतः अहिले पनि यो समुदाय गरिबी र अभावबीच गुज्रिरहेको छ ।
विगतमा आफ्नो समुदायका महिलामाथि लागेको देह व्यापारको दाग मेटाउन यो समुदाय आत्मसम्मानको लडाई लड्दैछ । रुपान्तरणको बाटोमा रहेका वादी समुदायका महिलाहरु आयआर्जन र रोजगारीसँग जोडिएर आत्मसम्मानको जीवन जिउन चाहन्छन् । तर त्यसका लागि उनीहरुलाई साथ दिन कोही छैन । उनीहरुको मुद्दा कसैको प्राथमिकतामा छैन ।
बनेनन् चुनावी मुद्धा
मंसिर ४ गते हुने आसन्न निर्वाचन नजिकिदै गर्दा दलहरु अनेक आश्वासन र चुनावी नारा लिएर घरदलो गर्दै गाउँ–बस्ती पुगिरहेका छन् । बस्तीपिच्छे फरक–फरक चुनावी नारा लिएर मतादाता माझ गइरहेका उम्मेदवारहरुसँग भने वादी समुदायका महिलाका मुद्धालाई सम्बोधन गर्ने कुनै योजना छैन । न त दलहरुले आफ्नो घोषणापत्रमा ‘वादी समुदायका महिला’बारे केही उल्लेख नै गरेका छन् ।
जबकि यो समुदायमा अझै गरिबी र अभाव छ । वर्षाैं ऐलानी बस्तीमा बसिरहेको यो समुदायका धेरै परिवार भूमिहीन छ । अधिकांश परिवार ज्याला मजदुरीमा छ । सीप र लगानीको अभावमा महिलाहरु आयआर्जनसँग जोडिन नसकेको अगुवा शान्ति नेपाली वादी बताउँछिन् । ‘हाम्रा दिदीबहिनीहरु श्रमसँग जोडिएर केही गर्न खोजिरहेका छन्’ उनी भन्छिन्, ‘तर सीप र लगानी छैन ।’
वादी बस्तीमा एकल महिला छन्, कति सन्तानको बाबुको पहिचान भएको छैन । उनीहरुले राम्रो शिक्षा लिन पाएका छैनन् । तर उनीहरुको यस्तो समस्या सुन्ने सम्बोधन गर्ने कुनै नेता र उम्मेदवार छैन ।
वादी महिलालाई रोजगारी र आयआर्जनसँग जोड्ने विषयहरु कसैको प्रथामिकतामा नै नपरेको उनले सुनाइन् । जबकी यो कुरा वादी समुदायको आत्मसम्मानसँग जोडिने कुरा भएको शान्ति वादी बताउँछिन् ।
‘हाम्रा दिदीबहिनीले हिजो जे भोगे, अब त्यो सबै कुरा विर्सेर श्रम गरेर जीवन बाचौं भन्ने चाहन्छौं’ उनले भनिन्, ‘तर हामीलाई रोजगारी दिने कुरा कसैले गर्दैनन् ।’ आफ्नो कुराहरु चुनावमा दलहरुले नसमेटेकाले उनीहरु मतदान गर्न उत्साहित छैनन् ।
विगतका चुनावमा पनि वादी समुदायका समस्या चुनावको मुद्दा बन्दैनथे । ‘हाम्रा दिदी बहिनीहरुलाई सीप वा रोजागरी चाहियो भनिरहेका छौं’ उनी भन्छिन्, ‘तर कसैले हाम्रा कुरा सुनेका छैनन् ।’
विगत भुलेर श्रमसँग जोडिएर आत्मसम्मानको जीवन बाँच्न चाहे पनि कसैको यसतर्फ ध्यान नपुगेको बताउँछन् वादी समुदायका अगुवा निर्मल वादी । नयाँ पुस्ताका महिला आयआर्जनमा जोडिएर आर्थिक रुपमा सक्षम हुन चाहन्छन् । उनीहरु आर्थिक उपार्जनको बाटो खोजिरहेका छन् । तर पर्याप्त लगानी र सीप नहुँदा दिगो रूपमा उपार्जन सुनिश्चित हुन सकेको छैन ।
‘सीप र लगानीकै अभावले यहाँका दिदीबहिनी आर्थिक उपार्जनको बाटोतर्फ अघि बढ्न सकिरहेका छैनन्’ उनले भने, ‘सरकारले बादी महिलाबारे ध्यान दिएको छैन ।’
प्रतिक्रिया 4