+
+
चतुर मन्त्री खड्का बहिर्गमन :

थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त

यो पटक उनी प्रत्यक्ष चुनाव जित्न र मुख्यमन्त्री बन्न चाहन्थे । तर व्यवसायी, प्रदेशसभा सदस्य र मन्त्रीसमेत रहेका बिन्दुकुमार थापाका अगाडि उनको केही लागेन र उनलाई नै चुनाव हराउन भूमिका खेलेको आरोपमा खड्का बर्खास्त भएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २९ गते १९:४०

२९ मंसिर, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेताहरुले भन्थे, ‘कुमार खड्का नभएको भए नयाँ सरकार नबन्न पनि सक्थ्यो ।’

माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा पनि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार टिकाउन लागेका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले एमालेलाई साथ दिएपछि सरकार बनाउने कांग्रेस प्रयास असफल जस्तै भएको थियो ।

तर अविश्वासको प्रस्ताव तयार पार्ने, माओवादीका साथै राष्ट्रिय जनमोर्चा लगायतको दलको विश्वास जित्ने काममा निरन्तर मिहेनत गरे । २९ असार २०७८ मा एमाले बाहेकका दलको समर्थन जुटाएर कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

सरकार गठनमा भूमिका खेलेका तिनै खड्का मंगलबार बर्खास्तीमा परेका छन् । कास्की–२ (२) मा कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापालाई असयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेका हुन् ।

थापा र खड्काबीचको विवाद पुरानै हो । कास्की २ (२) मा चुनावको तयारी गरेका दुबैले एउटै सरकारमा रहेर एकअर्कालाई आरोप प्रत्यारोप गर्थे । खड्का सरकार गठन भएकै दिन मन्त्री भएका थिए भने थापा ८ साउनमा मात्र ।

व्यवसायी समेत रहेका थापामाथि कांग्रेसकै सांसद डोबाटे विकको मन्त्री खोसेको आरोप लागेको थियो । थापाले भने खड्काकै कारण आफ्नो नियुक्ति ढिला भएको र कम प्रभावशाली मन्त्रालय पाएको दुखेसो पोखिरहन्थे ।

सुरुमा सामाजिक विकास र पछि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका खड्का सरकारको प्रवक्तासमेत थिए । खड्कामाथि जन्म र घर भएको वडा नम्बर १६ मा मात्र करिब ३० करोड रुपैयाँ बजेट हालेको आरोप लागेको थियो ।

४ मंसिरमा प्रदेशसभा चुनाव हुने घोषणा भएपछि दुई मन्त्रीबीच आरोप प्रत्यारोप बढ्यो । खड्का समूहले वडा नम्बर १६ मा भेला नै गरेर टिकट पाउने र उनी मुख्यमन्त्री हुने भन्दै अभियान थाल्यो । सोही भेलामा खड्काले सांसदको मात्रै टिकट दिए सभापति देउवाकै अघि फालेर आउने उद्घोष गरेका थिए ।

तर अन्तिममा टिकट भने मन्त्री थापाले पाए, सांसदको मात्र टिकट दिए सभापतिकै अगाडि फालेर आउँछु भनेका खड्का भने सरकारबाटै फालिए । खड्कामाथि नेकपा एमालेका उम्मेदवार मीना गुरुङलाई जिताउन लागेको आरोप लागेको छ ।

कांग्रेसमा थापा र खड्का दुबै सभापति देउवा समूहकै हुन् । तर देउवा पत्नी आरजुसँग थापाको राम्रो सम्बन्ध छ । त्यसलाई लिएर खड्का समूहले चुनावका बेलामा पार्टीका उम्मेदवार थापाविरुद्ध प्रचार गरेको कांग्रेसको आरोप छ ।

जो संसदमा चम्किए, सरकारमा हाबी थिए

प्रदेशसभामा कुमार खड्का यस्ता पात्र हुन्, जो संसदीय दलको नेतृत्वमा नभएपनि चर्चामा रहिरहे ।

प्रतिपक्षी नेताको भूमिका निभाउन नसकेको भनेर कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आलोचना खेप्दा खड्काले भने, ‘प्रतिपक्षलाई जोगाएको’ जस पाएका थिए । संविधानसभा सदस्य र केन्द्र सरकारको मन्त्री भइसकेका उनी प्रदेशसभामा कानुन निर्माणको प्रक्रियामा सधैं भाग लिन्थे ।

अध्ययनशील र तार्किक नेताको परिचय बनाएका खड्का तिखा प्रश्नहरु सोधेर पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई आत्थुआथ्तु पार्थे । कांग्रेसको नेतृत्वमा गठबन्धन सरकारमा पनि उनी उसैगरी हावी भए ।

अहिले बर्खास्त गर्दा उनीमाथि मुख्यमन्त्रीलाई असहयोग गरेको आरोप समेत लागेको छ ।

सरकार बनेलगत्तै पहिलो बजेट निर्माणमा हाबी भएका खड्काले पछिल्लो बजेट निर्माणमा पनि त्यस्तै भूमिका खोज्दा मुख्यमन्त्री र अर्थमन्त्रीसँग सम्बन्ध बिग्रिएको थियो ।

अर्थमन्त्री रामजी बरालले योजना काटिदिएको भन्दै खड्काले चर्कै विरोध गरेका थिए । बराल र खड्काबीच मुख्यमन्त्रीपछि सबभन्दा महंगो गाडी कसले चढ्ने भन्नेमा समेत विवाद भएको थियो ।

अघिल्लो सरकारमा तत्कालीन अर्थमन्त्री किरण गुरुङले चढ्ने गाडीमा दुबैको दाबी थियो ।

अस्थिर, तर चतुर

पोखरा बाटुलेचौरका खड्काको विगतलाई अस्थिर र अवसरवादी भन्ने कांग्रेसीजनकै आरोप छ । सुरुमा कांग्रेसको राजनीति गरेका खड्का इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा नेविसंघको तर्फबाट संस्थापक स्ववियु सभापति भएका थिए ।

इन्जिनियरिङका विद्यार्थी खड्का लामो समय युरोप बसेर फर्किएका हुन् । युरोपमा बैंकबाट ऋण लिएर नतिरी नेपाल फर्किएको आरोप उनलाई लाग्ने गरेको थियो । कांग्रेस पृष्ठभूमि भए पनि बेलायतबाट फर्केपछि खड्काले खस क्षेत्रीको जातीय राजनीति गरेका थिए ।

जातीय राज्यको विरोध गर्दै खस क्षेत्री एकता समाजको नाममा आन्दोलन चर्काएर खड्काले अखण्ड नेपाल पार्टी नै बनाएका थिए । दोस्रो संविधानसभामा उनी पार्टीको तर्फबाट समानुपातिक सांसद भए । सत्ताको रस्साकस्सीमा प्रचण्ड नेतृत्वको सरकारमा २०७३ मा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेका थिए ।

नयाँ संविधानले समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड राखेपछि ०७४ को निर्वाचनअघि खड्का कांग्रेस प्रवेश गरे । २०७४ असोज २९ मा अखण्ड पार्टीलाई कांग्रेसमै बिलय गराएका उनी समानुपातिकबाटै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य बने ।

यो पटक उनी प्रत्यक्ष चुनाव जित्न र मुख्यमन्त्री बन्न चाहन्थे । तर व्यवसायी, प्रदेशसभा सदस्य र मन्त्रीसमेत रहेका बिन्दुकुमार थापाका अगाडि उनको केही लागेन र उनलाई नै चुनाव हराउन भूमिका खेलेको आरोपमा खड्का बर्खास्त भएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?