
३० कात्तिक, काठमाडौं । मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ ।
यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७.५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।
थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।
कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल चम्काउने नाममा थुकको प्रयोग गर्न नपाउने अभ्यासलाई नियमकै रुपमा मान्यता दिएको छ । तर, युएईका एकजना बलरले थुकको प्रयोग गरी बल चम्काएपछि युएईले ५ रन पेनाल्टी ब्यहोर्नुपरेको थियो । २१ औं ओभरको सुरुवात गर्ने क्रममा यूएईका बलर अलिशान सराफूले बल पुछ्ने क्रममा थुकको प्रयोग गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो ।
तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । बलिङमा १ विकेटसमेत लिएका गुल्सन प्लेयर अल द म्याचसमेत चुनिए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए ।
बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो ।
सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो ।
युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो ।
युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् ।
युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे ।
नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३-३ विकेट लिए । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4