+
+

आरजुले छाड्दा अवसर पाएका डिल्लीराजलाई पुष्करनाथकै डर

नेकपा एमालेका उम्मेदवार नारदमुनि राना भन्दा उनले नै नेविसंघको सदस्यता दिएका पुष्करनाथ ओझा ठूलो चुनौती बनेका छन् । डोटी समुदायबाट नै प्रतिनिधित्व गर्ने ओझा कांग्रेसकै पूर्व नेता भएकाले उनको मत काट्ने जोखिम धेरै छ ।

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक ३० गते १७:५९

२०७४ को निर्वाचनमा कैलाली-५ को प्रदेशसभा (२) मा नेकपा एमालेका रमेश धामीलाई हराउँदै प्रदेशसभा सदस्यमा चुनिएका नेपाली कांग्रेसका डिल्लीराज पन्त पुनः दोहोरिन चाहन्थे ।

उनकै चाहनाअनुसार कांग्रेसले प्रदेशसभाकै उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर प्रतिनिधिसभामा एकल सिफारिसमा परेकी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले समानुपातिक प्रणाली रोजेपछि उनको ठाउँमा पन्तले टिकट पाए ।

कांग्रेस नेताका भनाइमा प्रदेशसभामा भतिजा प्रकाश देउवालाई व्यवस्थापन गर्नकै लागि प्रधानमन्त्रीले पन्तलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएका हुन् । जबकि पन्तको प्रदेशमै दोहोरिन इच्छा भएको कुरासँग पार्टी नेतृत्व जानकार थियो ।

कांग्रेसका पुराना नेता चेतराज पन्तका छोरा डिल्लीराजले भारतको देहरादूनबाट मानविकी संकायमा स्नातक उतीर्ण गरेका छन् । २०१२ फागुन १२ गते जन्मिएका पन्त पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै २०३१ सालमा अध्ययनकै क्रममा ६ महिना जेल परेका थिए । जेलमुक्त भएपछि उनी अध्ययनका लागि भारतको देहरादुन पुगेका थिए र भारतबाटै कांग्रेस राजनीतिमा लागेका थिए ।

अध्ययनका क्रममा देहरादुनमै पार्टी सभापति शेरबहादुर देउवासँग उनको पहिलो भेट भएको थियो । कैलाली फर्केपछि उनले देउवाकै परामर्शमा नेविसंघको इकाइ गठन गरे ।

कांग्रेस विभाजन भएका बेला उनी कैलाली जिल्ला कमिटी सदस्य भन्दा माथिल्लो जिम्मेवारीमा पुगेनन् । २०७४ मा पहिलो पटक प्रदेशसभाको चुनाव लडेका पन्तका लागि त्यो नै पार्टीले दिएको पहिलो अवसर थियो ।

हाल उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । उनले नेपाल रेडक्रस सोसाइटी, कैलाली उद्योग वाणिज्य संघ, कैलाली जनपुस्तकालय लगायतका विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरिसकेका छन् ।

अनुकलता र प्रतिकूलता

अघिल्लो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्दा पनि पन्त निर्वाचित भएका थिए । त्यसकारण पनि यसपटक उनले चुनाव क्षेत्रमा सहज महसुस गरेको हुन सक्छ ।

डोटी समुदायको बाहुल्य मत, निर्विवादित छवि, मिलनसार व्यक्तित्व, कांग्रेससहितको गठबन्धनमा आवद्ध माओवादी र एकीकृत समाजवादी पार्टीको साथ, प्रदेशसभा सदस्य हुँदा पन्तले यस क्षेत्रमा थालनी गरेका कामहरु उनका चुनावी अनुकुलता देखिन्छन् ।

तर पन्तका लागि नेकपा एमालेका उम्मेदवार नारदमुनि राना भन्दा उनले नै नेविसंघको सदस्यता दिएका पुष्करनाथ ओझा ठूलो चुनौती बनेका छन् । डोटी समुदायबाट नै प्रतिनिधित्व गर्ने ओझा कांग्रेसकै पूर्व नेता भएकाले उनको मत काट्ने जोखिम धेरै छ ।

अझ एकल सिफारिसमा परेकी आरजुले छाडेपछि उनकै सिफारिसमा कांग्रेसको उम्मेदवार बनेको आरोप चिर्न पन्तका लागि अर्को ठूलो चुनौती भएको नेताहरु बताउँछन् ।

कैलाली कांग्रेसमा पन्तलाई जिताउनु भनेको आरजुलाई जिताउनु सरह नै भएकाले मत दिन नहुने धारणा राख्ने कांग्रेसकै कार्यकर्ता पनि छन् । तर यो कुरा बुझेका प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा हालै चार दिन धनगढी बसेर गएका छन् । यहाँ बसाइको दौरानमा देउवाले अधिकांश असन्तुष्ट नेता कार्यकर्तालाई निजी निवासमा बोलाएर छलफल गरेका थिए ।

स्थानीय तहको मत

३० वैशाखको स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा गठबन्धनमा इमानदारिता भएमा पन्तको जित्ने सम्भावना छ । धनगढी उपमहानगरका १९ वटा वडा, कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्ने कैलाली क्षेत्र नम्बर ५ मा एक लाख पाँच हजार ७९३ मतदाता छन् ।

स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा कांग्रेस सबैभन्दा ठूलो दल छ भने एमाले दोस्रो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार २२ हजार ७७९ मत पाउँदा एमालेका उम्मेदवारले १७ हजार ४२० मत प्राप्त गरेका छन् ।

माओवादीले ८ हजार १७६, एकीकृत समाजवादीले २ हजार एक, राप्रपाका उम्मेदवारले एक हजार ७९७ मत पाएका छन् । वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धनसँग ३२ हजार ९५२ मत छ भने एमालेसँग १७ हजार ४२० मात्रै छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?