+
+

भेलुबाजेले २ हजार पारिश्रमिक लिएर गरेको ‘ब्रान्ड इन्डोर्समेन्ट’

विचारभन्दा माथि गरिबी भएको देशमा चुनाव एउटा नाटक बन्न पुगेको छ, जहाँ मेनबहादुरले ‘भेलुबाजे’ बनेरै आफ्नो चरित्र निभाए ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक ३० गते १८:५३
प्यूठानमा एमाले उम्मेदवार सूर्य थापाको प्रचारमा भेलुबाजे अर्थात मेनबहादुर बुढामगर ।

चुनावले गरिबी घटाउँदैन, बरु गरिबको बेइज्जत गर्छ भन्ने पछिल्लो दृष्टान्त प्यूठानका एमाले उम्मेदवार सूर्य थापा र भेलुबाजेको संयुक्त भिडियो हो । प्यूठानका मेनबहादुर बुढामगरलाई कसैले चिन्दैन, तर भेलुबाजे आफ्नो मगर जिब्रोले ‘बिगारेर’ बोलेको खस नेपाली भाषाका लागि चर्चित बन्न पुगे । कुनै युट्युबरका लागि ‘बाइट’ दिने क्रममा उनले ‘भ्यालु’ लाई भेलु भन्दिए । ‘बेल्कुल, बेल्कुल’, उनको प्रस्तुति यो र यिनै शब्दहरुका कारण ‘भाइरल’ बन्दियो ।

युट्युब र टिकटकमार्फत् बाहिरिएका बाइटहरु सुन्दाखेरि मेनबहादुरलाई रक्सीको लत बढ्ता भइसकेको भान हुन्छ । सम्भवतः यसले उनको शारीरिक मानसिक स्वास्थ्यमा क्षति गरेको होला । पारिवारिक अवस्थामा पनि असर पुग्यो होला । युट्युबमा उनलाई देखाएर जे पायो त्यही ‘पब्लिस’ गरिदिँदा उनका सन्तानहरुको मनमा के कस्तो भावना उब्जेको होला, कसैलाई मतलब छैन । मेनबहादुरको शब्दशैलीलाई केवल मजाक र हास्यको विषय बनाएर उडाइएको छ ।

परम्परागत शासकको हातबाट फुत्केको, तर भुइँतहका नागरिकको हातमा पुगिनसकेको ठिमाहा लोकतन्त्रमा कुलीनवाद नयाँ–नयाँ स्वरुपमा प्रकट छ । प्यूठानबाट पत्रकारिता गर्दै एमाले उम्मेदवार बनेका सूर्य थापालाई काठमाडौं सहरका विश्लेषकहरुले भोट मागिदिँदैमा जितिन्छ भन्ने कम्तीमा विश्वास छैन ।

सूर्यलाई कुनै पत्रिका वा पत्रकार साथीहरुले ‘इन्डोर्स’ पनि गरिदिँदैनन् । स्वनामधन्य विचार निर्माताहरुलाई यसो भन्न जाउँ भन्ने स्थिति छैन, किनकि सत्ताशक्तिले मात्तिएका बेला उनी आफैं विगतमा ‘सिंगल–सिंगल’ भिड्न उद्दत भएका छन् । तर त्यो थलो ट्वीटर थियो, जहाँ लडेर प्यूठानलाई आधार इलाका बनाएको जनमोर्चाविरुद्ध संसदीय मोर्चा जितिँदैन । टिकटक र युट्युबका ‘स्टार भेलुबाजे’ अर्थात् मेनबहादुरको अभूतपूर्व महत्व ठीक यहाँनेर स्थापित हुन गएको छ ।

थापाको टिमले मेनबहादुरलाई शुल्क तिरिकन ‘सूर्य चिह्नमा, सूर्य थापालाई ‘झ्याम्मै’ भोट दिउँ’ भन्दै अपिल गर्न लगाएको खुलिसकेको छ । सुग्घर सेलिब्रिटीहरुले यस्तो प्रचलनलाई ब्रान्ड इन्डोर्समेन्ट अर्थात् सोसल मिडिया प्रमोसन भन्ने गर्छन् । कुनै ब्याग बोकेको, कुनै ज्याकेट लगाएको, झोला बोकेको, चश्मा–घडी लगाएको या कार चढेको फोटो÷भिडियो राखेवापत उनीहरुलाई फेसबुक, इन्स्टाग्रामबाट पारिश्रमिक आउँछ ।

यो प्रतिनिधिसभा चुनावमा सूर्य चिह्न र थापाको ब्रान्ड प्रमोशन गरेवापत भेलुबाजे अर्थात् मेनबहादुरले लिएको पारिश्रमिक हो, अक्षरुपी दुई हजार रुपैयाँ मात्र । उनको पान नम्बर छैन । उनले भ्याट बिल दिएका छैनन् । उनले आफैं पुष्टि गरेका छन्, ‘२ हजार लिएकै हो । ढाँटेको छैन चोरेको छैन ।’ त्यसैले निर्वाचन आयोग समेत यसउपर कस्तो किसिमको कारबाही चलाउने भन्नेमा किंकर्तव्यविमुढ छ ।

तोसिमा कार्कीको उम्मेदवारी बदरका लागि अदालत पुगेर आफैं भिड्न भ्याएको, अनि कुनै उजुरीबेगर निश्चित समाचारउपर कुरै नबुझी कारबाही चलाउन फुर्सद पाएको निर्वाचन आयोगले सूर्य थापाविरुद्धको यो गम्भीर आरोपउपर कुनै कारबाही नचलाउनेमा विश्वस्त हुन सकिन्छ । भेलुले मोबाइल, चश्मा या कुनै बजारिया ब्रान्डको प्रमोसन गर्न सक्थे, उम्मेदवार नामक ‘वस्तु’ को प्रमोसन गरिदिए त के बिराए !

अघिल्लो चुनावमा हृदयेश त्रिपाठीदेखि यो चुनावमा होली वाइनका प्रणेता एकनाथ ढकाल हुँदै गणतन्त्रका नयाँ संवाहक कमल थापासम्मले सूर्य चिह्न लिएर भोट मागिसकेपछि अब यो ब्रान्ड ‘यस्तो’ भइसक्यो कि, राजेश हमाल, करिश्मा मानन्धर (मनिषा कोइराला होइन), वा दयाहाङ राईले रोयल्टी लिएर इन्डोर्स गर्दैमा काम चल्ने देखिन्न । त्यसैले यो मार्केटिङ डिल सस्तैमा, झन् प्रभावकारी ढंगले सम्पन्न भयो ।

कुरा यत्तिमै सकिएन । जसरी सनसिल्कको स्याम्पुले चाँया हटाउँछ र केश झर्न दिँदैन भनेर विज्ञापन खेल्ने मोडलले प्रेसलाई अन्तर्वार्ता दिने क्रममा अर्कै ब्रान्डको स्याम्पुको नाम लिन स्वतन्त्र हुन्छन् या हुन्छिन्, सूर्यलाई जिताउने प्रोजेक्ट डिल सकिएपछि भेलुबाजेले पनि आफ्नो वास्तविक ब्रान्ड अर्थात् चुनाव चिह्नको नाम लिइदिए । उनी परेछन् माओवादी समर्थक । प्रचण्डले ढिलो नगरी तिनलाई धन्यवाद दिए हुन्छ । तर यो लेख लेख्दैगर्दा उनी ज्वाईं लडेको क्षेत्रमा पुगेर भोट माग्न व्यस्त छन् ।

फेरि मेनबहादुरमै फर्कौं । सूर्य थापाका लागि भोट मागेको भन्दै जसजसले सुरुमा भेलुलाई उडाइरहेथे, अब तिनैले सूर्य थापालाई उडाउन लागे । पहिले त उनीहरुले ठाने होलान्, सूर्य थापाले मेनबहादुरको भ्यालु बुझेर त्यही स्तरको चुनदाम चढाए । दोस्रो भिडियो हेरेपछि तिनैलाई लाग्यो, ‘भेलुले सूर्यलाई डुबाए ।’ सबै लोकतान्त्रिक, समाजवादी, जनवादी, लोकल्याणकारी विचारभन्दा माथि गरिबी भएको देशमा चुनाव एउटा नाटक हो, जहाँ ‘भेलुबाजे’ बनेरै मेनबहादुरले आफ्नो चरित्र निभाए ।

त्यस अर्थमा आम चुनाव ०७९ का परिदृश्यहरु अघिपछिका चुनावभन्दा धेरथोर भिन्न छन् । यो पल्टको चुनाव यस्तो प्रकरण बन्न जाँदैछ, जहाँ उम्मेदवारले मतदाता होइन, मतदाताले उम्मेदवारको हैसियत देखाइदिन सक्छ भन्ने प्रमाणित हुने सम्भावना छ ।

हरेक चुनाव गरिबलाई मासु र पैसामा किनेपछि मात्रै जित्न सकिन्छ भन्ने स्थापित मनोविज्ञानउपर यस प्यूठान घटनाले भीषण हमला गरेको छ । खासगरि दलित, जनजाति र मधेसी समुदाय उपर निर्माण गरिएको नश्लीय हेयभावको खोक्रोपना यो प्रकरणले सम्पूर्ण रुपमा उजागर गरिदिएको छ ।

तर यस्तो घटना प्यूठान र दुर्गम जिल्लाका गरिब गाउँहरुमा मात्रै हुँदैन ।

‘अब आइरक सुङरी, भोट तोङरी हैन,’ मकवानपुरका एक जना उम्मेदवार तामाङहरुको शब्द टिपेर हाँसोमा उडाउँदै बोल्छन्, ‘ध्यान दिउँ साथी हो आइरक सुङ री, भोट तोङ री हैन साथी हो । भोट दिनि री । यत्ति नै हो कुरा । यो आजको कार्यक्रमको मुख्य कुरा नै यत्ति हो ।’

पृष्ठभूमिमा कोही बोलेको सुनिन्छ, ‘खोयाबिर्को, खोयाबिर्को ।’

यस्तो बोल्ने उम्मेदवार क्षेत्री बाहुन समुदायका हुन् । तिनको फेसबुक पेजमा यो भिडियो अहिले पनि हेर्न सकिन्छ । तामाङ भाषामा आइरक भनेको रक्सी हो । सुङ भनेको मुख, री भनेको मा । तोङ भनेको रुख । दिनि भनेको कुनै एउटा स्थापित दलको चुनाव चिह्न । अर्थात् ‘रक्सी मुखमा, भोट रुखमा होइन । भोट ती उम्मेदवारको आफ्नो चिह्न ‘…’ मा ।’

ती उम्मेदवारको भनाइ पत्याउने हो भने तामाङमात्रै यस्तो जाति हो, जो मासु रक्सी र पैसामा बिक्छ । जुन विचारको स्कुलिङबाट प्रशिक्षित भएर ती उम्मेदवार आए, के उनको पार्टीले यस्तो तर्कलाई अनुमोदन गर्न सक्छ ? के उनीमाथि उक्त दलले अनुशासनको कारबाही चलाउन सक्छ ?

सामान्य अवस्थामा सत्ताको कर्तव्यको केन्द्रमा गरिब छैन, बरु चुनाव पनि गरिबलाई हियाउनमात्रै आइपुग्छ भन्ने यो एउटा दुःखद दृष्टान्त हो । सत्ता गठबन्धनले लेखेका घोषणापत्र, अनि गाएका चुनावी गीतहरुमा गरिबको मुक्ति केन्द्रमा छैन ।

कांग्रेसका विज्ञहरुले लेखेको घोषणापत्र पढ्दा लाग्छ, यही दलले विगतमा गरेको वर्गीय वाचाभन्दा पछि हटेर नयाँ घोषणाहरु ल्याएको छ । संविधान जोगाउने, संसद विघटन गर्न नदिने आवश्यक तर ठुल्ठूला वाचाहरु छन् । एमाले चुच्चे नक्सा ल्याएको कुरालाई प्रमुख उपलब्धि मानेर चुनावमा गएको छ । उसका ट्वेन्टी बाचाहरुमध्ये एउटा छ, ‘हंगर, नो लंगर ।’

अनि र्‍याप गाएको भनेर विगतमा भिटेनलाई थुन्ने सरकारको पार्टीले एलओडी गएर बजाएको चुनावी र्‍याप यस्तो छ : ‘केपी बाले फैलाए नेपालको म्याप, अब सूर्यमा भोट हालौं झ्याप झ्याप झ्याप ।’

यी र यस्तै नारा बोकेर लोकतन्त्रका संवाहक, अनि जनताका शिक्षक मानिने राजनीतिक दलहरु चुनावमा गइरहेछन् । शब्दमा जेसुकै मिठा कुरा गरे पनि उनीहरु यथार्थमा मौन अवधिका अन्तिम घन्टाहरुको प्रतीक्षामा छन्, जतिबेला जातीय, सामुदायिक ‘पकेट एरिया’, ‘कोर एरिया’ खोज्दै लगानी गर्न सकियोस् ।

मतदातालाई सार्वभौम नागरिक हुन नदिने, केवल वस्तुमा परिणत गर्ने योभन्दा घिनलाग्दो काम के हुन सक्छ ? के यो उपनिवेशवादकै नयाँ स्वरुप होइन र ?

भेलुबाजे काठमाडौंमा भएका भए उनी ‘ड्रंकार्ड, अल्कोहलिक’ हुन्थे । गाउँमा बसेका कारण उनी ‘जँड्याहा’ भए । यहाँ भएका भए उनको मानसिक स्वास्थ्य आम छलफलको विषय बन्थ्यो । गाउँमा भएका कारण उनी मनोरञ्जन र उपहासका कारुणिक पात्र भए । उनी र उनीजस्ता कयौंका लागि यो चुनाव र विश्वकप फुटबलमा केही फरक छैन । कसै न कसैले यहाँ जित्नु र हार्नुपर्नेछ । खेल सकिएसँगै कुरो खत्तम ।

कोही भोकले मर्नु नपर्ने, बेरोजगारले सुतीसुती खान पाइने हिजोका भाषणको ‘भ्यालु’ त्यति पनि छैन, जति भेलुबाजेको ‘बाइट’ को छ । भेलुबाजेले बुझिसके आफ्नो चुनावी ब्रान्ड प्रमोशनको मूल्य मंसिर ४ को साँझ ५ बजेसम्ममात्रै छ, त्यसपछि त्यसको कार्यावधि सकियो । जसरी ‘भेलुबाजे’ को फेसभ्यालुलाई रोयल्टी तिरेर बीबी अनुरागीले म्युजिक भिडियो बनाए, जसरी ‘ख्यालठट्टा’ टीभी सिरियलले उनको भूमिका भएको एपिसोड खिचेर काठमाडौंबाट प्यूठान पठायो त्यसरी नै सूर्य थापाले पनि उनलाई चुनाव प्रचारपछि घर पठाउनेछन् । त्यसपछि कोही उनलाई फर्केर पुछ्न आउनेवाला छैन । कोही आइहालेछ भने उनले बुझ्नेछन्, त्यो केवल युट्युबे हो ।

चुनावै हो, उम्मेदवार थापाले जित्लान् पनि । त्यसपछि ‘प्रोडक्ट’ स्थापित हुनेछ । प्रोडक्ट स्थापित गर्न लागेको सेलिब्रिटी ‘वस्तु’को ‘वस्तु’ नै रहिराख्ने छ ।

कठिन परिश्रमबाट आएको यो गणतान्त्रिक ठिमाहा परिवर्तनमा मेनबहादुरको भ्यालु ‘भेलुबाजे’ भइराख्नुमा बाँच्नेछ । यति हो, उनलाई २ हजार रुपियाँ पारिश्रमिक तिर्न आगामी पाँच वर्षसम्म कोही आउने छैन ।

कांग्रेसका मखमली वाचा, अनि एमालेका ट्वेन्टी ग्यारेन्टीमा त्यस्तो कुन बुँदा र वाचा छ, जसले भेलुबाजेलाई मेनबहादुरको नागरिक हैसियत फिर्ता गर्न सक्छ ?

twitter : @basantabasnet

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?