+
+

पुनर्बीमा कम्पनीले रकम नदिंदा अन्योलमा कोरोना बीमाको दाबी भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:५९

१ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणको योजना अनुसार नेपाल पुनर्बीमा कम्पनीले रकम उपलब्ध नगराएपछि सरकारले निकास गरेपनि कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । सरकारले भदौ अन्तिममा कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने निर्णय गरेको थियो ।

सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको कारोना बीमाको दाबी भुक्तानी सरकारले रकम निकास गरेसँगै नेपाल बीमा प्राधिकरणले भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाउन खोजेको थियो ।

सरकारले दाबी भुक्तानी गर्न बाँकी सबै दायित्व नलिने भएपनि बीमा प्राधिकरणले अर्थमन्त्रालयमा दाबी भुक्तानी गर्नुपर्ने दायित्वलाई शतप्रतिशत मानेर त्यसको ५५ प्रतिशत नेपाल सरकारले र बाँकी प्राधिकरण, बीमा कम्पनी, पुनर्बीमा कम्पनी मिलेर ४५ प्रतिशत रकम थप गरेर दाबी भुक्तानी गर्ने योजना अगाडि सारेको थियो । सोही अनुसार सरकारले १ अर्ब निकास पनि गर्‍यो । सरकारले १ अर्ब रकम निकास गरेपछि सोही योजन अनुसार ८१ करोड थप गरेर दाबी भुक्तानी सुरु गर्न खोजेको बीमा प्राधिकरणले बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले रकम उपलब्ध नगराउँदा समस्या भएको बताएको थियो ।

बीमा कम्पनीहरुले कोरोना बीमा मापदण्ड अनुसार भन्दा बढी रकम दाबी भुक्तानी भइसकेको भन्दै थप रकम दिने अस्वीकार गरेका थिए । पुनर्बीमा कम्पनीले पनि मापदण्ड अनुसारको रकम दिइसकेको भन्दै थप रकम दिन अस्वीकार गरेको थियो । बीमा समितिसँगको छलफलपछि बीमा कम्पनीहले उपलब्ध गराउने रकम कम्पनीहरुले यसअघि नै भुक्तानी भइसकेको रकमबाट घटाउने गरी दाबी भुक्तानी गर्ने सहमति भयो । तर, पुनर्बीमा कम्पनीले भने रकम उपलब्ध गराउन अस्वीकार गरेपछि दाबी भुक्तानी अन्योलमा परेको छ ।

कोरोना बीमालेख अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दाबी परेको थियो । अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मार्गदर्शन अनुसार सुरुको ३ अर्ब ५० करोड रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले गर्ने उल्लेख छ । त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बीमा कम्पनीहरुले ३ अर्ब ५० करोडसम्मको दाबी भुक्तानी गरेर पनि थप १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दाबी भुक्तानी बीमा कम्पनीले गरेको थिए । तर, नेपाल सरकारले कोरोना बीमा वापतको रकम निकासा नगर्दा बीमा कम्पनीले दाबी भुक्तानी रोकेका थिए ।

बीमा कम्पनीहरुले साढे ३ अर्ब भन्दा माथि भुक्तानी गरिसकेको करिब डेढ अर्ब सहित नेपाल सरकारले कुल १२ अर्ब ३४ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँ सरकारले निकास गरेसँगै उक्त रकमलाई ५५ प्रतिशत मानेर बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र समितिले ८१ करोड थप गरि १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दाबी भुक्तानी गर्ने बीमा प्राधिकरणको तयारी थियो । तर, पुनर्बीमा कम्पनीले भने कोरोना बीमा मापदण्ड अनुसारको रकम भुक्तानी भइसकेको भन्दै थप भुक्तानी गर्न नसक्ने बताएपछि बीमा प्राधिकरण अप्ठेरोमा परेको हो ।

बीमा कम्पनीहरुले पनि कारोना बीमा मापदण्ड अनुसार १ अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बढी दाबी भुक्तानी आफूहरुले गरिसकेकोले अब नयाँ रोडम्याप अनुसार उक्त रकम समायोजन भएपनि मात्रै थप रकम दिने बताएका छन् । सोही अनुसार दाबी भुक्तानी हुँदा १ अर्ब ८१ करोड दाबी भुक्तानी गर्ने प्राधिकरणको तयारी भएपनि दाबी भुक्तानी रकम घट्ने भएको छ ।

सरकारले उपलब्ध गराएको रकमलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत मध्ये निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा प्राधिकरणले बाँकी ८ प्रतिशत रकम व्यहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ । सोही अनुसार पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पठाउनुपर्ने थियो ।

प्राधिकरणले पुनर्बीमा कम्पनीलाई उक्त रकम उपलब्ध गराउन पत्राचार गरेको थियो । तर, कोरोना बीमा मापदण्ड, २०७७ अनुसार आफ्नो दायित्व वापतको रकम भुक्तानी भइसकेकाले थप रकम दिन नपर्ने निर्णय पुनर्बीमा कम्पनीको सञ्चालक समितिले गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी बताउँछन् । कम्पनीले सोही निर्णयसहितको पत्र प्राधिकरणमा पठाएको उनले बताए ।

तर, प्राधिकरणले पुनर्बीमा कम्पनीको सञ्चालक समितिको निर्णय बदर गर्दै साता दिनभित्र रकम भुक्तानी गर्न निर्देशन दिदै पुनः २९ कात्तिकमा नेपाल पुनर्बीमा कम्पनीलाई निर्देशन दिएको छ । पुनर्बीमा कम्पनीको सीईओ रायमाझी भने चुनावअगाडि सञ्चालक समिति बैंठक बस्ने सम्भावना नरहेको भन्दै तत्काल उक्त निर्णय बदर भएर रकम भुक्तानी गर्ने सम्भावना नरहेको बताउँछन् । कानुन अनुसार कम्पनीले भुक्तानी गर्नुपर्ने रकम गरीसकेको भन्दै अब थप रकम भुक्तानी गर्नु भनेको ४४ प्रतिशत लगानी रहको नेपाल सरकार, १६ प्रतिशत लगानी रहेको सर्वसाधारण र अन्य संस्थागत लगानीकर्ताले पाउने लाभांश कटौती हुने उनले बताए ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने दाबी भुक्तानी छिटै सुरु हुने बताउँछन् । पुनर्बीमा कम्पनीसँग पनि छलफल भइरहेको र रकम उपलब्ध गराउन पत्राचार गरिएको उनले बताए । बीमा कम्पाीहरुले पनि यसअघि भुक्तानी गरीसकेको रकम समयोजन गरेर बाँकी रकम भुक्तानी हुने उनले बताए ।

बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवाल पुनर्बीमा कम्पनीले व्यहोर्नुपर्ने दायित्व नव्यहोर्ने हो भने कारबाही हुने बताउँछन् । ‘बीमासम्बन्धी कानुन एउटै छ । त्यो कानुन मान्दिन भन्ने हो भने सरकारसँग गएर कुरा गरे हुन्छ । अन्यथा नियामकको निर्देशन मान्नुपर्छ’ सिलवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?