+
+
उम्मेदवार प्रोफाइल :

देवराज घिमिरे : पुराना कम्युनिस्ट संगठक पहिलो संसदीय प्रतिस्पर्धामा

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १ गते २०:१४

झापामा नेकपा (एमाले)लाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन्, देवराज घिमिरे । एमाले प्रदेश–१ इञ्चार्ज रहेका उनलाई यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले झापा क्षेत्र नं. २ बाट उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट सांसद बन्न अग्नि खरेलले महान्यायाधिवक्ता पद छाडेर लामै तयारी गरेका थिए । तर, अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर्न झापा–१ पठाएर २ मा घिमिरेलाई टिकट दिए ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातक तहसम्म अध्ययन गरेका उनको राजनीति २०३२ सालमा को–अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनबाट सुरु भएको थियो । उनले पाएको जनअनुमोदित हुने मौका भने यो पहिलो हो ।

२०४८ सालमा तत्कालीन पार्टी महासचिव मदन भण्डारीले घिमिरेलाई इलामको एक क्षेत्रबाट संसदमा पठाउने प्रस्ताव गरेका थिए, तर जातीय सन्तुलन नमिलाए परिणाम असहज हुने देखेपछि उनलाई उम्मेदवार बनाइएन । २०५४ सालमा उनलाई राष्ट्रिय सभामा लगियो ।

घिमिरे विद्यार्थी संगठनको जिम्मेवारीमा रहँदा २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय भए । त्यसपछि तेह्रथुम र पाँचथरमा पार्टी संगठन विस्तारमा खटिए । इलाममा रत्नकुमार बान्तवाको हत्यापछि पूर्वमा कम्युनिस्ट आन्दोलन अघि बढाउन भूमिका खेलेको उनी बताउँछन् ।

प्रदीप नेपाल र झलनाथ खनाल केन्द्रीय राजनीतिका लागि काठमाडौं गएपछि २०३९ सालदेखि इलाममा तत्कालीन नेकपा (माले)को जिम्मेवारी घिमिरेको काँधमा आएको थियो ।
२०४७ सालमा माले र नेकपा (माक्र्सवादी)को एकीकरणबाट नेकपा (एमाले) बनेपछि २०४९ मा भएको महाधिवेशनबाट घिमिरे केन्द्रीय सदस्य बनेका थिए । राजनीति गरेको करिब ५० वर्षपछि पहिलो पटक उनी जनताबाट अनुमोदित हुन चुनावी मैदानमा छन् ।

एमालेका लागि झापा–२ तुलनात्मक रूपमा सहज क्षेत्र पनि हो । यो क्षेत्रमा सत्ता गठबन्धनले यसपालि अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हरिकुमार रानालाई समर्थन गरेको छ । एमाले छाडेर सांसदको उम्मेदवार बनेका रानाले घिमिरेको भोट काट्न सक्ने विश्लेषण छ ।

सत्ता गठबन्धनले एमालेविरुद्ध एमालेकै नेतालाई उठाउँदा झापा–२ को चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ । स्वतन्त्र उम्मेदवार स्वागत नेपालले पनि यो क्षेत्रमा राम्रै उपस्थिति देखाइरहेका छन् ।

गत स्थानीय निर्वाचनमा झापा–२ मा वडाअध्यक्षहरूले पाएको मतमा एमाले अगाडि छ । त्यसबेला एमालेले ३४ हजार ४१२, कांग्रेसले ३१ हजार १५८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ हजार २९१ र नेकपा (माओवादी केन्द्र)ले २ हजार ३५७ मत पाएको थियो । त्यस्तै, १ हजार ३३९ भोट स्वतन्त्र उम्मेदवारको पक्षमा खसेको छ ।

स्थानीय चुनावको यो अंकगणितले प्रतिनिधिसभामा पुग्ने पहिलो प्रयासमा सफल बन्न घिमिरेले एमालेको मत सुरक्षित राख्दै उल्लेख्य मात्रामा गठबन्धनको मत तान्न सक्नुपर्ने देखिन्छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?