+
+
उम्मेदवार प्रोफाइल :

अशोक राई : अविश्वासको घेराबन्दीमा एमालेकै भर

नवराज विष्ट नवराज विष्ट
२०७९ मंसिर १ गते २०:१८

अशोककुमार राईको संसदीय जीवनमा फापेको पार्टी हो, नेकपा (एमाले) । पटक–पटक चुनाव जितेर सांसद र मन्त्री भएका उनी अहिले एमालेमा छैनन्, तर १० वर्षपछि पुनः एमालेकै भर परेर सुनसरी–१ आइपुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ मा जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानको चुनावी सभामा त्यही जसपा नेता राईका लागि भोट माग्ने क्रममा भने, ‘एमाले छाडेर सम्भावना समाप्त पारेका अशोक राईको सम्भावना एमालेसँग मिलेपछि पुनः सुरु भएको छ ।’

यसपटक सुनसरी-१ जसपाको संघीय परिषद अध्यक्ष राईलाई छाड्ने ओलीको निर्णयले एमाले अशान्त बन्यो । राईलाई हराउन एमालेको प्रदेश कमिटी सचिवालय सदस्य मनोजकुमार मेयाङ्बोले बागी उम्मेदवारी दिएका छन् ।

राजनीतिक जीवन

२०२९ मा कम्युनिस्ट आन्दोलनमा जोडिएका अशोक राई २०३१ सालमा विद्यार्थी परिषद् सदस्य भएका थिए । ‘राँको समूह’को नेतृत्व गरिरहेका उनी २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी लेनिनवादी) का सदस्य भए । २०३६ सालमा पूर्णकालीन भएर भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पार्टीको संगठन विस्तार गरे ।

२०३७ मा नेकपा (माले)को सदस्य भएका राई २०४६ सालमा केन्द्रीय सदस्य भए । २०४७ सालमा नेकपा (एमाले) बनेपछि केन्द्रीय सदस्य र २०५९ मा स्थायी कमिटी सदस्य भए । २०६५ मा भएको आठौं महाधिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपाध्यक्षमा निर्वाचित भए राई ।

पूर्वी पहाडमा पार्टी संगठन र कम्युनिस्ट आन्दोलन विस्तारमा अशोक राईको ठूलो भूमिका छ । उनले संगठित÷प्रशिक्षित गरेका धेरै नेता आज एमालेको नेतृत्व तहमा छन् ।

‘एमाले फोडेको होइन छोडेको’

पहिचानको मुद्दामा फरक मत राखेर २०६९ मा एमाले छाडेका अशोक राई पार्टीमा धेरै विशृङ्खलता पैदा भएपछि आफू हटेको बताउँछन् । ‘एमालेलाई विल्कुलै डिस्टर्ब नगरी आफैं निस्केको हुँ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘मैले एमाले फोडेको होइन, छोडेको हो ।’

अहिले फेरि सहकार्यको अवस्था बनेको बताउँदै उनले भने, ‘२०७४ मा सरकारमा पनि सहकार्य भयो, अबको सहकार्यबाट आर्थिक विकास र सामाजिक परिवर्तनका दिशामा अग्रगामी रूपमा अगाडि जान सकियोस् भन्ने मेरो मनसाय छ ।’

चुनावी अंकगणित

सुनसरी–१ मा एमाले यसै पनि बलियो दल हो । गत स्थानीय तह चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ ।

स्थानीय चुनावको नतिजाले सुनसरी–१ मा एमाले–जसपाका साझा उम्मेदवार अशोक राईलाई अनुकूलता देखाए पनि बागी र सत्ता गठबन्धनका उम्मेदवारलाई कम आँक्न सकिने स्थिति छैन । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ मेयाङ्बो प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?