+
+
Shares

एक्लिए अशोक राई

१३ वर्ष पहिले एमालेबाट बाहिरिएका मध्ये आफू मात्र जसपामा रहेको राई आफै पनि स्विकार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव र उपमहासचिव प्रदीप यादवले पार्टी छाडेर जसपा नेपाल र लोसपामा जाने सहमति गरेका छन्।
  • २०८१ मा विभाजित जसपाका अधिकांश पदाधिकारीले दुई वर्ष नपुग्दै पार्टी छाडेका छन् र सोमबार केन्द्रीय सदस्य आङकाजी शेर्पाले पनि राजीनामा दिएका छन्।
  • अशोक राई नेतृत्वको जसपामा अधिकांश नेताहरूले साथ छाडेका छन् र राई २०७९ को निर्वाचनमा एमालेको समर्थनमा सुनसरी–१ बाट सांसद निर्वाचित भएका छन्।

१५ पुस, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)की सहअध्यक्ष रेणुकुमारी यादव र उपमहासचिव प्रदीप यादवले सोमबार पार्टी छाडे । उनीहरू आइतबार मात्र एकता घोषणा गरेका उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जाने सहमति गरेका छन् ।

२०८१ मा जसपा नेपाल विभाजित भएर बनेको जसपाका पदाधिकारी मध्ये अधिकांशले दुई वर्ष नपुग्दै पार्टी छाडिसकेका छन् । गत मंसिरमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय परशुराम बस्नेत, रणध्वज कन्दङ्वा लिम्बु, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकर, कृष्णबहादुर घनुलगायत नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

सोमबारै जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले पनि राजीनामा बुझाएका छन् । पार्टी छाडे पनि पहिचान, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा लागिरहने शेर्पाले राजीनामामा उल्लेख गरेका छन् ।

२०६९ सालमा नेकपा (एमाले) छाडेर संघीय समाजवादी पार्टीको संस्थापक अध्यक्ष बनेका राई पार्टीमा लगभग एक्लिएका छन् । पहिचान सहितको संघीयता अस्वीकार गरेको भन्दै एमालेबाट बाहिरिएका विजय सुब्बा, रकम चेम्जोङ, वीरबहादुर लामा, रिजवान अन्सारी, हेमराज राई, राजेन्द्र श्रेष्ठ, गोपाल ठाकुर, रणध्वज कन्दङ्वा, अजम्बर काङमाङ लगायत कोही पनि राईसँग छैनन् ।

विजय सुब्बा, हेमराज राईहरू एमालेमै फर्किएका छन् भने रकम चेम्जोङ उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालमा छन् । राजेन्द्र श्रेष्ठ, रणध्वज कन्दङ्वा, अजम्बर काङमाङ नेकपामा छन् । अन्सारी संघीय समाजवादी पार्टी अध्यक्ष छन् ।

१३ वर्ष पहिले एमालेबाट बाहिरिएका मध्ये आफू मात्र जसपामा रहेको राई आफैं पनि स्वीकार्छन् । ‘त्यतिबेला एमालेको केन्द्रीय कमिटीबाट निस्किएकामध्ये म मात्रै यो पार्टी निर्माण गरेर अगाडि बढ्ने अवस्थामा छु’, उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा भनेका छन्, ‘जतिसुकै कष्ट भए पनि यो पार्टीमै रहेर तपस्या गर्ने अठोट लिएको छु ।’

२०३३ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता लिएका राई २०३५ सालमा भूमिगत भएका थिए । २०४६ सालमा मालेको केन्द्रीय सदस्य बनेका उनी २०५९ स्थायी कमिटी सदस्य चयन भए । आठौं महाधिवेशनबाट एमाले उपाध्यक्ष निर्वाचित राईले दोस्रो संविधान सभा चुनाव अगावै एमाले त्यागेका थिए ।

एमाले छोडेर संघीय समाजवादी पार्टी (संसपा) गठन गरेका राईको पार्टीले २०७० को संविधान सभामा प्रत्यक्ष तर्फ कुनै सिट जित्न सकेन । समानुपातिक प्रणाली तर्फबाट पाँच सिट प्राप्त गर्‍यो ।
निर्वाचन परिणाम भने जस्तो नआएपछि २०७२ जेठमा संसपा र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल (संसफोने) बन्यो । २०७४ मा संसफोने प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जित्यो ।

२०७६ मा संसफोने र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएर ‘समाजवादी पार्टी’ बन्यो। त्यो पार्टीमा २०७७ मा महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो। यो एकता लामो टिकेन । २०७८ मा जसपाबाट विभाजित भएर ठाकुरको नेतृत्वमा लोसपा गठन भयो ।

त्यतिबेला यादव र अशोक राई यादवसँगै थिए । २०८१ वैशाखमा राईको नेतृत्वमा जसपा बन्यो । त्यही पार्टीका अधिकांश नेताहरूले राईको साथ छाडेका हुन । २०७९ को निर्वाचनमा आफ्ना पूर्व पार्टी एमालेको समर्थनमा राई सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । २०४८ र २०५१ मा राई खोटाङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०५१ मा यातायात, २०५३ संसदीय व्यवस्था, २०६१ स्वास्थ्य र २०७९ मा शिक्षा मन्त्री बनेका थिए । भूमिगतकालमा राईको नाम थियो, अमर । उनी राजनीतिक जीवनमा कति अमर बन्छन् भविष्यले बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?