+
+
उम्मेदवार प्रोफाइल :

समानुपातिक छाडेर प्रत्यक्ष चुनाव लड्न हिंडेका उमेश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:३३

राज्यमन्त्री उमेश श्रेष्ठ, यतिबेला चितवन–२ मा कांग्रेसको झण्डा बोकेर घरदैलो गरिरहेका छन् । उनको प्रतिबद्धता छ– ‘चितवनको विकास र जनताको सेवा मेरो प्राथमिकतामा रहनेछ ।’

भोजपुरमा जन्मिएका श्रेष्ठ काठमाडौंमा आएर निजी शिक्षण संस्था चलाउँदै विभिन्न व्यवसायमा संलग्न व्यक्ति हुन् । उनी आफ्नो ‘व्यावसायिक’ छविलाई यसपटक चितवनबाट प्रत्यक्ष चुनाव लडेर ‘राजनीतिक’ बनाउने होडमा छन् ।

२०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक पद्धतिमार्फत चुनिएका श्रेष्ठले यसपटक प्रत्यक्ष रूपमै जनता बीचमा मत माग्न जाने निर्णय लिए । पार्टीलाई आर्थिक सहयोग गरेर र नेताहरूसँग निकटतम सम्बन्ध बनाएर पटक–पटक समानुपातिक सांसद बनेको आरोप लागिरहेपछि उनी प्रत्यक्ष चुनाव लड्न चितवन पुगेका हुन् ।

२०१२ सालमा जन्मिएका उनको स्थायी बसोबास ललितपुरमा छ । होटल सिराइचुली र होटल सेन्ट्रल पार्कमा लगानी गरेका उनको चितवनसँगको सम्बन्ध व्यवसायमार्फत जोडिएको हो । यही कारण उनी आफ्नो लागि अनुकूलको निर्वाचन क्षेत्र खोज्ने क्रममा चितवन पुगेका हुन् ।

लिटिल एन्जल्स एजुकेसन ग्रुपका लगानीकर्ता रहेका श्रेष्ठ संसदको शिक्षा तथा स्वास्थ्य समितिका निवर्तमान सदस्य समेत हुन् । श्रेष्ठ उच्च माध्यमिक विद्यालय एशोसिएसन हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत हुन् ।

बीएडसम्म अध्ययन गरेका उनको विभिन्न बैंक र जलविद्युत् आयोजनाहरूमा पनि लगानी छ । चितवनसहित धुलिखेल, तनहुँ र पोखरामा खुलेका होटलहरूमा पनि उमेशले लगानी गरेका छन् । शिक्षण संस्था, घरजग्गा, कृषि फार्मदेखि अस्पतालसम्म उनको लगानी छ ।

श्रेष्ठको मुख्य चुनावी भिडन्त एमालेका नेता तथा निवर्तमान सांसद कृष्णभक्त पोखरेलसँग हुनेछ । अर्काे प्रतिस्पर्धीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने छन् ।

२०७० र २०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर पोखरेलले बनाएको छविलाई उछिन्ने गरी विश्वास दिलाउनु मात्रै हैन, टेलिभिजनमार्फत लोकप्रिय भएका लामिछानेको आक्रामक चुनावी प्रचारलाई चकमा दिनु पोखरेलका लागि सहज छैन । अझ काठमाडौंबाट एकाएक टिकट लिएर चितवन पुगेकाले त्यहाँ असन्तुष्ट रहेका कांग्रेसलाई मनाउनु पनि श्रेष्ठको लागि फलामको चिउरा जस्तै छ ।

स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतका आधारमा चितवन–२ मा सत्ता गठबन्धनसँग ३५ हजार ४७४ मत छ । तर, एमाले एक्लैको ३५ हजार ५४३ मत छ ।

तर, यो समीकरण हेरेर मात्रै चितवन–२ को नतिजाबारे अनुमान लगाउन गाह्रो छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने पोखरेल र श्रेष्ठ दुवैको मत कटाउने मात्रै हैन, उनीहरू दुवैलाई हराउने रणनीति बनाएर चितवन–२ का गाउँ–गाउँमा पुगिरहेका छन् ।

टेलिभिजन कार्यक्रमले दिएको लोकप्रियता र पुराना दलहरूप्रति जनतामा फैलिएको वितृष्णाबाट लाभ उठाउन उनले निकै ठूलो जोडबल लगाएका छन् । यसैकारण सकेसम्म बढी गठबन्धनको मत जोगाउने प्रयासमा श्रेष्ठ पनि लागिपरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि अन्य नेताहरू र माओवादीका शीर्ष नेताहरूको समेत विश्वासपात्र भएकाले श्रेष्ठ चुनावी भिडन्तलाई जितमा परिणत गर्न सकिने विश्वासमा छन् । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडाहरू पर्ने यो क्षेत्रमा हुने त्रिपक्षीय भिडन्तमा बाजी मार्न श्रेष्ठले व्यावसायिक सम्बन्धहरू देखाएर आफूलाई चितवनकै मानिसका रूपमा चिनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?