+
+

राजेन्द्र लिङ्देन : राजतन्त्रको लक्ष्य, गणतन्त्रवादी एमालेको भर

राजसंस्था स्थापना गर्ने लक्ष्य लिएका लिङ्दनेलाई यसपटक पनि गणतन्त्रवादी शक्ति एमालेको साथ छ । सिटौलालाई सत्ता गठबन्धनको समर्थन छ । तर, कांग्रेससँग सहकार्य गरेका सत्ता घटकका अरु दलको मत न्यून हुनु लिङ्देनका लागि अनुकुलता बनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर १ गते २०:५५

राजसंस्था पुनर्स्थापनाको लक्ष्य बोकेको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमालेसँग तालमेल गरेका लिङ्देनको प्रतिस्पर्धी चीर परिचित अनुहार कांग्रेस नेता कृष्णप्रसाद सिटौला छन् । लिङ्देन र सिटौलाको चुनावी मैदानमा यो तेस्रो प्रतिस्पर्धा हो ।

यी दुई प्रतिस्पर्धीले १-१ पटक एक अर्कालाई हराएका छन् । २०७० सालमा सिटौलाले लिङ्देनलाई हराए भने २०७४ सालमा लिङ्देनले सिटौलालाई पराजित गरे । एमालेको साथ पाएका लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो ।

लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने ।

उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए ।

उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए ।

झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।

हल्दीबारी–१ झापाका स्थायी बासिन्दा लिङ्देन पाँचथरमा २०२२ साल भदौमा जन्मेका थिए ।

राजसंस्था स्थापना गर्ने लक्ष्य लिएका लिङ्दनेलाई यसपटक पनि गणतन्त्रवादी शक्ति एमालेको साथ छ । सिटौलालाई सत्ता गठबन्धनको समर्थन छ । तर, कांग्रेससँग सहकार्य गरेका सत्ता घटकका अरु दलको मत न्यून हुनु लिङ्देनका लागि अनुकुलता बनेको छ । २०७० मा पराजित लिङ्देनले ९ हजार २५३ मत ल्याउँदा सिटौलाले १४ हजार ३५५ मत ल्याएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा पाएको मतमा कांग्रेस झापा–३ मा पहिलो दल बनेको छ । दोस्रो र तेस्रो शक्ति क्रमशः राप्रपा र एमाले छन् । चौथो शक्ति माओवादी केन्द्र सिटौलाको साथमा छ ।

गत स्थानीय तहको मतमा यस क्षेत्रमा कांग्रेसले २५ हजार ९४९, दोस्रो शक्ति राप्रपाले २१ हजार १५९ मत पाएको छ । एमालेको २१ हजार ८५ र माओवादी केन्द्रको पक्षमा ६ हजार ६८८ मत आएको थियो । दुई ठूला शक्ति एक ठाउँमा उभिँदा लिङ्देन बलियो प्रतिस्पर्धी बन्न पुगेका छन् ।

यस क्षेत्रमा कचनकवल, हल्दिबारी, बाह्रदशी पालिकाका सबै वडा पर्छन् । विर्तामोड नगरपालिकाको १० नम्बर र भद्रपुर नगरपालिकाको १ देखि ८ सम्मको वडाहरु यस क्षेत्रमा पर्दछन् ।

यस क्षेत्रको हल्दिबारीमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख पद राप्रपाले जितेको छ । भद्रपुर र कचनकबलमा स्थानीय तहको प्रमुख पदमा कांग्रेसले जितेको छ । बाह्रदशीमा लिङ्देनलाई समर्थन गरेको दल एमालेले अध्यक्ष पद जितेको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?