+
+

विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

डा. अवशेष भण्डारी डा. अवशेष भण्डारी
२०७९ मंसिर २ गते १३:०४

ऐश आराम र निष्क्रिय दिनचर्या । मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ ।

सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो । अरु पनि थुप्रै कारण छन् जसले यस्तो समस्या निम्त्याउँछ ।

कब्जियतका कारण

कब्जियत हुनुमा एउटा मात्र कारण छैन । आन्द्रा राम्ररी सक्रिय नभएका व्यक्तिमा कब्जियत हुने भय हुन्छ । थाइराइड कम भएका, मोटोपन भएका व्यक्ति पनि कब्जियतका सिकार हुन सक्छन् । त्यसबाहेक मान्छेको जीवनशैलीले यसमा खास असर गर्छ । तारेको, पिरो, मसालेदार खाने, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, बढी आराम गर्ने मानिसलाई यसको समस्या हुन्छ । कफी, कोल्ड ड्रिंक पिउने, पर्याप्त नसुत्ने, फलफूल, सागपात, झोलिलो खानेकुरा नखाने व्यक्तिलाई पनि कब्जियत हुन सक्छ ।

अहिले बालबच्चालाई जंकफुड दिइने गरिन्छ । विद्यार्थीहरु पनि चटपटे, पानीपुरी, चिप्स, मःम, चाउमिन खाइरहेका हुन्छन् । वयस्कहरु मदिरा, कफी जस्ता पेय बढी नै पिउने गर्छन् । यसैगरी तनावग्रस्त हुने गर्छन् र धपेडीपूर्ण दिनचर्या बिताउने गर्छन् । उनीहरुलाई कब्जियत हुने सम्भावना दोब्बर हुन्छ ।

तनावले पनि कब्जियत

तनावले पनि कब्जियत हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर मनोविकारको असर शरीरका थुप्रै अंगमा पर्छ । आन्द्राको आफ्नै स्नायु प्रणाली हुन्छ । जब हामी तनावग्रस्त हुन्छौं, त्यसले पेटको स्नायु प्रणालीलाई असर गर्छ । नतिजा, आन्द्राको कार्यसञ्चालनमा अवरोध पुग्छ । र, कब्जियतको समस्या हुन्छ । बढ्दो तनावले व्यक्तिमा इरिटेबल बाउल सिन्ड्रोम हुनसक्छ ।

पायल्सको भय

कब्जियत भइरहँदा पेट सफा हुँदैन । जब पेट सफा हुँदैन, त्यसले धेरै शारीरिक र मानसिक समस्या निम्त्याउँछ । शरीरमा विकार बढ्छ ।

दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । यसले मलद्वारमा असर गर्छ । पायल्स हुने जोखिम उत्तिकै हुन्छ । पायल्सले अरु जटिल समस्या ल्याउन सक्छ । रक्तश्राव भएर शरीरमा रक्तअल्पताको समस्या निम्तिन सक्छ । पाचनक्रियामा त असर पुग्ने नै भयो । साथै यसले मानिसको तनाव पनि पैदा गर्छ ।

के छ त उपचार ?

कब्जियतको उपचार के गर्ने भन्ने कुरा कब्जियत के कारणले भएको छ भन्ने प्रश्नले निर्धारण गर्छ । थाइराइडले गर्दा कब्जियत भएको छ भने त्यसको सप्लिमेन्टले ठीक गर्छ । गलत आहार, विहारले भएको छ भने जीवनशैली बदल्नुपर्छ । त्यसो गर्दा पनि भएन भने उपचार प्रक्रिया अगाडि बढाउनुपर्छ । आन्द्राको अवस्था के छ हेर्नुपर्छ ।

खासगरी पर्याप्त पानी, रेसादार खानेकुरा, फाइबरयुक्त खानपान गर्नुपर्छ । त्यसैगरी सक्रिय जीवनशैली जरुरी हुन्छ । योग व्यायामजस्ता प्राकृतिक विधिबाट पनि यसको जोखिम कम गर्न सकिन्छ । मदिरापान नगर्ने, सुत्ने उठ्ने तालिका नियमित गर्ने, तनाव नलिनेजस्ता कुराले कब्जियतको जोखिमबाट बच्न सकिन्छ ।

(डा. अवेशष भण्डारी पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । ग्यास्ट्रोइन्टरलोजीमा एमडी गरेका उनी हाल नेपाल मेडिकल कलेज र हेल्पिङ ह्याण्ड्स अस्पतालमा कार्यरत छन् ।)

मनिष थापाले गरेको कुराकानीमा आधारित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?