+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

रासस रासस
२०७९ मंसिर २ गते १३:५५

२ मंसिर, बाँके । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए ।

तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए ।

व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो । रु १० नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनिता गिरीले भनिन्, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा रु पाँच/दश नाफा त खानै पर्‍यो नि !’

उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए ।

उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे । ‘सिजन अनुसार सबै ठाउँमा रु १०÷२० पर्ने बन्दाको कोहलपुरमा रु १५० भन्यो’, उनले भने, ‘कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोँधे, बन्दाको प्रतिकेजी रु १५० । गलत सुनेकी भनेर फेरि सोधेँ, रु १५० । अर्को स्टलमा सोधेँ, रु १५० नै । म त ट्वाँ परेँ ।’

प्रमुख विष्टले बन्दाको प्रतिकेजी रु १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताए । ‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’ उनले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी रु १२ छ ।

बित्थडचिरको आनन्दपुरमा रु १५, मुस्याखान बैतडीमा रु १०, खोड्पे बैतडीमा रु १४, अनारखोली डडेल्धुरामा रु १५, धनगढीको दुवै हाटबजारमा रु ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा रु ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो ! ‘

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताए । ‘म त अचम्ममा परेँ’, उनले भने, ‘मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् ? उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।’

यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भने, ‘हुन त तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।’

व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले रु १३० देखि १४० मा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ थियो ।’कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएकोर , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि रु १०÷१२ त नाफा खानु पर्‍यो ।’ व्यापारी जिसीले भने ।

अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य रु सयको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । ‘अहिले बन्दाको थोक मूल्यसमेत रु ८०÷९० छ ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ । तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?