+
+

थप २३.५ मेगावाट बिजुली निर्यातको अनुमति, कात्तिकसम्म साढे १० अर्बको निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १४:३१

२ मंसिर, काठमाडौं । भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो ।

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो ।

प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी-१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो ।

त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति पाएको हो । तर, अन्य आयोजनबारे भारत लामो समयदेखि अनिर्णित छ।

साढे १० अर्बको निर्यात

यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत निर्यात भइसकेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुादै थियो । गत १८ र  ३० कात्तिकबाट क्रमश: चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमश: घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘उद्योगहरुले अहिले स्वीकृति लोड अनुसार विद्युत नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतको माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ८ रुपैयाँ २३ पैसा रहेको छ  ।

विद्युत निर्यातको परिमाण र प्राप्त रकम

महिना निर्यात ऊर्जा (युनिट) भारतीय रुपैयाँ नेपाली रुपैयाँ औसत दर प्रति युनिट(नेपाली रुपैयाँ)
जेठ ६ करोड ५९ लाख १९ हजार ५० करोड ४ लाख ८० करोड ६ लाख १२.१५
असार २३ करोड ३२ लाख ४ हजार १ अर्ब २७ करोड ३८ लाख २ अर्ब ३ करोड ८१ लाख ८.७४
साउन २४ करोड २६ लाख ८३ हजार १ अर्ब २५ करोड ८० लाख २ अर्ब १ करोड २७ लाख ८.२९
भदौ २४ करोड ६७ लाख ८५ हजार १ अर्ब ४९ करोड ९२ लाख २ अर्ब ३९ करोड ८८ लाख ९.७२
असोज २६ करोड ६५ लाख २७ हजार १ अर्ब ९ करोड ६१ लाख १ अर्ब ७५ करोड ३८ लाख ६.५८
कात्तिक २० करोड ७४ लाख १९ हजार ८६ करोड ६० लाख १ अर्ब ३८ करोड ५५ लाख ६.६८
जम्मा १ अर्ब २६ करोड २५ लाख ३८ हजार ६ अर्ब ४९ करोड ३५ लाख १० अर्ब ३८ करोड ९६ लाख ८.२३

स्रोत : नेपाल विद्युत प्राधिकरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?