+
+

डोटीमा निर्वाचनको तयारी पूरा, २४७२ सुरक्षाकर्मी खटिए

रामहरि ओझा रामहरि ओझा
२०७९ मंसिर ३ गते १०:५३

३ मंसिर, डोटी । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको कार्यालयले जनाएको छ । ‘एक गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको छ,’ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले भने, ‘उहाँहरुले निर्वाचनसंग सम्वन्धित कार्यहरु सुरु गरिसक्नु भएको छ ।’ आज मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

मतदान केन्द्र निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने, मतदाताहरुलाई विश्रामगर्न मिल्ने गरि निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिईएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले वताए ।

डोटी जिल्लामा एक सय १५ मतदान स्थलहरुमा १७७ मतदान केन्द्र रहेका छन् । कारागारका कैदीबन्दी र सरकारी कर्मचारीहरुले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । अस्थायी मतदान केन्द्रमा करिब तीन सय अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पाण्डेय वताउँछन् ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी र दिपायल क्षेत्रमा रहेका सरकारी कर्मचारीका लागि दिपायल राजपुरमा रहेको सु-जङ्ग मतदान केन्द्र मतदान गर्ने व्यवस्था मिलाइएको वताए । यस्तै, तालिम केन्द्रमा रहेका प्रहरी कर्मचारीहरुका लागि दिल्पेश्वर मतदान केन्द्रमा व्यवस्था गरिएको समेत पाण्डेयले जानकारी दिए ।

निर्वाचनका लागि तीनवटै सुरक्षा निकायका गरि २४७२ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । ‘नेपाल प्रहरीबाट १५१८, नेपाली सेनाबाट ७४० र सशस्त्र प्रहरी बलबाट २१४ सुरक्षाकर्मी परिचालन भएका छन्,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, ‘तत्काल प्रतिकार्य समूह पनि तयारी अवस्थामा रहेका छन् ।’ उनले मोबाइल सुरक्षा टोलीहरू पनि परिचालन भइरहेका बताइन् ।

निर्वाचनको लागि कडा सुरक्षा प्रबन्ध मिलाइएकोले मतदाताहरुले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह गरिन् । उनले भनिन्, ‘हामीले सुरक्षा अवस्थाको नियमित रुपमा अनुगमन गरिरहेका छौं, जिल्लाका बिभिन्न स्थानमा स्थलगत अनुगमन भएको छ, सुरक्षा अवस्था राम्रो छ ।’

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मतादन स्थलका लागि तीन तहको सुरक्षा घेरा बनाइएको बताइन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई राखिएको उनले जानकारी दिइन् ।

डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् ।

जिल्लाबाट प्रतिनिधि सभाका लागि सत्ता गठवन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेकपा एमालेका गौरी ओली, राप्रपाका अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका केशवबहादुर बलायर चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै दुई स्वतन्त्र उम्मेदवारहरु नरेन्द्रबहादुर खड्का र राजप्रसाद जोशी पनि प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा ‘१’ मा सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका चक्रबहादुर मल्ल, हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राप्रपाका नेत्र नाथ चुनावी मैदानमा छन् । यस्तै, प्रदेश ‘२’ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली, नेकपा एमालेका टेबबहादुर बम र राप्रपाका मोहनबहादुर बम चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?