+
+

रवीन्द्रनाथ टैगोरको अन्तिम प्रेम

शरद शरद
२०७९ मंसिर ३ गते १३:४४

शरद ऋतुको पूर्ण चन्द्रमा । सफा आकाश । टिल्पिलाइरहेका अनगिन्ती तारा । यी सब दृश्य नियाल्न शान्ति निकेतनको बाल्कोनीमा रवीन्द्रनाथ टैगोर घन्टौं टोलाइरहन्थे । उनीभित्र केही गुम्सिएको थियो, सायद प्रेम वा इच्छा ।

उनको मुद्रा हेर्दा लाग्थ्यो कि एक काव्यिक आत्मा सारा ब्राह्माण्डको विचरण गर्दै छ । घरबुना कपासको सुकिलो, स्निग्ध कुर्था उस्तै सुकिला श्वेत केश र दारी तेजले बलेका माधुर्य आँखा, टैगोरको अनुहार ६० को दशकमा झनै चम्किरहेको थियो ।

६० को उमेरमा अक्सर मानिसहरु जिन्दगीको भारी बिसाउने चौतारी खोज्दै हिँड्छन्, जिन्दगीदेखि थाकेझैं लल्याकलुलुक र रसहीन देखिन्छन् । तर, टैगोर ६३ वर्षको उमेरमा सपना र रहरहरुको झनै ठूलो भारी बुनाउँदै थिए ।

६० दशक टैगोर शान्ति निकेतनमै हराउँथे । त्योबेलासम्म उनले गीताञ्जली काव्यको लागि प्रतिष्ठित नोबेल पुरस्कार पाएर विश्वमै परिचित थिए । यतिबेला उनी जीवनको नयाँ आयाम खोजिरहेका थिए ।

उनी लगातार घन्टौं कापीमा एकोहोरो कोरिरहन्थे । काव्यिक सिर्जनाहरु उनका हृदयस्पर्शी मानसपटलमा यत्रतत्र सर्वत्र नाचिरहन्थे । टैगोर ती काव्यिक सिर्जनालाई शब्दमा उतार्न चाहन्न्थे । उनी हरेक सिर्जनालाई लेख्दै, कोर्दै, मेटाउदै गर्थे ।

शब्द शब्दहरुलाई केरेर एक अर्कासँग जोड्दै पाण्डुलिपिमै स्वतन्त्र रेखाहरु कोरिदिन्थे । ती रेखाहरु पनि विस्तारै एक अर्कासँग जोडिँदै जान्थे । रेखाहरुको सञ्जालबाट अनि अनेक आकारहरु उत्पन्न हुन्थे र अन्त्यमा ती बेजोड चित्रहरूमा टुंगिन्थे ।

यसरी टैगोरले मूर्त शब्दहरुको कायाकल्प गरी अमूर्त स्वच्छन्द रेखाहरुमा परिणत गरिदिन्थे । ती रेखाहरु लयबद्ध रुपमा एकअर्काका परिपूरक हुँदै विभिन्न नाटकीय रुपमा देखिन्थे र तीबाट सुन्दर कथाहरुको निर्माण हुन्थ्यो ।

टैगोरको कलायात्रा डुडल (एक प्रकारको स्वच्छन्द रेखाचित्र) बाट सुरु भयो । क्रस–आउट लाइनहरु र शब्दहरुको अनियोजित र आकस्मिक मिलनबाट टैगोरका कलाहरु झनै सुमधुर बन्न पुगे ।

एकदमै अपत्यारिलो र असामान्य बाटोमा टैगोरले ६३ वर्षको उमेरमा चित्रहरुको सिर्जना गर्न थाले । वास्तवमा उनी आफैंले आफ्नो कलालाई ‘बुढ्यौलीको प्रेम’ भनेका छन् । यसरी आफ्नो जीवनको पछिल्लो १७ वर्षमा टैगोरले पच्चीस सयभन्दा बढी कलाकृति सिर्जना गरे ।

तीमध्ये अधिकांश भारतमा, दिल्लीको नेसनल ग्यालरी अफ मोर्डन आर्ट र शान्ति निकेतनको विश्व भारती विश्वविद्यालयमा फेला पार्न सकिन्छ । केही चित्रहरु विभिन्न अन्तर्राष्ट्रियस्तरमा पनि संग्रहित छन् ।

आफ्नो कलायात्राको पहिलो चरणमा टैगोरले जनावर वा काल्पनिक अमूर्त शैलीका प्राणीहरु सिर्जना गरे । ती प्रायः प्राणीहरु उनको वृत्तिद्वार सिर्जित र कल्पनाका उपजहरु थिए । तिनीहरुको भावभंगीमा र आकार अशोभनीय देखिए पनि तिनीहरुको भाव प्रष्ट र पारदर्शी देखिन्थ्यो ।

यस समयका अन्य कलाकारभन्दा फरक टैगोरले आफ्नो चित्र माध्यमको रुपमा क्यानभास र रङ नभई कागज मसी र पाण्डुलिपिहरुलाई रोजे । उनका कैद मनस्थिति उनको मानसबाट सिधै मसी र कागजमा पोखिए ।

रवीन्द्रनाथ टैगोरको कलात्मक चित्र रचनाहरुमा मानव अनुहार प्रमुख कुरा हो । मानिसहरुलाई भावना र करुणाले चित्रण गर्ने टैगोर र उनको अवचेतन स्थितिका आकारहरुले उनका चित्रहरुमा विशेष स्थान राख्छन् । टैगोरका चित्रहरुमा बंगालका महिलाहरूका कलात्मक चित्रणहरु प्रस्तुत हुन्थे ।

उनीहरुका आँखा झुन्डिएका छन् र अनुहार लामो छ । तिनीहरुको अनुहार र आँखाहरुले उनीहरुको मनोभावको उदासीको रसातल चित्रण गर्दछ । टैगोरले मानिसहरुलाई देखाउने लगभग चित्रहरूमा अन्धकार र अन्धकार निरन्तर थियो, जसले अतुलनीय शोक र एक्लोपनलाई प्रस्तुत गर्दथ्यो ।

कतै कतै उनका सिर्जनाहरुमा उनी आफैंले भोगेका अनेक दुखान्तहरु पनी झल्किन्थे । उनले कोरेका नारी चित्रहरुमा प्रकट गरिएका मनोभावनाहरु अनेक किसिममा हुन्थे उदास, कामुक, रहस्यमयदेखि मेलोड्रामाटिक र रोमान्टिकसम्म ।

विशेष गरी टैगोरका महिला मुहारचित्रहरुमा छाप छोड्ने एउटा अनुहार उनको बाल्यकालको साथी कादम्बरीको थियो, जसले २६ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । सन् १९०० को प्रारम्भमा टैगोरले आफ्नी पत्नी र दुई छोराछोरीलाई गुमाए । जसले उनका कला चित्रहरुमा दीर्घकालीन छाप छाडे ।

अधिकांश चित्रकारहरुको विपरीत टैगोरले आफ्ना चित्रहरुमा हस्ताक्षर गरेनन् र चित्रको शीर्षक पनि कमै मात्र दिए । उनले दर्शकहरुलाई कल्पना गर्न र चित्रहरुमा तिनीहरुको विचार र दृष्टि आफ्नै व्याख्याको प्रकाशमा पहिचान गर्न खुला छाडे ।

उनी चित्र सिर्जनाका विचारहरुलाई आफ्नो रचनात्मक कल्पनामा सीमित गर्न चाहँदैनथे । उनका लागि व्यक्तिगत दर्शकले चित्रकला आफ्नै निजी दृष्टिकोणबाट बुझ्नुपर्छ भन्ने थियो । यस प्रकारका चित्रहरु थिएटर र नाटककारको रुपमा उनको प्रयासको परिणाम थियो । उनका चित्रहरुमा बिम्बित रङ, पोशाक, र दृश्यहरु नाटकीय प्रतीकात्मकताले भरिएका हुन्थे ।

टैगोर पश्चिमी संसारमा आफ्नो कामहरु पर्दशन गर्ने पहिलो भारतिय कलाकार पनि थिए र उनले सन १९३० मा रुस, युरोप र संयुक्त राज्य अमेरिकामा आफ्नो कामको कला प्रर्दशनी गरे ।

अर्जेन्टिनाका कला पारखी र विद्वान भिक्टोरिया ओकाम्पोको सहयोगमा सञ्चालित प्रदर्शनीहरुले २० औं शताब्दीको प्रारम्भमा समकालीन भारतीय कलाप्रति विश्वव्यापी ध्यानाकर्षण गरायो र यसको पहिचान बनाउन मद्दत ग¥यो ।

टैगोरको कलामा सीपभन्दा कल्पनाले धेरै ठूलो भूमिका खेलेको थियो जसको प्रभाव भारतीय कलामा उनको समयदेखि थप कल्पनाशील रुपमा परिवर्तन भएको देख्न सकिन्छ । कलाको प्रवद्र्धन गर्न टैगोरले युवा कलाकारहरुका लागि आफ्नो घर नै खाली गरिदिएका थिए ।

उनले सन् १९१९ मा विश्व भारती विश्वविद्यालयमा कला भवन बनाएर स्वदेशी लोकाचारका साथ कला र कला शिक्षालाई समर्थन गर्ने आफ्नो अन्तिम प्रेम र सपना पूरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?