+
+
टिप्पणी :

मतदाताले नयाँ रोजे, प्रधानमन्त्री कसलाई बनाउने ?

हामीले अपनाएको शासकीय संरचनामा मतदाताले सांसद मात्रै चुन्न सक्छन्, प्रधानमन्त्री बनाउने भनेको सांसदहरूले हो ।

सइन्द्र राई सइन्द्र राई
२०७९ मंसिर ७ गते २२:३८
गगन थापा, विराजभक्त श्रेष्ठ र सीके राउत

७ मंसिर, काठमाडौं । अन्तिम मतपरिणाम आउन अझै केही समय लाग्ने भएपनि आमनिर्वाचन–२०७९ ले दिने सन्देश प्रष्ट भइसकेको छ । नयाँ दल, परीक्षण नभएका व्यक्ति र संसदीय दलदलमा नफस्ने प्रतिवद्धता गरेका उम्मेदवार मतदाताको रोजाइमा परेको सन्देश यो चुनावले दिएको छ ।

त्यसको असर पुराना दलहरूमा पर्दा तीन दशक लामो चुनावी अनुभव भएका सत्ता र विपक्षी गठबन्धनका नेताहरुले नयाँ प्रतिस्पर्धीसँग सशक्त चुनौतीको सामना गर्नुपरेको छ । विशेष गरी टेलिभिजन प्रस्तोताको जागिर छोडेर गएको ७ असारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका रवि लामिछानेको आकर्षण यो चुनावमा धेरै देखियो ।

घण्टी चिह्न लिएर चुनावमा होमिएको यो पार्टीले काठमाडौंका १० मध्ये चार निर्वाचन क्षेत्र (२, ६, ७ र ८) जितेको छ । ललितपुर–३, चितवन–१ र २ मा रास्वपाले जित्दैछ । राजधानी उपत्यका यो पार्टीको आधारभूमि नै बन्न पुग्यो ।

अन्य शहरी क्षेत्रमा पनि घण्टीको आकर्षण अनपेक्षित छ । ती क्षेत्रमा ठूला दलकै उम्मेदवारले जित्ने देखिएपनि घण्टीको मत उत्साहप्रद छ । पश्चिम मधेशमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले बलियो उपस्थिति जनाएको छ । उसले पूर्वी कैलाली र बर्दियामा प्रत्यक्षतर्फ जितेर ठूला दलहरुको वश्चर्व तोडेको छ ।

पूर्वी मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित पुराना दलहरूलाई चुनौती दिएको छ । मधेश आन्दोलनको नेतृत्व गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादवलाई सीकेले सप्तरी–२ बाट फराकिलो अन्तरले हराउनु अर्थपूर्ण छ ।

संख्याको हिसाबले नयाँ दलहरुले जितेको संख्या धेरै होइन । तर उनीहरूले जसरी उपस्थिति जनाए, त्यसबाट मुलुककै राजनीतिक समीकरण बदलिन पुगेको छ । कुनै पनि दलले बहुमत नल्याउने स्थिति भएकाले निर्वाचन पूर्वको अनुमान र योजना भत्किएको छ ।

प्रष्ट सन्देश

नयाँ दलहरुको लहर चल्दा यसपटक राप्रपाले पनि उत्साहप्रद मत पाएकाले अन्तिम मत परिणामपछि सत्ता निर्माणको खेल रोचक हुन हुनसक्छ । तर जनादेशको मूल सन्देश बमोजिम सरकार बनाउने हो भने यथास्थितिको अस्वीकार हो । रास्वपाले जितेको केही प्रतिनिधिमूलक पात्रबाट जनादेशबारे त्यो सन्देशलाई अर्थ्याउन सकिन्छ ।

जस्तो– काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य जितेकी सोविता गौतम २७ वर्षकी छन् । उनीसँग सत्ता गठबन्धनबाट पूर्वसभामुख ओनसरी घर्तीमगर (४४) र एमालेबाट ६८ वर्षीय पुराना नेता मणिराम फुयाँल प्रतिस्पर्धामा थिए ।

ललितपुर–३ मा उर्जामन्त्री रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित हुने पक्का छ । ६० वर्षीय भुसाल समकालीन राजनीतिकै प्रभावशाली र शीर्ष महिला नेता हुन् । जबकी चुनाव जित्दै गरेकी डा. तोसिमा कार्की ३३ वर्षकी छन् ।

काठमाडौं-६ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ।

रास्वपाबाट काठमाडौं–६ मा चुनाव जितेका शिशिर खनाल (४३), ७ मा जितेका गणेश पराजुली (४१) र ८ मा जितेका विराजभक्त श्रेष्ठ (४१) तुलनात्मक युवा छन् । यो दलका सभापति रवि लामिछाने आफैंमा ४७ वर्ष पुगे । समानुपातिक तर्फबाट आउनसक्ने सम्भावित सांसद पनि युवा नै छन्, नयाँ र अवसर नपाएका त्यसै भइहाले ।

यसको असर ठूला दलहरुमा पनि पर्यो । काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका एमालेका ईश्वर पोखरेल पटकपटक सरकारमा गएका नेता हुन् । एमालेकै संस्थापक पोखरेल लगातार यही क्षेत्रबाट चुनाव लड्दै आएका थिए । तर यो पटक युवा नेता पौडेलसँग पोखरेल पराजित भए, जो ०७४ मा तनहुँबाट प्रदेशसभा सदस्यको चुनाव लडेका थिए । कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पनि पपुलर मत पाएर जिते ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका चुनाव जितेका योगेश गौचन थकाली २९ वर्षका मात्रै छन् । योगेशले बुवा रोमी गौचनसँग चुनाव लड्दै आएका प्रेम तुलाचनलाई हराएका थिए । पार्टी पदाधिकारीहरुलाई चुनाव जित्न सकस परिरहेकाले बेला ठाकुर गैरे, महेश बर्तौला, जस्ता अवसर नपाएका वा युवा नेता अगाडि बढ्दा एमाले, कांग्रेससँग प्रतिस्पर्धी शक्ति बन्न पुगेको छ ।

चुनाव नै नजितेपनि ठूला दलका युवा र नयाँ अनुहारले यसपटक पुराना नेताहरुलाई सशक्त चुनौती दिएका छन् । देशब्यापी लहर चल्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरा सागर ढकालले सम्मानजनक (१३ हजार ४२) मत पाएका छन् ।

देउवाविरुद्ध सागरले ल्याएको मत अरु दलका उम्मेदवारले ल्याएको भन्दै धेरै छ । अरुतिर हेर्दा पनि मूल रुपमा सत्ताको अवसर पाएका, परीक्षण भइसकेका र पुराना नेतालाई पपुलर मत पाउन मुस्किल परेको छ ।

समानुपातिक मतको रुझान हेर्दा पनि यसपटक मतदाताले नयाँ र अवसर नपाएकालाई प्राथमिकता दिएर पुराना अनुहारलाई धक्का दिनु हो । तर फेरि पनि सत्ताको नेतृत्व गर्ने दावेदार र संभावित शक्ति पुरानै दल हो, तिनका नेतृत्व हो ।

दलगत नतिजा जस्तो आएपनि उपेन्द्र यादवबाहेक अरु ठूला दलका प्रमुखले जित्ने पक्का छ । देउवाले डडेलधुरा, केपी ओलीले झापा–५ बाट जितिसकेका छन् भने प्रचण्डले गोरखा–२ र माधव नेपालले रौतहट–१ जित्ने भएकाले फेरि पनि प्रधानमन्त्रीमा दाबी गर्ने उनीहरु नै हुने छन् ।

अर्थात् आगामी सरकार जनादेशको भावना बमोजिम हुने सम्भावना कमजोर छ । यदि जनादेशको भावना सम्बोधन गर्ने हो भने त्यसको पहलकदमी लिने दायित्व फ्रेस र युवा नेताहरुको हो । त्यसमा अरुले सहयोग गर्नु राजनैतिक नैतिकता हो । किनकि हामीले अपनाएको शासकीय संरचनामा मतदाताले सांसद चयन गर्छन्, त्यसपछि प्रधानमन्त्री छान्ने दायित्व सांसदहरुको हो ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?