+
+

विश्वकपलाई लिएर के भन्छन् कतारका आप्रवासी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १८:१८

काठमाडौं । अहिले कतारमा फुटबलको महाकुम्भ विश्वकप भइरहेको छ । कतारी नागरिकहरु आफ्नो मुलुकमा विश्वकप आयोजना हुनुलाई गर्वको विषय भनिरहेका छन् । तर विश्वकपको लामो तयारीका क्रममा भोगेका समस्याका बारेमा पनि धेरैले टिप्पणी गरिरहेका छन् ।

कतारमा २०२२ को विश्वकप हुने कुराको टुंगो लाग्नासाथ कतार सरकारले तयारीस्वरुप विभिन्न कार्य गरेको थियो । सन् २०१० यता विश्वकप तयारीका लागि खाडी मुलुक कतारले फुटबलका पूर्वाधार निर्माणमा जोड दिन थालेको थियो । सडक विस्तारदेखि विश्वकपका लागि होटल निर्माणमा कतारले १२ वर्षदेखि तयारी गर्‍यो ।

विभिन्न पेसा–व्यवसाय अँगालेर लामो समयदेखि कतारमा नै बसिरहेका विदेशी नागरिक विश्वकपका बारेमा के भन्छन् ?

निर्माण कार्यका कारण आवतजावतमा असुविधा

लेबनानी मूलका ३१ वर्षीय पल बोस्टानी कतारमै जन्मिएका हुन् । कतारमा जन्मिएका कारण उनी कतारलाई आफ्नो घर ठान्छन् । कतारले विश्वकप आयोजना गर्न पाएकोमा निकै गौरवान्वित महसुस गर्छन् । तर कतारले यो १२ वर्षको अवधिमा गरेको संरचना निर्माणका क्रममा निकै कष्ट बेहोरेको उनी बताउँछन् ।

‘अघिल्लो दिन त्यही बाटो गाडी लिएर हिंडेको अर्को दिन बाटो बन्द । यस्ता कामले हैरान भइएको थियो,’ उनले सुनाए, ‘पहिले पनि र अहिले पनि निर्माण कार्य भइरहँदा पार्किङको समस्या अत्यधिक छ ।’

पश्चिमी सञ्चारमाध्यममा अनावश्यक अफवाह

सिरियाली मूलको अमेरिकी नागरिक बयान कायली सन् २०१९ यता कतारमा पढ्दैछिन् । १८ वर्षीया कायलीका अनुसार कतारजस्तो मुस्लिम राष्ट्रले विश्वकप आयोजना गर्दा बाहिरी मुलुकका मानिसलाई मुस्लिम धर्मको बारेमा अझ जान्ने अवसर मिल्ने उनी बताउँछिन् । ‘मानिसहरुले मुस्लिम धर्म र संस्कृति बुझ्ने मौका पाउनेछन्,’ उनी भन्छिन् ।

‘पश्चिमी मुलुकहरुमा एकदमै धेरै ढोंग भइरहेको छ । कतार विश्वकपलाई लिएर धेरै अफवाहहरु लेखेर ढोंग मच्चाइरहेका छन्,’ उनी अगाडि भन्छिन्, ‘यस्ता अफवाहहरु विशेषतः जातिवादमा आधारित छन् । धेरै नराम्रा टीकाटिप्पणीहरु प्रचारप्रसार भइरहेको छ ।

हरेक विश्वकपमा चुनौती आउने भन्दै उनले रसिया र ब्राजिलमा पनि हुँदा यस्ता अफवाफहरु फैलिएको बताइन् ।

कतारले विदेशी कामदारमाथि शोषण गरेको कुरालाई पनि बढाइँचढाइ प्रस्तुत गरिएको उनको तर्क छ । तर यी कुरालाई फिफा र कतार सरकारले जवाफ दिइरहेको उनले बताइन् ।

एक फ्रेन्च म्यागाजिनले कतारको मानअधिकारसम्बन्धी कुरालाई खिल्ली उडाउँदै कार्टुन प्रकाशन गरेको थियो, जसबारेमा कायली भन्छिन्, ‘फ्रान्समा पनि धेरै कानुन छन्, जसले धर्मगत विभेदहरु देखाउँछन् ।’

डेनमार्कका खेलाडीहरुले कतारले गरेको मानवअधिकार हननको विषयलाई उठाएर फिक्का जर्सी लगाउने निर्णय गरेका छन् । तर डेनमार्कमा पनि सिरियाली शरणार्थीलाई फिर्ता पठाउने नीति रहेको कायलीले बताइन् ।

खेलकुदको महत्व बुझाउने मेला

३१ वर्षीय केन्याली नागरिक जस्टिन सन् २०१२ देखि कतारमा बस्दै आएका छन् । उनी कतारमा फिजिकल ट्रेनरको अध्ययनका लागि आएका थिए । उनले कतारमा सडक विस्तारका क्रममा निकै सास्ती भोगेको अनुभव सुनाए । ‘१५ मिनेटमा पुगिने ठाउँ पुग्न ४५ मिनेट लाग्थ्यो । कहिलेकाहीं त बिरामी भेट्न पुगिंदैनथ्यो,’ उनी सुनाउँछन् ।

तर कतारले विश्वकप आयोजना गर्ने मौका पाउनु नै ठूलो कुरा भएको उनी बताउँछन् । ‘कतारले तयारी थालेसँगै खेलकुदको बारेमा जनचेतना फैलाउने एक राम्रो अवसर बनेर कतारमा यो विश्वकप आउँछ । यो एउटा ट्रेण्ड नै भइसकेको छ । विश्वकप भइसकेपछि पनि यो क्रम जारी रहोस्,’ उनी भन्छन् ।

मध्यपूर्व घुम्ने राम्रो मौका

प्यालेस्टाइनी नागरिक स्माइल केडस ब्राजिलमा जन्मिएर दोहामा हुर्किएका हुन् । पेसाले शिक्षक उनी विश्वकप अन्य मुलुकका नागरिकका लागि मध्यपूर्व घुम्ने राम्रो अवसर भएको बताउँछन् ।

‘फुटबल प्रशंसकलाई अरबी संस्कृति जान्ने मौका हुनेछ । यो कतारका लागि मात्रै नभई सम्पूर्ण अरबका लागि गौरवको विषय हो,’ उनी भन्छन् ।

हबिबी कतार आऊ’

हबिबी अर्थात् अरबी भाषामा ‘मायालु तिमी पनि कतार घुम्न आऊ’ भन्छिन् फ्रान्सकी ३१ वर्षीया ट्राभल प्लानर अरेली ।

दोहामा विश्वकपको रौनक देखेर उनले अरुलाई पनि कतार घुम्न आउन आग्रह गरेकी छन् । तर कतारमा विश्वकप सुरु भएपछि घरधनीले घरभाडा बढाएर तनाव भएको पनि उनले बताइन् । ‘जीवन एकदमै महंगो भएको छ । घरधनीले घरभाडा बढाएका छन् । हुन त कतारमा सबै कुरा महँगो छ ग्यास बाहेक,’ उनी भन्छिन् ।

विश्वकपका लागि संरचना निर्माण गर्ने क्रममा ट्राफिक डाइभर्सनको समस्या भने अति भोगेको उनले बताइन् । ‘यो पहिलो पटक हो, जहाँ एकदेखि अर्को रंगशाला निकै नजिक छन् । जसले गर्दा हरेक टिमको समर्थकले बस वा ट्रेनको माध्यमबाट रंगशाला पुग्न सक्छन् । उनीहरुलाई यात्रा गर्न निकै सहज हुनेछ,’ उनले भनिन् ।

अल जजिराबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?