+
+

उपत्यकामा वाम बिजोग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर ८ गते १९:५०
काठमाडौं-९ बाट जितेका नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ

८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाले हरेक चुनावमा नयाँ सन्देश दिने गर्छ । २०६४ सालयताकै चुनाव हेर्दा पनि हरेक पटक यहाँका मतदाताले निरन्तर निर्णय बदलिरहेका छन् ।

यसपटक उपत्यकाका मतदाता वामपन्थीका लागि निर्मम भएर प्रकट भए । नेपाली कांग्रेसले भने आफूलाई बलियो बनाउन सफल भएको छ । २०६४ सालमा ७ सिट जितेको माओवादी यसपटक शून्य भएको छ । २०७४ को चुनावमा ९ सिट जितेको एमालेले जम्मा दुई सिट जित्यो । भक्तपुर-१ भने नेमकिपाको सुरक्षित किल्ला कायमै छ । त्यहाँबाट प्रेम सुवाल निर्वाचित भए ।

उपत्यकाका १५ वटै सिटमा उम्मेदवार खडा गरेको एमाले दुई सिटमा विजयी भएको छ । वाम लोकतान्त्रिक गठबन्धन बनाएर उपत्यकाका १५ मध्ये ७ सिटमा उम्मेदवार खडा गरेको माओवादी केन्द्र सबैतिर पराजित भएको छ ।

यसपटक एमाले विभाजन गरेर गठन भएको नयाँ दल नेकपा एकीकृत समाजवादीले उपत्यकाका दुई क्षेत्रमा उम्मेदवारी दिएको थियो । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिंदा पनि निवर्तमान सांसदद्वय जीवनराम श्रेष्ठ काठमाडौं-९ र कृष्णलाल महर्जन ललितपुर-२ बाट पराजित भए ।

उपत्यकाभित्र कांग्रेसले काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरमा १ सिट जितेर आफूलाई पहिलो शक्ति बनाउन सफल भएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) दोस्रो शक्तिका रूपमा उदाएको छ । उसले काठमाडौंका ४ र ललितपुरको एउटा निर्वाचन क्षेत्रमा जित निकाल्न सफल भएको छ ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा अप्रत्यासित मत पाउँदै माओवादी पहिलो शक्ति बनेको थियो । त्यसबेला उपत्यकाका १५ मध्ये ७ निर्वाचन क्षेत्रमा माओवादीले जितेको थियो । ललितपुरका तीनै क्षेत्र माओवादीले जित्यो । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र रहेको उपत्यकामा त्यसबेला एमाले शून्य भएको थियो ।

२०७० सालको चुनावमा एमालेले नतिजामा सामान्य सुधार गर्दै तीन सिट जित्यो । त्यसबेला एमालेका माधव नेपालले रौतहट र काठमाडौं-२ बाट चुनाव जितेका थिए । तर माधव नेपालले रौतहट रोजेपछि भएको उपचुनावबाट एमालेले काठमाडौं-२ गुमायो ।

त्यसपछि २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा माओवादी एकैपटक शून्यमा पुग्यो । २०७४ मा सम्पन्न चुनावमा उपत्यकामा माओवादी केन्द्रले एक सिट जित्यो । उपत्यकाका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी एमालेसँग वाम गठबन्धन गर्दा पनि ललितपुर-३ मा मात्रै जित निकाल्न सफल भयो ।

एमालेले वाम गठबन्धनको बलमा थप सुधार गरेर पहिलो शक्ति बन्यो । उपत्यकामा एमालेले प्रतिनिधिसभाका १५ मध्ये ९ सिट र प्रदेशसभातर्फ ३० मध्ये २३ सिट जित्यो ।

काठमाडौं-१ (कांग्रेस) : दोहोरिए प्रकाशमान

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह दोहोरिएका छन् । राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, रास्वपाका पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेलको चुनौती चिर्दै सिंह १२५ मतान्तरले विजयी भए ।

सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला सिंहले मिश्रलाई ८१८ मतान्तरले हराएका थिए ।

काठमाडौं-२ (रास्वपा) : सुशासनको नारा अनुमोदन

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ ले यसपटक सुशासनको एजेन्डामा चुनाव लडेकी रास्वपा उम्मेदवार सोविता गौतमलाई निर्वाचित गरेको छ । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्ती र एमालेका मणिराम फुयाँललाई चक्मा दिंदै गौतमले चार हजारको मतान्तरसहित जित निकालिन् । गौतमले १५ हजार २२९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् ।

काठमाडौं-३ (कांग्रेस) : मेयरले पन्छाए सांसद

काठमाडौं-३ बाट गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर नेपाली कांग्रेसका सन्तोष चालिसेले नेकपा एमालेका निवर्तमान सांसद कृष्ण राईलाई पराजित गरेका छन् । चालिसेले १५ हजार १५८ मत पाउँदा निर्वतमान सांसद राईले ११ हजार १९६ मत पाएका छन् ।

यस क्षेत्रमा नयाँ दल र स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएनन् । माओवादी केन्द्रका बद्री बजगाईंले बागी उम्मेदवारी दिए पनि निष्क्रिय बनाइएको थियो ।

काठमाडौं-४ (कांग्रेस) : प्रधानमन्त्री ‘कार्ड’को अनुमोदन

पुरानै प्रतिस्पर्धी दोहोरिएको काठमाडौं-४ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार गगन थापा दोहोरिएका छन् । आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर चुनावमा होमिएका थापाले चिरपरिचित प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराईलाई फराकिलो मतान्तरमा पराजित गरे ।

थापाले २१ हजार ३०२ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मतमा प्राप्त गरे । यहाँ रास्वपाबाट अरुण श्रेष्ठले पहिले उम्मेदवारी दिए पनि उनले पछि फिर्ता लिएका थिए ।

काठमाडौं-५ (कांग्रेस) : प्रदीपले हराए ईश्वर

कांग्रेसका युवा नेता प्रदीप पौडेल गृहजिल्ला तनहुँबाटै चुनावी प्रतिस्पर्धामा सहभागी हुन चाहन्थे । तर नेता रामचन्द्र पौडेलले नचाहेपछि एमालेका ‘हेभिवेट’ ईश्वर पोखरेलसँग लड्न काठमाडौं-५ मा आउनुपर्‍यो । छोटो समयको तयारी, पार्टीभित्र अरूले छोड्दा रोज्नु परेको निर्वाचन क्षेत्र हुँदा पनि पौडेलले सहज जित निकालेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष र यही क्षेत्रका निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत पाए भने पौडेलले १५ हजार २३७ मत पाएर विजय हासिल गरे । यसअघि पोखरेलसँग कांग्रेसका प्रकाशशरण महत पराजित भएका थिए । त्यसअघि भने यो क्षेत्रबाट कांग्रेसका प्रखर नेता नरहरि आचार्यले जित्दै आएका थिए ।

काठमाडौं-६ (रास्वपा) : शिक्षाप्रेमीलाई जनमत

टिच फर नेपाल संस्थामार्फत तुलनात्मक हिसाबले कमजोर गुणस्तर रहेका ग्रामीण भेगका विद्यालयमा स्वयंसेवक शिक्षकमार्फत पढाउने काम गर्दै आएका शिशिर खनालले विजय हासिल गरे । रास्वपाका उम्मेदवार खनालले ती विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजीजस्ता विषयका अब्बल शिक्षक खोजेर अध्यापन गराउने काम गर्छन् ।

खनालले निवर्तमान सांसद कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई पराजित गरे । प्रधान पूर्वरक्षामन्त्री र खनाल नेपाल प्रहरीको पूर्वप्रमुख हुन् । तर मतदाताले शिक्षाप्रेमी उम्मेदवार खनाललाई रोजेका छन् ।

खनालले १४ हजार २०४ मत पाए भने एमाले उम्मेदवार खनालले ८ हजार ९११ मत पाए । प्रधान ८ हजार ८०५ मतसहित तेस्रो भए । २०७४ को चुनावमा प्रधानले माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए ।

काठमाडौं-७ (रास्वपा) : चर्चितलाई पछार्दै व्यवसायी विजयी

वामपन्थी पार्टीहरूले निर्वाचन जित्दै आएको यस क्षेत्रले यसपटक रास्वपाका गणेश पराजुलीलाई रोजेको छ । सत्तारुढ गठबन्धनबाट मानुषी यमी भट्टराई उम्मेदवार थिइन् ।

युवा, अध्ययनशील र गठबन्धनको साथ भएका कारण मानुषीले चुनाव जित्ने पूर्वानुमान थियो । एमालेले पनि आन्तरिक विवादका कारण आकांक्षी निवर्तमान सांसद रामवीर मानन्धरलाई लत्याएर श्यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको थियो ।

तर मतदाताले रास्वपाका पराजुलीलाई ८ हजार ७४३ मत दिएर विजय गराए भने एमाले उम्मेदवार घिमिरेले ६ हजार ८ सय र मानुषीले ६ हजार ६३ मत प्राप्त गरिन् । साथै यही क्षेत्रबाट उम्मेदवार बनेका पुराना वामपन्थी र जसपाका नेता रहेका राजेन्द्रप्रसाद श्रेष्ठ दुई हजार ४६१ मतमा समेटिए । निवर्तमान सांसद मानन्धर त प्रतिस्पर्धामा समेत आउन सकेनन् ।

काठमाडौं-८ (रास्वपा) : वैकल्पिक राजनीतिको जग

एकीकृत समाजवादीमा रहेका नेता तथा निवर्तमान सांसद जीवनराम श्रेष्ठ र स्थानीय सम्पदाको विषय उठाएर चर्चामा रहेका सुमन सायमीबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको काठमाडौं क्षेत्र नम्बर ८ ले रास्वपाका विराजभक्त श्रेष्ठलाई रोजेको छ ।

निर्वाचित श्रेष्ठ वैकल्पिक राजनीति भन्दै २०७४ सालदेखि दिवंगत भएका उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागेका थिए । विवेकशील साझा छिन्नभिन्न भएपछि उनी गत स्थानीय तहको चुनावपछि रास्वपामा जोडिए ।

श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी हुँदा हाम्रो नेपाली पार्टीका सायमी ६ हजार १७४ मत पाएर निकटतम प्रतिस्पर्धी बने । सत्ता गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठ ४ हजार २६६ मत सहित तेस्रो भए । यस क्षेत्रबाट एमालेका उम्मेदवार शिव सुन्दरराज वैद्य प्रतिस्पर्धामै आउन सकेनन् ।

निर्वतमान सांसद श्रेष्ठले अघिल्लो निर्वाचनमा कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए ।

काठमाडौं-९ (एमाले) : कृष्णगोपालको चौथो जित

उपत्यकाभर पराजय भोग्दा पनि काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले चौथो जित निकालेका छन् । उनले वाम लोकतान्त्रिक गठबन्धनकी कल्पना धमला, रास्वपाका टेकबहादुर पोखरेल, राप्रपाका देवेन्द्र प्रधान र साझा पार्टीका मिलन पाण्डेलाई पराजित गरे । धमला र पाण्डेसँग प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो ।

श्रेष्ठले ११ हजार ९५६ मत पाए भने निकटतम प्रतिस्पर्धी रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाए । गठबन्धनकी उम्मेदवार धमला ६ हजार ४०२ मतसहित तेस्रो भइन् भने राप्रपाका देवेन्द्र प्रधान ४ हजार ७८५ सहित चौथो र पाण्डे २ हजार ३२७ मतमा समेटिए ।

उनी यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौ-५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौ-७ बाट निर्वाचित भएका थिए । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

काठमाडौं-१० (कांग्रेस) : राजनको ह्याट्रिक

पहिलो संविधानसभा निर्वाचनमा माओवादीको लहर आउँदा काठमाडौं-१० र रोल्पाबाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष प्रचण्ड दुवै क्षेत्रबाट विजयी भए । उनले काठमाडौं-१० त्यतिबेला कांग्रेस उम्मेदवार राजन केसीलाई चुनाव हराएका थिए । तर त्यसपछि २०७० सालमा उनै प्रचण्डलाई चुनाव हराएका केसीले यसपटक ह्याट्रिक गरेका छन् ।

देशभर चुनावी तालमेल हुँदा पनि काठमाडौं-१० मा माओवादी केन्द्रले छुट्टै उम्मेदवारी दियो । माओवादीबाट अञ्जना विशंखे र एमालेबाट हिमेश केसी उनीसँग प्रतिस्पर्धामा उत्रिएका थिए ।

तर केसी १४ हजार ४५८ मतसहित विजयी भए । एमाले उम्मेदवार केसीले ११ हजार ७८६ र रास्वपाका प्रदिप विष्टले ८ हजार ७२६ मत ल्याए । त्यस्तै राप्रपाका बलराम थापाले ६ हजार ५६ र माओवादीकी विशंखेले ५ हजार २६२ मत प्राप्त गरिन् ।

ललितपुर-१ (कांग्रेस) : उदयशमशेरले फर्काएको साख

मत बदलिरहने ललितपुर-१ ले पनि यसपटक गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई रोज्यो । अघिल्लो निर्वाचनमा प्रहरी संगठनमा अन्याय भयो भनेर राजनीतिमा आएर एमालेबाट उम्मेदवार बनेका नवराज सिलवाललाई रोजेको यो क्षेत्र यसपटक त्यसअघिका सांसद राणामा फर्कियो ।

राणा र सिलवाल चिरपरिचित प्रतिद्वन्द्वी हुन् । सिलवालले २०७४ मा वाम गठबन्धनबाट माओवादीको साथ पाए भने प्रहरीमा अन्याय भएको भनेर सहानुभूतिको मत पनि पाए । तर यसपटक उनी रोकिएका छन् । यसपटक निर्वाचित राणाले २३ हजार ९९२ मत पाए भने पूर्व डीआईजी सलवालले १९ हजार २६६ मत पाए ।

ललितपुर-२ : सहयात्रीलाई रोक्दै विजयी

ललितपुर-२ ले यसपटक नयाँ विकल्पमा जान खोज्दाखोज्दै पनि मत विभाजन भएपछि त्यसको फाइदा एमालेले उठाउन सफल भएको छ । यसअघि निरन्तर दुई कार्यकाल एमालेबाट चुनाव जितेर हाल एकीकृत समाजवादीबाट उम्मेदवार बनेका निर्वतमान सांसद कृष्णलाल महर्जनलाई पराजित गर्दै एमालेका उम्मदेवार प्रेमबहादुर महर्जन विजयी भए ।

महर्जनद्वय कम्युनिष्ट आन्दोलनका सहयात्री पनि हुन् । एमालेमा हुँदा सँगै राजनीति गरेका कृष्णलाल पार्टी विभाजन भएर एकीकृत समाजवादीमा लागेपछि प्रेमबहादुरले टिकट पाए । घण्टी र लौरो चुनाव चिन्हबाट नयाँ प्रतिस्पर्धी समेत मैदानमा आएपछि कृष्णलाल प्रतिस्पर्धामा पनि आउन सकेनन् । बरु घण्टी र लौरो चुनाव चिन्ह भएका उम्मेदवारमा मत बाडिंदा एमालेले संगठनको मत बटुल्ने अवसर पायो ।

एमालेका महर्जनले १५ हजार २५ मत पाएर विजयी भए भने हाम्रो नेपाली पार्टी (लौरो) का उम्मेदवार सुदिन शाक्यले ८ हजार ८८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का बुद्धरत्न महर्जन ८ हजार ६६६ मत ल्याएर तेस्रो हुँदा कृष्णलालले ८ हजार २६४ मत पाएर चौथो भए ।

ललितपुर-३ : युवा क्रेजको अनुमोदन

यसपटक ललितपुर-३ ले ठूला पार्टी र ‘हेभिवेट’ भनिएकी वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार पम्फा भुसाललाई पाखा लगाउँदै रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीलाई जिताएको छ । भुसाल यसै क्षेत्रकी निवर्तमान सांसद मात्रै होइन माओवादी केन्द्रकी उपमहासचिव र हाल ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री समेत छिन् ।

एमालेले संगठनात्मक मत रहेको भन्दै जितको आशा गरेर अमृत खड्कालाई उम्मेदवार बनाएको थियो । उनले कार्कीसँग निकटतम प्रतिस्पर्धा गर्न भने सफल भए । विजयी कार्कीले १८ हजार ४७७ मत पाइन् भने एमालेका खड्काले ९ हजार ४२२ मत पाए । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार भुसालले तेस्रो हुँदै ६ हजार ४२५ मत प्राप्त गरिन् ।

कार्कीसँग शिक्षा र स्वास्थ्यका क्षेत्रका डा. गोविन्द केसीले गरेका आन्दोलनमा सहभागी भएको विगत छ । चुनावका समयमा मेडिकल काउन्सिलमा भत्ता बुझ्ने विषय लाभको पद हो वा होइन भन्ने विषयमा निर्वाचन आयोगमा परेपछि उनको चर्चा थप चुलिएको थियो ।

उक्त उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज नै गरेको थियो । सर्वोच्च अदालतले आयोगको व्याख्या उल्ट्याउँदै उम्मेदवारी कायम गर्ने गरी आदेश दियो । चुनावी प्रचारक क्रममा उनीप्रति युवा वर्गले देखाएको समर्थनलाई मतदाताले पनि अनुमोदन गरिदिएका छन् ।

भक्तपुर-१ (नेमकिपा) : जब्बर विरासतको निरन्तरता

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को जब्बर विरासत भएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ २०४८ सालयताका हरेक चुनावमा एउटै दललाई रोज्दै आएको छ । यसपटक पनि यो क्षेत्रले नेमकिपाका प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा दोहोरिएका छन् ।

सुवालले ४२ हजार ७६१ मत पाए भने एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए । राप्रपाका भरत बहादुर खड्काले ९ हजार ३०३ र माओवादीका सुनिल गोठेले ५ हजार २८३ मत ल्याए ।

भक्तपुर-२ (कांग्रेस) : दुर्लभको जित, महेशको हार

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ पछिल्ला चुनावहरूमा आफ्नो मत निरन्तर बदलिरहेको छ । विगतमा नेमकिपाको किल्लाका रूपमा परिचित यो क्षेत्रले २०६४ सालयता बदल्दै आएको आफ्नो मत यसपटक कांग्रेसलाई दिएको छ ।

अघिल्लोपटक एमाले उम्मेदवार महेश बस्नेतले जितेको यस क्षेत्रबाट यसपटक उनीविरुद्ध उठेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा क्षेत्रीले जितेका छन् । थापाले २३ हजार ५०० मत पाए भने बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापामगरले ६ हजार १६६ मत पाइन् भने रास्वपाका साजन विकले ३ हजार ८३० मत प्राप्त गरे ।

यसअघि बस्नेतले पूर्वसभामुख समेत रहेका कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका थिए । त्यसअघि २०७० को निर्वाचनमा कांग्रेसकै रामेश्वर ढुंगेलले चुनाव जितेका थिए भने २०६४ सालमा नेमकिपाका सुनिल प्रजापतिले चुनाव जितेका थिए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?