+
+

‘विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

कतारमा फुटबल भइरहेको छ रे ! त्यहाँ रंगशाला बनाउन रगत, पसिना बगाउँदा मेरो श्रीमान्‌को मृत्यु भयो । खेल हेरेर संसारका मानिस रमाइरहेका होलान्, म र मेरो परिवारका लागि यो रमाइलो कुरा रहेन । हामी त रुन्छौं मात्रै ।

सिर्मिता पासी, कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती सिर्मिता पासी, कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती
२०७९ मंसिर ९ गते १७:५१

मेरो नाम सिर्मिता पासी । घर नेपालगञ्ज उप-महानगरपालिका वडा नं १७ । मेरा श्रीमान् रामसागर पासीको रोजगारीका लागि कतार पुगेका बेला २०७९ जेठ अन्तिम साता ‘हार्ट एट्याक’ भएर मृत्यु भयो ।

बिहान ८ बजेतिर कुरा गर्दा छाती दुखिरहेको छ भन्नुभएको थियो । मैले चेकजाँच गरेर औषधि खानु भनेकी थिएँ । हुन्छ भन्नुभएको थियो । त्यसपछि फोन आएन । एकै पटक १२/१ बजेतिर मृत्यु भयो भन्ने खबर आयो ।

के भएर मृत्यु भयो भन्दा ‘हार्ट अट्याक’ भएर भन्ने खबर आयो । हामीलाई त्यही मात्रै थाहा छ । त्यस बाहेक अरू केही थाहा छैन । मृत्युको खबर आएपछि मैले हारगुहार गरें । गाउँकै नेताहरूको पहलमा १०-१२ दिनपछि शव आयो । काम गर्ने कम्पनीले किरिया खर्चसम्म पनि दिएन ।

किरिया गर्नका लागि पनि ऋण नै खोज्नु पर्‍यो । इन्स्योरेन्सको १० लाख बल्ल हामीले पायौं । तर त्यो पैसा पनि मैले पाइनँ । श्रीमतीको बिश्वास हुँदैन, स-साना बच्चा छन्, भोलि बच्चा छोडेर अर्काे विवाह गरेर गई भने बच्चाको विचल्ली हुन्छ भनेर आफन्तहरूले बच्चाहरूकै नाममा बैंक खाता खोलेर राखिदिएका छन् ।

मेरा दुई बच्चा छन्, ९ वर्षकी अर्चना र ६ वर्षको अंकित । कच्ची घर बाहेक जग्गा-जमिन छैन । मैले अरूको खेतबारीमा ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएकी छु । घर बनाउने र जग्गा किन्नका लागि पैसा जुटाउन श्रीमान् विदेश जानुभएको थियो ।

मासिक १० प्रतिशत ब्याजमा २ लाख ऋण दिएर जानुभएको थियो । सुरुमा जाँदा २ लाख ३० हजार खर्च लागेको थियो । छुट्टीमा आएर फेरि जाँदा पनि थप १ लाख लागेको थियो । श्रीमान्‌ले कतारमा ४ वर्ष नै लेबरको रूपमा काम गर्नुभयो । श्रीमान्‌ले काम गर्ने कम्पनीले कतारमा बिश्वकप फुटबलका लागि खेल खेलाउने ठाउँ बनाउने काम गथ्र्यो ।

नेपालबाट कतार पठाउने नेपालगञ्जमै एजेन्ट भएको लक्की म्यानपाबर कम्पनीले महिनाको १२÷१३ सय कतारी रुपैयाँ तलब हुन्छ भनेको थियो । तर, कतारमा पुगेपछि ६-७ सय मात्रै दियो । झन्डै दुई सालसम्म मासिक ६-७ सयमै काम गर्नुभयो । कमाइ नै कम भएका कारण विदेश जाँदा लिएको ऋण पनि तिर्न सकेनौं । ऋण लिएको २ लाखमा ब्याज माथि ब्याज थपिंदै गएर अहिले त ५-६ लाख पुगिसक्यो होला ।

मैले कत्ति पनि पढेकी छैन । मेरा बुवाआमाहरू धेरै नै गरिब हुनुहुन्छ त्यसैले हामीले पढ्नै पाएनौं । मैले पनि पढ्न पाइनँ । मेरा बच्चाहरूले राम्रोसँग पढ्न पाउन् भन्ने सोचेकी थिएँ ।

श्रीमान् विदेश गएर पैसा कमाएपछि बच्चालाई राम्रोसँग पढाउने, घर बनाउने र खेतीपातीका लागि जग्गा किन्ने सोच थियो । तर कमाउन गएका श्रीमान्‌को कतारमै मृत्यु भएपछि विदेश जाँदा लिएको ऋणसम्म तिर्न सकेकी छैन । श्रीमान्‌को मृत्यु भएसँगै सबै चाहना यत्तिकै भए ।

अहिले कतारमा फुटबल भइरहेको छ भन्ने सुनें । रंगशाला बनाउन मेरो श्रीमान्‌ले रगत–पसिना बगाउनुभयो । एउटा स्वस्थ मान्छे कतारमा काम गर्दागर्दै ‘हार्ट अट्याक’ हुने अवस्थामा पुग्नुभयो । मेरो श्रीमान्‌को मृत्यु भयो । रंगशाला पनि बन्यो । खेल हेरेर सारा मानिस रमाउँछन् होला तर म र मेरो परिवारका लागि रंगशाला र विश्वकप रमाइलो कुरा रहेन, हामी त रुन्छौं मात्रै ।

गरिब भए पनि आफ्नै देशमा मजदुरी, मिहिनेत गरेको भए हुने, न यति धेरै ऋण लाग्थ्यो न त श्रीमान् नै गुमाउनुपर्थ्यो । मैले श्रीमान्लाई विदेश पठाएर ठूलो गल्ती गरें । बिन्ती छ अरू कसैले पनि श्रीमान्, भाइ, छोरालाई विदेश नपठाउनुहोला । त्यहाँ ठगिने समस्या हुँदोरहेछ । अनि सरकारले पनि विदेशमा काम गर्ने मजदुरहरूको पीडा सुन्दो रहेनछ ।

(कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती सिर्मिता पासीसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?