+
+

यू-१९ राष्ट्रिय क्रिकेट : प्रतीकको शानदार ब्याटिङमा बागमतीको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १७:३०

९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा मध्यक्रमका ब्याट्सम्यान प्रतीक श्रेष्ठको शानदार प्रदर्शनमा बागमतीले प्रदेश नम्बर १ विरुद्ध ७२ रनको जित निकाल्यो ।

छैटौं क्रमका ब्याट्सम्यान प्रतीकले १०५ बल खेल्दै १० चौका र ९ छक्का प्रहार गर्दै १४२ रनको उत्कृष्ट पारी खेले । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६९ रनको बलियो लक्ष्य पेस गरेको थियो ।

बागमतीले दिएको २७० को बलियो लक्ष्य पछ्याएको प्रदेश १ ले ४९.१ ओभरमा १९७ रन बनाउँदै अलआउट भयो । प्रदेश १ का लागि कप्तान दीपेश कँडेलले सर्वाधिक ४७ रन बनाए । उनले ६६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । ओपनर सोनु अन्सारी र शुभम् गहतराजले क्रमशः १३ र २६ रन बनाए । इस्तेन रिजालले ३५ रन बनाए । उनले ८७ बल खेल्दै १ चौका प्रहार गरे । फेजल रहमान २४ रन बनाउँदै रनआउट भए । विपिन महतोले २२ बल खेल्दै २१ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

बागमतीका लागि सक्रिय कार्कीले सर्वाधिक ३ विकेट लिए । ओमकार यादवले २ विकेट लिए । बागमतीका लागि ओपनर सक्षम बस्ताकोटीले ४४ बल खेल्दै २३ रन बनाए । अर्का ओपनर लक्की कठायत ८ बलमै आशिष मगरको हातबाट बोल्ड भए । कप्तान अशोक पौडेलले ३९ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन बनाए ।

पाचौं क्रमका ब्याट्सम्यान योगेश भट्ट १४ रनमा एलबीडब्ल्यु भएपछि क्रिजमा आएका प्रतीक श्रेष्ठले छैटौं विकेटका लागि ओमकार यादवसँग शतकीय साझेदारी गरे । अन्य कुनै ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न नसके पनि प्रतीक एक्लैले बागमतीको रन उकासेका थिए । प्रदेश १ का लागि सोनु अन्सारी, विपिन महतो र दीपेश कँडेलले २/२ विकेट लिए ।

समान दुई खेल खेलेको प्रदेश १ ले पहिलो खेलमा गण्डकी प्रदेशलाई २१ रनले पराजित गरेको थियो । बागमतीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई नै ७४ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?