
९ मंसिर, काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाइनल प्रवेश गरेका छन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपीएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् ।
यस्तै अर्को खेलमा सेनाकी अनुले सेनाकै प्राथना देउवामाथि १७–२१, २१–१८, २१–१७ को कठिन जित निकाल्दै उपाधिका लागि रशिला सँगको भेट पक्का गरेकी हुन् ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।
शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल सेनाका दिवस शंकरलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका छन् । दाहालले शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यस्तै कास्कीका विधान अधिकारीले एपीएफका देवराज रानामाथि २१–१३, २१–११ को जित निकाल्दै सेमिफाइनलमा प्रिन्स दाहालसँगको भेट पक्का गरेका छन् ।
अर्को खेलमा सेनाका प्रफुल्ल महर्जन पुलिसका हिरा राईमाथि २१–१६ , २१–७ को सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
अव प्रफुलले फाइनल प्रवेशका लागि १६ फिदरका क्षितिज खनालको सामना गर्ने छन् । क्षितिजले सेनाका पविन लिनथेपमाथि २१–१२,२१–९ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यस्तै छात्रा यु १७ मा सेनाकी रिहाना शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।
अर्को खेलमा कैलालीकी रञ्जु राना र ललितपुरकी श्रेया बज्राचार्यविच भएको खेलमा रञ्जुले बाजी मारिन् । उनले १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाइनलमा उपाधिका लागि रिहानासँगको भेट पक्का गरेकी हुन् ।
यसै गरि छात्र तर्फ सेनाका कवीर के.सी. फाइनल प्रवेश गरे । कवीरले कैलालीका रोशन साउदलाई २१–१९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
अर्को खेलमा सेनाका अनिल मल्ले जित निकाले । अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५, २२–२० को जित निकाल्दै उपाधिका लागि कवीर सँगको भेट पक्का गरेका हुन् । भेट्रान ४५ बर्ष माथिको प्रतिस्पर्धामा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् ।
यस्तै कास्कीका राजेश गुरुङ्ग र शम्भूकुमार श्रेष्ठको जोडी र कालीका ब्याडमिन्टन क्लबका राम के.सी. र हरी खत्रीको जोडीले पनि अन्तिम ४ को यात्रा तय गरे । प्रतियोगिताको बाँकी सेमिफाइनल र फाइनल खेल शनिबार हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4