+
+

राजेन्द्र महतोलाई अर्को धक्का

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर १० गते २०:२०

१० मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् ।

धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् । विजयी महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजेन्द्र २१ हजार ५१८ मतमा सीमित भए ।

संविधानसभा निर्वाचन–२०७० मा पनि सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।

यद्यपि उनी राजनीतिमै सक्रिय रहने स्वकीय सचिव विन्दकिशोर साहले बताए । ‘चुनावमा हार जित हुनु स्वभाविक हो । सर्लाही फर्किएपछि जनताले उहाँलाई उत्साहजनक मत दिएको छ,’ साहले भने, ‘अब संगठन बनाउन लाग्ने र जनताकै बीचमै रहने भन्नुभएको छ ।’

२०७० मा चुनाव लड्दा राजेन्द्र सदभावना पार्टी नेपालका अध्यक्ष थिए भने महिन्द्र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष । मधेश आन्दोलनपछि मधेस केन्द्रित ६ दल मिलेर महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । राजेन्द्र र महेन्द्र एउटै दलका सहयात्री बन्न पुगे । २०७४ को निर्वाचनमा महिन्द्र सर्लाही–२ बाट लड्ने भएपछि राजेन्द्रले मधेश आन्दोलनको केन्द्र धनुषा ३ रोजे ।

मधेश आन्दोलनको रापतापको प्रभावले राजेन्द्र २ हजार ९०३ मतान्तरले विमलेन्द्रलाई पराजित गर्दै सांसद बने भने महिन्द्र सर्लाही-२ बाट चुनिएर आए । प्रतिनिधिसभाको त्यही कार्यकालमा मधेशकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि जसपाका नेताहरु दुई खेमामा विभावित भए । राजेन्द्र, महन्थ ठाकुरतिर लागे भने महिन्द्र, उपेन्द्र यादवतिर ।

उपेन्द्र यादव नेतृत्वको समूहले जसपाको वैधानिकता पाएपछि ठाकुर समूहले लोसपा बनायो । महिन्द्र भने पछिल्लो समय उपेन्द्रसँग पनि छुट्टिएर बाबुराम भट्टराईले बनाएको नेसपातिर लागेर माओवादीको चिह्नबाट चुनाव लडे ।

गत वैशाखको स्थानीय चुनावको नजिताले धनुषा ३ मा पार्टीको अवस्था कमजोर देखेपछि राजेन्द्र पनि सर्लाही-२ मा फर्किन चाहे । कारण थियो, अघिल्लो पटक आफूलाई जिताउन भूमिका खेलेकी जुली महतोले यो पटक धनुषा ३ बाट प्रत्यक्ष उम्मेदवार बन्न चाहनु र अनि एमालेसँग चुनावी तालमेलको प्रयास चल्नु ।

उम्मेदवारी दर्ताको २ दिनअघि जसपा एमालेतिर पुगेपछि लोसपाले सत्ता गठबन्धनमा स्पेश मात्र पाएन, धनुषा–३ लिएको पनि थियो । तर महतोले सर्लाही जाने निर्णय फेरेनन् ।

माओवादीले महिन्द्रलाई यो क्षेत्रमा उम्मेदवार बनाउने अडान लिएपछि राजेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार समेत बन्न सकेनन् । तर उनी मित्रवत् प्रतिस्पर्धा गर्न तयार भए । कांग्रेसका जंगीलाल राय लगायतको साथका कारण उनी चुनाव जित्नेमा आशावादी पनि थिए । सर्लाहीमा २०५१ यता लगातार ५ पटक चुनाव जितेर बलियो पकड बनाएका महेन्द्रँग पराजित भए ।

यो हारले पार्टीको नेतृत्व लिने राजेन्द्र महतोको योजनामा अवरोध आउन सक्ने नेताहरु बताउँछन् । किनकी ८० वर्ष पुगिसकेका लोसपा अध्यक्ष ठाकुर महोत्तरी-३ बाट चुनाव जितेर आएका छन् भने नेताहरु शरत सिंह भण्डारीले महोत्तरी- २ र सर्वेन्द्रनाथ शुक्लाले पनि रुपन्देही–४ मा चुनाव जितेका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?