+
+

ओलीले सफल पारे महोत्तरी १ मा माओवादी किल्ला ढाल्ने रणनीति

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर १२ गते १७:५३
केपी ओली र लक्ष्मी महतो ।

१२ मंसिर, जनकपुरधाम । मधेशका आठ जिल्ला मध्ये महोत्तरी नेकपा एमालेको कमजोर आधार भएको जिल्ला थियो । झन् बर्दिबास नगरपालिका र गौशाला नगरपालिका पर्ने महोत्तरी क्षेत्र नं. १ मा नेकपा एमाले दोस्रो कहिल्यै भएन । सो क्षेत्र नेकपा माओवादी केन्द्रको लालकिल्ला थियो । प्रमाण हुन् नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल ।

फलस्वरुप पोखरेलले २०६४ यता लगातार तीनपटक चुनाव जिते । २०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालीन एकता केन्द्र मसालबाट, २०७० को दोश्रो संविधानसभा र २०७४ को संसदीय चुनाव माओवादी केन्द्रबाट ।

उनको राजनीतिक प्रभावले २०७४ को स्थानीय तहको निर्वाचनमा बर्दिबास र गौशाला नगरपालिकामा पनि माओवादी केन्द्रले जीतको झण्डा फहरायो ।

तर गत वैशाख निर्वाचनमा बर्दिबास र गौशाला नगरपालिका माओवादी केन्द्रले गुमायो ।

बर्दिबास कांग्रेसका बागी स्वतन्त्रले जिते भने गौशाला जसपाले । पछिल्लो मधेश आन्दोलन यता बर्दिबास नगरपालिका मधेश प्रदेशको मध्यविन्दुको रुपमा चिनिन्छ । त्यही भएर एमाले माओवादीको लालकिल्ला ढाल्न र आफ्नो कब्जामा जमाउने दाउमा थियो । यसको लागि कुनै न कुनै प्रभावशाली पात्र चाहिन्थ्यो, जसको खोजमा थियो एमाले ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलादेखि यो रणनीतिमा थिए । उनले आफ्नो पहिलो चासो पोखरेलका बलिया निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका पार्टी (जसपा) का नेता लक्ष्मी (लझ्मी) महतोतर्फ दिए । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए । पोखरेलसँग लक्ष्मी ४ हजार २८४ मतअन्तरले पराजित भएका थिए । पोखरेलले २३ हजार ७७६ मत पाएका थिए भने लक्ष्मीले १९ हजार ४९२ मत । तेश्रोमा रहेका कांग्रेस उम्मेदवार सिताराम भण्डारीले ९ हजार ४७५ मत ल्याएका थिए ।

ओली प्रधानमन्त्री छँदा नै लक्ष्मीलाई पहिलो प्राथमिकता दिनुको कारण हो उनी यस क्षेत्रका प्रभावशाली निडर नेता र विगतका पोखरेलका बलिया प्रतिस्पर्धी । पछिल्लो समय गत स्थानीय चुनावमा लक्ष्मीले आफ्ना छोरा दिपेन्द्र महतोलाई जसपाबाट जिताएका छन् । पछिल्लो समय ओलीको रोजाइमा लक्ष्मी नै पर्नुको दोश्रो कारण छोरा मेयर हुनु थियो ।

जसकारण गत मंसिर ४ गते सम्पन्न निर्वाचनका उम्मेदवार बनाउने आश्वासनसहति पटक पटक ओलीले लक्ष्मीलाई पार्टीमा आउन अफर गरे । तर, एमाले मधेश विरोधी पार्टी रहेको ट्याग लागेका भन्दै लक्ष्मी इच्छुक थिएनन् । जुन कुरा लक्ष्मीले स्वयम् चुनावी घरदैलोको क्रममा अनलाइनखबरसँग सुनाएका थिए ।

‘एमालेले मलाई पहिलादेखि नै टार्गेट गरेको थियो । प्रधानमन्त्री ओलीले नै आफ्नो पार्टीमा तान्ने प्रयासमा हुनुहुन्थ्यो । म काठमाडौं जान्थे । तर लुकेर आउँथे’, लक्ष्मीले भनेका थिए ।

लक्ष्मी जान नचाहेपछि ओलीको टार्गेटमा परे गिरिराजमणि पोखरेलका निकटतम सहयोगी एवं विश्वासपात्र शंकर महतो । शंकरले पोखरेललाई तीनवटा चुनाव जिताउन अहम् भूमिका खेलेका थिए । त्यसै कारण पोखरेल पटक पटक मन्त्री हुँदा निजी सचिवालयमा रहेर शंकरले काम गरे । शंकर यस क्षेत्रको प्रायः पोखरेलको बागडोर नै सम्हालेका थिए ।

गिरिराजमणि पोखरेल ।

गत स्थानीय चुनावमा शंकर माओवादी केन्द्रबाट बर्दिबास नगरप्रमुखको आकांक्षी थिए । तर पोखरेलले उनलाई उम्मेदवार बनाउन भूमिका नखेलेको भन्दै असन्तुष्ट थिए । एमालेले शंकरलाई आफूतिर तान्न आगामी प्रतिनिधिसभाको उम्मेदवार बनाउने आश्वासन दियो । माओवादी केन्द्रका मधेश प्रदेश सदस्य एवं वाईसीएलका प्रदेश अध्यक्ष समेत रहेका शंकर आफ्नो राजनीति भविष्य पोखरेलसित लागेर दिगो देखेनन् । एमालेमा जान इच्छुक भए । गत साउन ३१ गते सुटुक्क काठमाडौं गए र ओलीबाट टिका थापेर एमाले प्रवेश भए ।

तर, पनि लक्ष्मीलाई आफूतिर तान्ने लक्ष्य ओलीले छाडेनन् । शंकर आइसकेको र लक्ष्मी आइसके एमालेले यो क्षेत्र जित्ने प्रवल सम्भावना देखे ओली । त्यस प्रयासमा ओली तल्लिन रहे । चुनावको मनोनयन दर्ता पूर्व जसपा एमाले तालमेल अघि बढ्यो । आफ्नो आधार क्षेत्र कमजोर भए पनि एमालेले यो क्षेत्रको दावी छाडेन । एमालेको भागमा क्षेत्र पर्‍यो । लक्ष्मी जसपाबाट चुनाव लड्ने मुडमा थिए । तर जसपाकै भागमा नपरेपछि लक्ष्मीलाई एमालेले अफर गर्‍यो । दुबै दलको गठबन्धन हुँदा एमालेकै उम्मेदवार बन्न लक्ष्मी पछाडि परेनन् । मनोनयन दर्ताको पूर्वसन्ध्यामा असोज २२ गते राति लक्ष्मी जसपा छाडेर एमाले छिरे ।

धनुषाको सखुवा महेन्द्रनगरको एक घरमा एमाले सचिव रघुवीर महासेठले उनलाई पार्टीमा भित्र्याए । र प्रतिनिधिसभा सदस्यको टिकट प्रदान गरे । मनोनयन दर्ता गराएर लक्ष्मी चुनावी मैदानमा होमिए । उनले भने, ‘चुनाव लड्ने तयारीमा म पहिलादेखि नै थिएँ । जसपा एमालेको गठबन्धन भएर एमालेको भागमा यो क्षेत्र परेपछि म स्वतन्त्रबाट उम्मेदवारी दिने मनसाय बनाएको थिएँ । तर एमालेबाट फेरि अफर अयो । अन्त समयमा एमालेले मलाई टिकट दियो । चुनावमा हामफालें ।’

टिकट नपाए पनि दिगो राजनीतिका लागि पार्टीप्रति आफ्नो विश्वास बनाउन शंकर लक्ष्मीलाई जिताउन कम्मर कसेर लागे । पोखरेलले यस क्षेत्रमा बनाएको आफ्नो राजनीतिको धेरै सूचना शंकरसँग थियो । जसको कारण सोही अनुसार रणनीति बनाए । ओलीका विश्वासपात्र गुरु भट्टराईले पनि लक्ष्मीलाई जिताउन कम्मर कसेका थिए ।

फलस्वरुप एमालेका लक्ष्मीले १ हजार ३० मतले पोखरेललाई पराजित गरेका छन् । लक्ष्मी २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेल २२ हजार ३७२ मत पाएका छन् । लक्ष्मीलाई जसपाको सहयोग थियो भने सत्ता पोखरेललाई सत्ता गठबन्धनको । योसँगै माओवादी केन्द्रको १५ वर्षे लालकिल्ला एमालेले भत्काएको छ । तत्कालका लागि पोखरेलको संसदीय राजनीति यात्रामा पनि बिराम लागेको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?