+
+

३ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब पनि पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १५:२४

१३ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।

गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ ।

दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो । तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि हुँदा एनसीसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्डको इकाइ मूल्य ४.१८ प्रतिशतले बढेको छ ।

यता एनआईसी एशिया ब्यालेन्स फण्डको इकाइ मूल्य सर्वाधिक ४.६० प्रतिशतले गिरावट हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ३.६८ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ३.६३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?