
१४ मंसिर, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ ।
मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ ।
सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो ।
सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे ।
सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए ।
दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्रशिक्षकको भूमिकामा छन् ।
उनकै प्रशिक्षणमा सेनेगलले गत वर्ष अफ्रिकन कप अफ नेसन्सको उपाधि समेत जितेको थियो ।
यस पटक सेनेगलका कप्तान तथा स्टार फरवार्ड साडियो माने विश्वकपको मुखैमा आएर घाइते हुँदा सेनेगललाई सुरुमै झड्का लागेको थियो ।
त्यसपछि पहिलो खेलमै सेनेगल नेदरल्याण्ड्ससँग पराजित भयो । तर, सिसेको टिमले त्यसपछि कमब्याक गर्यो । दोस्रो खेलमा कतारलाई ३-१ ले र तेस्रो तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले हरायो ।
सिसेले सेनेगललाई कप्तान र प्रशिक्षकको रुपमा पनि अफ्रिकन कपको फाइनलमा पुर्याएका थिए ।
खेलाडीको रुपमा जित्न नसकेको अफ्रिकन कप उनले प्रशिक्षकको रुपमा जितेका थिए । अहिले उनी सेनगल फुटबलको लेजेण्डको रुपमा रहेका छन् ।
पूर्व मिडफिल्डर सिसेले खेलाडी हुँदा खासै सफलता पाउन सकेका थिएनन् । तर प्रशिक्षकका रुपमा भने उनले सेनेगललाई ठूलो उपलब्धि दिलाइसकेका छन् । साडियो माने र कालिडोउ कोउलीबेली जस्ता खेलाडीलाई उनले सही रुपमा सदुपयोग गर्दै आएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलेका उनले प्रिमियर लिगमा बर्मिङहम सिटी र पोर्ट्समाउथबाट समेत खेलेका थिए ।
खेलाडी हुँदा आफ्नै कप्तानीमा सेनेगललाई क्वाटरफाइनल पुर्याएका सिसेसामू प्रशिक्षकको रुपमा अझै ठूलो सपलता ल्याउने चुनौती र अवसर दुवै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4