 
																			१४ मंसिर, पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।
दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।
‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’
महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । ‘महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ,’ पाण्डेले भने ।
यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा बहस पनि गरिनेछ ।
संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइम्बिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा निःशुल्क प्रवेश गर्न पाइने छ ।
निर्देशक जिनेसका अनुसार यसपटक महोत्सवमा स्थानीलाई नै जिम्मेवारी दिएर अपनत्वबोध बनाउन खोजिएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्छौं, जुन बजारमा आएको छैन,’ उनले भने, ‘प्रचारप्रसार नभएका बस्तुहरु स्टलमा राख्दा त्यहाँ आउने दर्शकहरुले जानकारी पाउनुहुन्छ जसले गर्दा बिक्री वितरण र उत्पादनमा सहयोग गर्छ ।’
महोत्सवको सहसंयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने छिन् । मूल आयोजक समिति सदस्य सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटन सम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्वपूर्ण भूमिका निभाउने बताए ।
महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद् अध्यक्ष पोखरामा पर्यटकको संख्या बढाउन पनि महोत्सवले भूमिका खेल्ने बताए । उनले भने, ‘तीन वर्षमा हामीले पर्यटन कसरी डबल बनाउन सकिन्छ भन्ने विषयमा पनि बहसमूलक कार्यक्रम सन्चालन हुँदैछ,’ उनले भने, ‘यस्ता महोत्सव पोखराकै गहनाका रुपमा लिनुपर्छ ।’
यसपटकको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ राखिएको छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4