+
+
ब्लग :

इन्जिनियर मेयरले नबुझेको सामाजिक पक्ष

एउटा मेयरले आफ्नो शहरलाई म गरिबमुक्त शहर बनाउँछु, सुकिलामुकिला बस्ने शहर बनाउँछु भन्न पाउँछ तर त्यसका लागि शहरमा भएका गरिब, असहायहरूलाई खेदेर मात्र शहर सुन्दर बन्छ भन्ने सोच मूर्खतापूर्ण छ।

दिपज्योति श्रेष्ठ दिपज्योति श्रेष्ठ
२०७९ मंसिर १६ गते ९:३५

गत सोमबार र मङ्गलबार सामाजिक संजाल काठमाडौं महानगरपालिका र सुकुमबासीबीचको विवादले निम्त्याएको झडपको स्थितिले निकै तात्यो र अझै पनि तातिरहेकै छ। सामाजिक सञ्जालमा सुकुमबासीलाई लिएर भद्दा मजाकहरू भइरहेका छन्। सामाजिक सञ्जालमा सुकुमबासी र शहरी गरिबलाई आतंककारी, उच्छृंखल झुण्ड, हिंसा प्रवर्धक भनिरहेका छन्। कसैले करोडौंको जग्गामा आँखा लगाएको लान्छना लगाइरहेका छन् भने कसैले सुनका सिक्री लगाउने, विदेशमा छोराछोरी पढाउन सक्नेहरू कसरी सुकुमबासी हुन सक्छन्, मलाई पनि सुकुमबासी बनाइदेउ सरकार भनेर गिज्याउने खालका टिप्पणीहरू गरिरहेका छन्। तर मलाई भने महानगरले सुकुमबासी बस्तीमा यसरी डोजर आतंक मच्चाएको खबर सुन्नासाथ मेरो पुरानो अफिसमा काम गर्ने एक जना दिदीलाई झल्यास्स सम्झें।

उहाँ एकल महिला हुनुहुन्छ। एकल महिला माने श्रीमानले छोडेको। उहाँको घर नुवाकोट हो। उहाँले श्रीमानलाई छोडेर एक्लै जिन्दगी जिउने निर्णय किन गर्नुभयो मलाई थाहा भएन तर श्रीमान् छोडेर एक्लै बस्ने निर्णयले भन्दा पनि गाउँलेले उहाँमाथि तेर्स्याउने अनेकौं अपहेलनाका नजरहरूले उहाँलाई त्यहाँ बस्न सकस भयो। त्यही अपहेलनाबाट बच्न उहाँ धेरै वर्ष अघि एउटा सुन्दर भविष्यको खोजी गर्दै शहरको यो भीडमा आइपुग्नुभयो। उहाँले अरुको घरमा काम गर्दै, पछि अफिसमा काम गर्दै आफ्ना बच्चाहरूलाई पढाउनुभयो। यो शहरको भीडमा लगभग दुई दशकदेखि उहाँ यही बस्तीमा आफ्नो पीडा लुकाएर जीविकोपार्जन गरिरहनुभएको छ।

उहाँ मात्र होइन यस्ता बस्तीमा गाउँ समाजमा विभेद र अपमान भोगेर, आजित भएर शहरको हुलमा आफ्नो पीडा भुलाउँदै – शहरी धनीलाई सेवा दिंदै गुजारा चलाउने थुप्रै हुनुहुन्छ।

म केही वर्षअघि उहाँहरूको त्यो बस्तीमा भएको घर पुगेकी छु। त्यो बस्तीका अरु धेरै मान्छेहरूसँग भेटेकी पनि छु, उहाँहरूको कुरा सुनेकी पनि छु। सानो कोठा, बर्खामा चुर्लुम्म डुब्ने छाप्राहरू, बेला बेलामा उहाँहरूको उठिबास लागिरहन्छ कहिले ढलको बाढीले त कहिले डोजरले।

घरको महत्व कस्तो हुन्छ हामी धेरैले २०७२ को भूकम्पमा महसुस गरेकै हो। घर नहुँदाको आत्मसम्मान खस्किनु, घर ढल्दा स्वाभिमान ढल्नु, घरमा नहुँदा आफ्नो उठिबास उठ्नु, घर नहुँदा कस्तो बिचल्ली हुन्छ भूकम्पले घर ढाल्दा हामीले महसुस गरेकै हो भने अहिले अरुको घर ढालिंदै गर्दा हामी कसरी थपडी मारेर, खुच्चिङ्ग भनेर बस्न सक्छौं। म अझै स्तब्ध छु यो सोचेर। हामी कति चिसो मान्छे भएछौं नि।

थापाथलीको सुकुमबासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि समाचारहरूमा बस्तीको फोटोहरू आयो। ती फोटोहरू देखेपछि मनमा धेरै कुरा खेलिरह्यो। बच्चा च्यापेर आफ्नो सामानहरू बाहिर निकालिरहेका आमाहरूको बिचल्ली, किरिया सकाउन नपाएका परिवारहरूको बिजोग, आईमाई, अशक्त, वृद्धवृद्धाका दृश्यहरू हेर्दा र त्यहाँ भएको डरलाग्दो झडपले सोमबार रातभर मन खिन्न बनाइरह्यो।

शहरको मेयरसँग पाँच वर्ष छ काम गर्नको लागि। रातारात नायक बन्ने चक्करमा अरुको मानवअधिकार हनन र स्वाभिमानमा ठेस पुर्‍याउनुभएन। स्मार्ट नेतृत्वले समस्या समाधानको लागि नीतिगत विकल्पहरू खोज्छ, आफैं सहभागी हुन्छ र इनोभेसन गर्छ !

सामाजिक संजालहरूमा धेरैले ट्याटु हानेका आक्रामक केटाहरूको जत्था, सुनको सिक्री लगाएका गुण्डाहरू जस्ता मान्छे, राजनीतिक दलका अन्यत्रै घर भएका मान्छेहरू देखे भने मैले चाहिं गरिब, दलित, एकल महिला जो समाजबाट अपहेलित छन् उनीहरूको मौन रोदन महसुस गरें।

हुन त धेरैले सामाजिक संजालहरूमा उपदेश दिइरहेका छन् सार्वजनिक जग्गा हडप्नेहरूमाथि भावनात्मक हुनुहुँदैन, कुनै पनि किसिमको समवेदना राख्नुहुँदैन। तर पनि सहायताविहीनहरूका लागि यत्ति पनि मानवीय समवेदना राखिएन भने म के मान्छे। म उनीहरूको लागि केही गर्न सक्ने ल्याकत राखुँला नराखुँला त्यो अर्को पाटो हो तर कसैको लागि समानुभूति राख्न सक्नु पनि एउटा सुन्दर आँट हो जस्तो लाग्छ मलाई।

यो भन्दै गर्दा धेरैलाई लाग्ला त्यसो भए के त्यो हिंसा सुन्दर थियो त ? नगर प्रहरीहरूमाथिको हमला जायज थियो त, नाङ्गो खुकुरी तेर्स्याएर खुलेआम मर्ने मार्ने धम्की दिनु जायज थियो त ? अहँ थिएन र छैन पनि। त्यस्ता हिंसात्मक गातिविधिमा उत्रने र खुलेआम मार्ने धम्की दिनेलाई कारबाही गरिनुपर्छ। हिंसाको पक्षमा म मात्र होइन कोही पनि हुनुहुँदैन तर विडम्बना हाम्रो आँखाले त्यहाँको हिंसा मात्र देख्यो तर बस्तीका मान्छेहरूको मौन चीत्कार सुन्नै सकेन। विना विकल्प एक्कासि आफ्नो उठिबास लाग्दा कहाँ जाने, कसो गर्ने, कसरी सम्हालिने ?

सुकुमबासी बस्तीमा छिरेका दुई/चार बदनियत पात्रहरूलाई देखाएर ती तमाम भूमिहीनलाई जसरी फेसबुक, ट्वीटरमा अपमानित गरिन थालिएको छ, त्यो विडम्बनापूर्ण छ। अझ झन् हिजो निमुखाको निम्ति राजनीति गर्छु भन्नेहरू नै शहरबाट तिनलाई खेदाउन लागिपरेको देख्छु। यस्ता हर्कतले सुकुमबासीको समस्याको बहसलाई समाधानतिर भन्दा पनि अन्तैतिर मोडिदिइरहेका छौं कि जस्तो भान हुन्छ। यसले गर्दा अन्य सहारा खोजिरहेकाहरूलाई नजरअन्दाज गरिरहेका त छैनौं ? हामीलाई सुकिलामुकिला शहरिया विकास चाहिएको छ त्यो पनि आजको भोलि। हामीलाई अरुको घरमा डोजर चलेको, अरुको घर भत्केको, अरु बेघर भएको, अरुको कमाइखाने भाडो बन्द भएकोमा केही फरक पर्दैन किनकि हामीलाई गरिबहरू विकासको बाधक लाग्छ।

अनि सामाजिक संजालहरूमा कति सजिलो गरी हामी कमेन्ट गरिदिइहाल्छौं। उनीहरूको गाउँमा घर होला, जग्गा होला पठाइदिऊँ, उस्तै परे सुकुमबासी हो जुम्ला, हुम्ला, लिपुलेक, लिम्पियाधुरा कुन्नि कता कता पठाइदिउँ तर उनीहरू शहरको यो भीडमा आउन किन बाध्य भए हामीले त्यो पाटोबाट हेर्ने, सोच्ने प्रयास नै गरेनौं कि?

मान्छे ठूलो शहरको भीडमा किन आउँछ ? किनकि गरिब, दलित, एकल महिलाहरूलाई गाउँघरमा अपहेलना गरेको धेरै देखेकी छु। सायद त्यस्तो अपहेलनाबाट बच्न पनि मान्छे ठूलो शहरको भीडमा आउँछ। त्यस्ता धेरै जना यस्ता बस्तीमा पीडा लुकाएर बसेका छन्। तर हामीलाई त्यस्तोसँग के वास्ता किनकि हामीलाई उनीहरूको चीत्कारसँग कुनै समवेदना छैन। बरु हामीलाई त ‘लौ न यी सुकुमबासी भनाउँदाहरूले थापाथली जस्तो करोडौं मूल्य पर्ने ठाउँको जग्गामा कब्जा जमाउन किन दिने’ भन्नेमा चासो छ।

अनि उनीहरूको आवाज बन्नुभन्दा पनि यस्तो जग्गाको मोल कति पर्छ भन्ने हिसाब गर्नमा व्यस्त छौं। तर यस्ता बस्तीमा गाउँ समाजमा विभेद र अपमान भोगेर, आजित भएर शहरको हुलमा आफ्नो पीडा भुलाउँदै- शहरी धनीलाई सेवा दिंदै गुजारा चलाउने थुप्रै हुनुहुन्छ। यस्तो व्यक्तिहरूको बारेमा खोजीनिती गर्ने कहिले हामीले? उनीहरूको आवाज बनिदिने कहिले हामीले ?

हुन त सामाजिक र आर्थिक समस्याको समाधान डोजर हुँदै होइन। तर सौभाग्यवश हामीले इन्जिनियर मेयर पाएका छौं। इन्जिनियरिंग हिसाबले उनले डोजरले धेरै कुराको समाधान हुनसक्छ भन्न सक्लान्। एउटा मेयरले आफ्नो शहरलाई म गरिबमुक्त शहर बनाउँछु, सुकिलामुकिला बस्ने शहर बनाउँछु भन्न पाउँछ तर त्यसका लागि शहरमा भएको गरिब, असहायहरूलाई खेदेर मात्र शहर सुन्दर बन्छ भन्ने सोच मूर्खतापूर्ण छ। शहरमा सबै खाले मान्छे बसोबास गर्छन् झन् काठमाडौं त देशको राजधानी। यहाँ देशका विभिन्न भागबाट विभिन्न कारणले मान्छेहरू आएका हुन्छन्, मान्छेहरूले शहरको भीडमा आफ्नो स्वाभिमान (आत्मसम्मान) खोजिरहेका हुन्छन् र यहाँको मेयरको जिम्मेवारी हो कि ती सबै खालका मान्छेलाई व्यवस्थित गरेर शहरलाई सुन्दर बनाउने। शहरमा गरिबदेखि धनी सबै मान्छेहरू अट्नुपर्‍यो र सबैले सम्मानपूर्वक बाँच्न पाउनुपर्‍यो।

शहरको मेयरसँग पाँच वर्ष छ काम गर्नको लागि। रातारात नायक बन्ने चक्करमा अरुको मानवअधिकार हनन र स्वाभिमानमा ठेस पुर्‍याउनुभएन। स्मार्ट नेतृत्वले समस्या समाधानको लागि नीतिगत विकल्पहरू खोज्छ, आफैं सहभागी हुन्छ र इनोभेसन गर्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?