+
+

किमोथेरापीले काम गर्न छाडेपछि महान फुटबलर पेलेको स्वास्थ्य गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते २१:३१

१७ मंसिर, काठमाडौं । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । आन्द्राको क्यान्सरबाट पीडित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको छ ।

ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो ।

विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गरेका छन् ।

शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो । अस्पतालले विहीबार जारी गरेको बक्तव्यमा शताब्दीकै महान खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताए पनि उनकी छोरी केलीले चिन्ता मान्नुपर्ने आवश्यकता नभएको दावी गरेकी थिइन् ।

यद्यपी शनिबार ब्राजिलियन अखबार फोल्हा डी साओ पाउलोले आन्दाको क्यान्सरका कारण सेप्टेम्बरदेखि सुरु गरिएको किमोथेरापीले काम गर्न छाडेको उल्लेख गरेको छ ।

पत्रिकाको समाचारमा जनाइएअनुसाार उनलाई पेल्लिएटिम केयरमा राखिएका कारण आवश्यक परीक्षण र उपचार प्रक्रिया सन्चालन हुन सकेको छैन । पेलिएटिम केयर वार्डमा जीवनमरणको संघर्षमा पुगेका विरामीलाई राख्ने गरिन्छ ।

एडसन अरान्तेस डो नासिमेन्तोलाई संसारभर पेलेको नामबाट चिनिन्छ । उनलाई अहिलेसम्मकै महान फुटबलर मान्ने जमात ठूलो छ ।

उनले ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि उचालेका थिए । उनले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गरेका छन् भने राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

शुक्रबार अल्वर्ट आइन्स्टइन अस्पतालले जारी गरेको वक्तव्यमा पेले स्वासनलीको संक्रमणबाट पीडित भएको र एन्टिवायोटिक औषधिबाट उपचार भइरहेको जनाइएको छ । अपडेटमा भनिएको थियो कि पेलेको आगामी दिनमा आवश्यक उपचारका लागि अस्पतालमै राख्नुपर्नेछ । उनको स्वास्थ्य अवस्था स्थिर छ ।

विश्वभरबाट आएका स्वास्थ्यलाभको कामनालाई पेलेले शुक्रबार इन्स्टाग्राममार्फत जवाफ दिएका गि । उनको जवाफलाई हाल विश्वकप चलिरहेको कतारको एउटा टावरमा प्रदर्शन गरिएको थियो । उनले लेखेका थिए, ‘साथीहरु, हरेक महिनाजस्तै म अस्पताल आएको छु । यसरी सकारात्मक सन्देश पाउनु सधैं राम्रो लाग्छ । यो सम्मानका लागि कतारलाई धन्यबाद, र मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद ।’

के हो पेलिएटिभ केयर वार्ड ?

ब्राजिलका सन्चारमाध्यमअनुसार पेले अस्पतालको पेलिएटिभ केयर वार्डमा छन् । यो चरणको उपचारको उद्देश्य ती विरामीको पीडा कम गर्न वा राहत दिन हुनेछ जो जीवन मरणको दोसाँधमा छन् । यसलाई जीवनको अन्तिम क्षणका रुपमा पनि बुझ्न सकिन्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसको वेवसाइटमा लेखिएको छ, ‘यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ जसको उपचार गर्न सकिँदैन । यस्तो अवस्थामा पेलिएटिभ केयरले तपाईंको पीडा र खतराको लक्ष्यणलाई कम गरी सकेसम्म आरामदायी बनाइदिनेछ ।

यो प्रक्रियामा विरामी स्वयम, उसको परिवास र शुभचिन्तकको मनोवैज्ञानिक, सामाजिक र आध्यत्मिक कामना पनि सामेल हुनेछ ।

जीवनको अन्तिम अवस्थामा रहेका विरामीलाई मात्र पेलिएटिभ केयर उपलब्ध गराइन्छ । तपाईंले आफ्नो अवस्था सुधारका लागि अन्य थेरापी लिइरहेको अवस्थामा पनि पेलिएटिभ केयर प्राप्त गर्न सक्नुहुन्छ ।’

पेलेले २३ अक्टोबरमा आफ्नो ८२औं जन्मदिनमा इन्स्टाग्राममा एक भिडियो सन्देश जारी गरेका थिए । उनले भनेका थिए, मेरो जन्मदिनमा म सबैका लागि आभारी छु । जीवन राम्रो छ । आफ्नो परिवारसँग ८२ वर्षसम्म सँगै हुनु, स्वास्थ्य राम्रो हुनु सबैभन्दा उत्कृष्ट उपहार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?