+
+

गल्फ टूरको नयाँ सिजन सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १७:५९

१९ मंसिर, काठमाडौं । नेपालकै प्रतिष्ठित  गल्फ टूरको नयाँ सिजन मंगलबारदेखि सुरु हुने भएको छ । सिजनको पहिलो प्रतियोगिता काठमाडौं ओपन मंगलबारदेखि शुक्रबारसम्म रोयल नेपाल गल्फ कोर्ष एयरपोर्टमा हुनेछ ।

प्रोफेशसन गल्फर संघ, नेपालको आयोजनामा हुने गल्फ टूरको यो १५औं संस्करण हो । संघले गल्फ टूरका नाममा एक सिजन देशका चार गल्फ कोर्षमा ८ वटा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सिजनको पहिलो प्रतियोगिता काठमाडौं ओपनपछि धरान गल्फ रिसोर्टमा डिसेम्बर २१ देखि २४ सम्म इस्टर्न ओपन आयोजना हुनेछ ।

त्यस्तै सन् २०२३ को जनवरी १६ देखि १९ सम्म सेन्ट्रल ओपन प्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ कोर्षमा हुनेछ । फेब्रुअरी १ देखि ३ सम्म  एनपीजीए म्याच प्ले प्रतियोगिता रोयल नेपाल गल्फ कोर्षमा आयोजना हुनेछ ।

सिजनको पाँचौं प्रतियोगिता फेब्रुअरी २२ देखि २५ सम्म वेस्ट्रन ओपनका नाममा पोखरा गल्फ कोर्षमा आयोजना हुनेछ । मार्च १४ देखि १७ सम्म रोयल नेपाल गल्फ कोर्षमा सिजनको छैटौं प्रतियोगिता च्यालेन्ज आयोजना हुनेछ ।

सन् २०२३ को अप्रिल १८ देखि २१ सम्म गोकर्ण गल्फ कोर्षमा एनपीजीए टूर च्याम्पियनसिप हुनेछ । यो सिजनको सातौं प्रतियोगिता हो ।

सिजनको अन्तिम तथा सबैभन्दा ठूलो प्रिमियर च्याम्पियनसिप मे ८ देखि १२ सम्म गोकर्ण गल्फ कोर्षमा हुनेछ । सिजनको कुल पुरस्कार राशी ६१ लाख ५० हजार रुपैयाँ हो । पुरस्कार रकम हरेक वर्ष ५ प्रतिशतका दरले बढाइएको संघले जनाएको छ ।

काठमाडौं ओपनमा ३१ व्यावसायिक खेलाडी

मंगलबारदेखि चार दिनसम्म रोयल नेपाल गल्फ कोर्षमा हुने काठमाडौं ओपनमा ३१ जना व्यावसायिक र ५ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।

नेपालका शीर्ष एमेच्योर सुवास तामाङ, सद्भव आचार्यलगायतका खेलाडी भारतमा प्रशिक्षणरत रहेकाले यसपल्ट यो प्रतियोगिता वरीयताप्राप्त आधिकारिक प्रतियोगिता नभएको आयोजक नेपाल प्रोफेशनल्स गल्फर संघका महासचिव दीपक आचार्यले जानकारी दिए ।

७२ होलमा खेलाइने प्रतियोगितामा ३६ होलपछि कट हुनेछ । कटबाट आएका २१ जना खेलाडीले पूरा चरण खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कुल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ छ ।

यस संस्करणमा साविक विजेता नेपाल नम्बर एक प्रो शुक्रबहादुर तामाङ, धन थापा, रवि खड्का, सञ्जय लामा, रामे मगरलगायतले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

गल्फमा एमेच्योर खेलाडीले पनि सिमित नगद पुरस्कार पाउने गरी नियम परिवर्तन भएको छ । संघका महासचिव आचार्यका अनुसार यो प्रतियोगितामा त्यो नियमलाई लागू गरिएको छैन । ‘त्यसका लागि हामीले नयाँ सम्झौता गरी नेपाल गल्फ संघसँग स्वीकृति र सहमति लिनुपर्ने हुन्छ । गल्फ संघसँग सम्झौता भएको खण्डमा सिजनका अरु प्रतियोगिताहरुमा एमेच्योरलाई नगद पुरस्कार दिने व्यवस्था हुनेछ,’ आचार्यले सोमबारको पत्रकार सम्मेलनमा भने ।

अन्तर्राष्ट्रिय गल्फ फेडेरेसनले जारी गरेको पछिल्लो नियममा एमेच्योर खेलाडीले १ हजार अमेरिकी डलरसम्म नगद पुरस्कार लिन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?