+
+

भारतीय राजदूतको राजनीतिक भेट तीव्र

नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ ।

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर २२ गते २०:१०
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव

२२ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

निर्वाचनको मतगणना जारी रहेकैबेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे ।

निर्वाचन आयोगले चुनाव सम्पन्न भएका दुवै तह प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि दलहरूले समानुपातिकतर्फ जाने सांसदको सूची अझै बुझाइसकेका छैनन् ।

अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले भारतीय राजदूतको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ ।

को–कोलाई भेटे भारतीय राजदूतले ?

बुधबार बिहान करिब ११ बजे एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी बालकोटमा बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिएका थिए भने नयाँ सरकार गठनका विषयमा समेत चासो राखेका थिए । ‘निर्वाचन सम्पन्न भएपछि अध्यक्षलाई बधाई दिन आउनु भएको रहेछ । हाम्रो पार्टीले पाएको लोकप्रिय मतको प्रशंसा गर्दै बधाई दिनुभयो । साथै, दुई देशको सम्बन्धका विषयमा पनि छलफल हुने नै भयो,’ एमालेका एक नेताले भने, ‘चुनावपछि नयाँ सरकार गठन हुने हुँदा त्यस विषयमा पनि स्वाभाविक चासो राख्नु भयो । सत्ता समीकरण र सरकार गठन कसरी हुन सक्छ भन्ने सामान्य जिज्ञासा उहाँको थियो ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । राजदूतसँग भेट भएको भोलिपल्ट प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेट गरिसकेका छन् ।

निर्वाचनको मतगणना जारी रहेकै बेला गत १० मंसिरमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा समसामयीक राजनीति र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो ।

सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मंसिरमा दोस्रोपटक भेट गरेका थिए । दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो । तर त्यसअघि उनी निर्वाचनको मत परिणामसमेत सार्वजनिक नहुँदै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार र प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

देउवासँगको भेटबारे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले नियमित भेटघाट भएको र समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल–भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टु वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने अझै सार्वजनिक भएको छैन ।

भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ । राजदूतसँग भेट भएको भोलिपल्ट शनिबार बिहानै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दुई नेताबीचको उक्त भेटमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको जानकारी दिएका थिए । त्यसपछि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बसेको गठबन्धनका दलहरूको बैठकले अहिलेका गठबन्धनलाई कायम राख्ने निर्णय गरेका छन् ।

माधव नेपाललाई भेट्न पुगे अमेरिकी राजदूत

बिहीबार नै अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकी राजदूत थम्पसनसँग आफ्नो पार्टीको कार्यालयमा भएको भेटका विषयमा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत महामहिम डी.आर. थम्प्सनद्वारा शिष्टाचार भेटका सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै ! भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भयो,’ अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?