+
+

एसियामा फेरि विश्वकप जित्ने ब्राजिलको चाहना अधुरै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते ८:३२

२४ मंसिर, काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए ।

हुन पनि ब्राजिलको टिम हेर्दा त्यस्तै लाग्थ्यो । हरेक पोजिसनमा नाम चलेका खेलाडी । हरेक खेलाडीको विकल्प । अनि सर्वाधिक पाँच पटकको च्याम्पियन । स्टार खेलाडी नेमारसहित भिनिसियस जुनियर, रोड्रिगो, राफिन्नहा जस्ता फरवार्ड रहेको ब्राजिलियन टोलीमा कासेमिरो, फाबिन्हो, लुका पाक्वेटा र फ्रेड मिडफिल्डमा थिए ।

एलिसन बेक र एडरसन जस्ता गोलकिपर थिए । थियागो शिल्भाको नेतृत्वमा डिफेन्समा मार्क्विन्होसलगायत खेलाडी थिए ।

विश्वकपको २२ वटै संस्करण खेल्ने एक मात्र टिम ब्राजिल उपाधिको सदाबाहर दाबेदारसमेत हो ।

तर, दोस्रो पटक एसियामा विश्वकप हुँदा २० वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्य राखेको ब्राजिलको चाहना यस पटक पूरा हुन सकेन । सन् २००२ मा पहिलो पटक एसियामा विश्वकप हुँदा ब्राजिलले पछिल्लो पटक उपाधि जितेको थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा ब्राजिलले जर्मनीलाई २-० ले हराएर च्याम्पियन बनेको थियो ।

त्यसपछि हरेक संस्करणमा उपाधि दाबेदार बने पनि ब्राजिल फाइनलसम्म पनि पुग्न सकेको छैन । अझ रमाइलो संयोग त के छ भने त्यसपछिका हरेक विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित हुँदै बाहिरिएको छ ।

२००२ यता पाँचै विश्वकपमा ब्राजिल युरोपको टिमसँग पराजित हुँदै बाहिरिएको हो । २०१४ मा त आफैं आयोजक हुँदा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा पनि नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि ब्राजिल घर फर्कने पक्का भएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको थियो । त्यो बेला ब्राजिल बेल्जियमसँग पराजित भएको थियो ।

यस समूह चरणको सुरुआती दुई खेल जित्दै एक खेल अगावै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको थियो । दोस्रो रोजाइँको टिम खेलाउँदा अन्तिम खेलमा क्यामरुनसँग पराजित भए पनि अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले हराएर आफ्नो दाबेदारीलाई कायम राखेको थियो । हरेक विपक्षीका लागि ब्राजिल चुनौतीको रुपमा खडा थियो ।

तर सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले क्वाटरफाइनल समेत पार गर्न सकेन ।

‘क्रोएसियाका कप्तान लुका मोडरिचको भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ,’ क्वाटरफाइनल खेलअघि उनले भनेका थिए, ‘निश्चय पनि, ब्राजिल फेभरेट टिम हो । फेभरेटले पनि हार्छ ।’

१२० मिनेट र ८ पेनाल्टीसुट प्रहारपछि मोडरिचको भनाई सही सावित भएको छ भने ब्राजिल अधुरो सपना लिएर घर फर्कने पक्का भएको छ ।  ब्राजिलको लागि क्रोएसियाविरुद्ध खेलपछि सम्झने कुरा एउटै रह्यो ।

नेमारले एक गोल गर्दै महान खेलाडी पेलेको नाममा रहेको ब्राजिलका लागि सर्वाधिक गोल गर्ने ७७ गोलको कीर्तिमान बराबरी गरे । तर अर्को दु;खद के रह्यो भने उनै नेमार पेनाल्टी सुटआउटमा पेनाल्टी हान्न नपाइ बाहिरिए । अन्तिममा पेनाल्टी हान्न बसेका नेमार आफ्नो पालो नआइ ब्राजिल आउट भएर तथ्य स्वीकार गर्न बाध्य भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?