+
+

लोकदेव कृष्णाराम

लोकदेव वा लोकदेवी सार्वभौम रूपमा पूज्य नभएर कुनै खास क्षेत्र वा समुदाय विशेषमा पूजनीय हुन्छन् । कतिपय जातिमा त्यस जातिका ऐतिहासिक पुरुष वा कुल पुरुष त्यस जातिका लागि लोकदेवको रूपमा पूज्य छन् ।

अजयकुमार झा अजयकुमार झा
२०७९ मंसिर २४ गते १०:०१

‘देव’ शब्दलाई मानिसले पूज्य मान्दछन् । देवको अर्थ हुन्छ, दिव्य । दिव्य, अर्थात् प्रकृतिको मूल गुणबाट युक्त । दिव्य विशेषण शब्द हो । विशेषण अर्थात् गुण । प्रकृति सगुण र निर्गुण दुवै हो । अर्थात् यो गुणयुक्त वा गुणरहित दुवै स्थितिमा प्रतीत हुन्छ । दिव्यता सगुणको परिचायक हो । प्रकृतिको मूल गुण अविभाज्य हो, तर सत्व, रज र तम अर्थात् तीन रूपमा विभक्त पनि छ । अद्वैत भनिए झैं अत्रयी ।

शब्द पनि ब्रहृम हो । ब्रहृमा नामक देवता भने होइन, ब्रहृमाण्ड हो । ब्रहृमाण्डको केन्द्र, व्यास र अन्त्यहीन परिधि, अनन्त वा अखिल ब्रहृमाण्ड । ब्रहृम शब्दबाटै व्यक्त हुने भएकोले शब्दलाई ब्रहृमको संज्ञा दिइएको हो । गुणको बोध पनि शब्दकै माध्यमबाट हुन्छ । दिव्य भन्ने शब्दले गुण तत्वको अभिव्यक्ति दिन्छ । दिव्यता अर्थात् ज्योतिको रश्मि वा प्रकाश । स्वयं आलोकित भएको अर्थात् आफ्नै कारणले आलोकित भएको । जसरी सूर्य आफ्नै कारणले आलोकित छ, दिव्य छ । त्यसैले सूर्य देवता हो । देव, देवी वा देवीदेवता आफ्नै कारणले आलोकित हुन्छन्, दिव्य हुन्छन् । त्यसैले देव-देवी भएका हुन्, भनिएका हुन् ।

वेदका अनुसार सनातन धर्ममा तेत्तीस प्रकारका देवताको वर्णन छ । ३३ कोटिलाई कतिपयले ३३ करोड मान्ने गल्ती गर्छन् । सनातनी ग्रन्थ अनुसार धर्ममा ३३ प्रकारका मुख्य देवताहरूको उल्लेख गरिएको छ । सामान्यतया सबै देवी-देवतालाई गन्ने हो भने यो संख्या हजारमा पुग्छ । तर ती हजार नाममा एउटै देवताका नामहरू अनेक रूपमा प्रतिनिधित्व गर्दछन् । ती हजार नाममा कतिपय क्षेत्रीय देवताहरू पनि समावेश छन् । क्षेत्रीय देवतालाई लोक देवता भन्ने प्रचलन छ । सनातनधर्मी अनेक कोटिका देवताका उपासक हुन्छन् । इष्ट देवता त व्यक्ति व्यक्तिको लागि हुन्छ । पारिवारिक देवतालाई गोसाइँ भनिन्छ । सामुदायिक देवतालाई डिहबार, ब्रहृम आदि भनिन्छ ।

परमेश्वर वा परमात्मा (परम ईश्वर वा परम आत्मा) त्यो सर्वोच्च परालौकिक शक्ति हो, जसलाई यस संसारको सृष्टिकर्ता र शासक मानिन्छ । अधिकांश धर्ममा परमेश्वरको परिकल्पना ब्रहृमाण्डको संरचनासँग जोडिएको छ ।

सनातन आध्यात्मिक विचार अनुसार ब्रहृम वा प्रकृति वा यसको मूल ईश्वर हो भने यसका अविभाज्य तत्वहरू देव, देवी, देवीदेवता हुन् । ‘यत पिण्डे तत् ब्रहृमाण्डे’ भन्ने महावाक्य वा ‘ॐ पूर्णमद पूर्णमिदं …’ भन्ने ‘पूर्णमन्त्र’ जस्ता सनातनी विचारधारामा मनुष्य वा कुनै पनि प्राणी ब्रहृमदेखि भिन्न छैन भन्ने मान्यता रहेको देखिन्छ ।

यो समग्रमा, यसको विचार गर्ने हामी स्वयं मनुष्य पनि समाहित छौं । भन्नुको अर्थ के हो भने धरा, नदी, जल, वनस्पति, प्राणी, चराचर, ग्रह, तारा, नक्षत्र आदि सबै देवदेवी हुन् । सनातनीहरूका लागि प्रकृति र त्यसको तत्व सबै पूज्य हुन् । सनातनीको यसै विचारधारामा भगवान र लोकदेवहरूको अभ्युदय हुने गर्दछ । भगवान रामलाई विष्णुको अवतार मानिन्छ । उनको उत्तरोत्तर अवतार भगवान श्रीकृष्णले श्रीमद्भागवत गीतामा अवतरण सिद्धान्तको प्रतिपादन गर्नुभएको छ । लोकदेवताको सिद्धान्त यही अवतारवादको सिद्धान्त हो ।

लोकदेवता यस्ता देवता, राजा, सन्त, प्रसिद्ध वा ऐतिहासिक व्यक्ति हुन्, जसको कुनै क्षेत्र विशेषमा विशेष मान्यता छ । लोक देव वा लोक देवी सार्वभौम रूपमा पूज्य नभएर कुनै खास क्षेत्र वा समुदाय विशेषमा पूजनीय हुन्छन् । कतिपय जातिमा त्यस जातिका ऐतिहासिक पुरुष वा कुल पुरुष त्यस जातिका लागि लोकदेवको रूपमा पूज्य छन् । ऐतिहासिक अवस्थामा समाजलाई सामन्त, शोषक, दस्यु वा असामाजिक तत्वबाट रक्षा गरेका व्यक्ति पनि लोकदेवको रूपमा पुजित रहेका छन् । भारत वर्षमा प्रायः हरेक भेगमा लोकदेवको अस्तित्व रहेको पाइन्छ । मधेश प्रदेशमा अनेक लोकदेवहरूको अस्तित्व रहेको छ । सलहेश, दिनाभद्री, कृष्णाराम यस क्षेत्रका लोक देव हुन् ।

इतिहासकार हरिकान्त लाल दासद्वारा लिखित सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू पुस्तकमा उल्लेख भए अनुसार सिरहा जिल्लाको सदरमुकाम सिरहाबजारदेखि उत्तर महिसोथामा सलहेश महाराजको प्रमुख मन्दिर छ । यो स्थान सलहेशको जन्मस्थल भएको कारणले तीर्थस्थलको रूप लिएको छ । दुसाध कुलमा जन्मेका सलहेश बडो प्रतापी थिए । सलहेश बाहुबली थिए । मल्ल युद्धमा उनको जोडी थिएन ।

उनले आफ्नो पौरखको बलले महिसोथादेखि चुरे पर्वतको फेदसम्मका इलाका आफ्नो अधीन पारेका थिए । यस क्षेत्रमा उनको गाथा निकै लोकपि्रय छ । उनी आफ्नो ज्ञान, बल, वीरता, शौर्य, पराक्रम, पुरुषार्थ, संघर्ष, प्रणय र विजयका कारण लोकदेवको रूपमा पूजित भए । लोकदेव सलहेशको नेपाल र भारतको अनेक स्थानमा मन्दिर छ । सलहेशको जन्म भारतको विहारअन्तर्गत मधुवनी जिल्लामा पनि महिसोथा भन्ने गाउँ छ, त्यसतिर त्यहीं उनको जन्म भएको मानिन्छ । प्रा. राधाकृष्ण चौधरीद्वारा लिखित ‘विद्यापतिको युगमा मिथिला’ मा राजा सलहेशको पूजा र उनको गीत र कथामा आधारित नृत्यको उल्लेख छ । जसमा सलहेशको पूजा गर्ने परम्परा मध्यकालीन रहेको बताइएको छ ।

कृष्णाराम मूलतः पहलमान थिए । कुस्ती उनको ठूलो सोख थियो । कुस्तीप्रति उनको समर्पणको सीमा थिएन । आफ्नो शौर्य र वीर्यको रक्षाका लागि उनले ब्रहृमचर्य ग्रहण गरेर वनवासी भएका थिए । ब्रहृमचर्याको साधना र वनको वासले उनलाई असामान्य क्षमता प्रदान गरेको थियो

लोकदेव दिनाभद्रीको पूजा सबै जाति समुदायकाले गर्दछन् । उनी मुसहर जातिका कुलदेवको रूपमा विशेष पूजित छन् । दिनाभऽी दाजुभाइ थिए । सप्तरी कटैैया खापमा यिनीहरूको मूल केन्ऽ थियो । दिनाभद्रीको गाथा पनि निकै लोकपि्रय छ । दाजुभाइ वीर एवम् साहसी थिए । कुस्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रूपमा प्रस्तुत भएका कारण उनीहरूको वीरताको चर्चा जनजनमा फैलिएको छ । दाजुभाइ सामन्तका कट्टर विरोधी थिए । ‘गिरहतको हजुरी’ नगरी स्वतन्त्र रूपमा मजदुरी गर्न उनीहरूले प्रेरणा दिए । मजदुरमाथिको दमन र शोषणको कडा प्रतिकार गरे । सर्वहारा वर्गको सशक्तीकरणका लागि जीवन समर्पित गरेका कारण उनीहरू लोकदेव कहलाए र सदियौंपर्यन्त नेपाल र भारतमा पूजित छन् ।

कृष्णाराम, दिनाभद्री, सलहेश समकालीन व्यक्तित्व थिए । कृष्णाराम यदुवंशी थिए । उनी घोसिन कुलका थिए । दाजुभाइहरूमा कृष्णाराम जेठा थिए । सवरन भनिने उनका एक भाइ पनि कुस्ती खेल्थे । यिनी दाजुभाइकै नाममा सप्तरी जिल्लास्थित अग्निसाइर कृष्णासवरन गाउँपालिका नामकृत छ । कृष्णाराम अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. १ चुरेमा निवास गर्ने लोकदेव हो । चुरेमा ठाउँठाउँमा स्थानीय लोकदेव र लोकदेवीहरूको निवास रहेको छ । यस पालिकामा दुईवटा धर्मस्थलको आ-आˆनै विशेषता र इतिहास रहेको छ । पूर्व-पश्चिम राजमार्गको चाँदनी चोकदेखि ३ कि.मी. उत्तर चुरे जंगलमा अग्निसाइर देवस्थल अवस्थित छ ।

देवस्थलको कथा अनुसार अग्निसाइर भन्ने त्यस ठाउँमा कुनै बेला उपद्रवीहरू बस्ने गरेका थिए । उनीहरू दिउँसो देखा पर्दैनथे । राति राति नजिकका बस्तीहरूमा आएर तबाही मच्चाउने गर्दथे । टोल बस्तीका मानिसहरू आजित भएर त्यस ठाउँमा धर्मस्थल बनाइदिन रात ओहोर दोहोर गर्न थाले । अग्निसाइर देवस्थलमा भाकल गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ ।

अग्निसाइर देवताको दर्शन गर्दै चुरियाभित्रै मरौटी पनि जान सकिन्छ । मरौटी कृष्णारामको समाधिस्थल हो । पूर्व-पश्चिम राजमार्गको महुली बजारबाट नदी र खोंच हुँदै १३ किमी पैदल हिंडेर मरौटी पुगिन्छ । त्यहाँ लोकदेव कृष्णारामको समाधि छ । समाधिको प्रतीक स्वरूप यहाँ अनेक शिलाहरू पुजिन्छन् । शताब्दियौंदेखि झाँप अँचरी चढाउने, पूजा अर्चना गर्ने गरिंदै आएको छ । कृष्णारामलाई किसन वा किसनाराम भनेर पनि पुकारेको देखिन्छ ।

मरौटी दूरीको हिसाबले नजिकै पर्ने भए पनि आवागमनको लागि दुर्गम स्थानको रूपमा रहेको देखिन्छ । मरौटी आउन-जानका लागि निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । एक्लै यात्रा गर्न गाह्रो छ । तैपनि मानिस एक्लै वा समूहमा आवतजावत गर्छन् । मरौटी मानिसको धार्मिक आस्था र विश्वाससँग जोडिएको छ । सुत्केरी हुँदा दूध नआएमा वा दूध थोरै आएमा आमाहरूले भाकल गर्ने गर्छन् । उनीहरूको कामना पूरा हुने गरेको बताइन्छ ।

कृष्णारामलाई कुलदेव, लोकदेवको रूपमा पूजा गर्ने, जनार भोग लगाउने परम्परा कायम छ । पशुपालक किसानले आफ्ना गाईभैंसीले पहिलो बेतमा ब्याउँदा उसको दूधमा चामलको खीर पकाएर भोग लगाउने चलन छ । घरबाट दूध, चामल आदि लिएर जाने र त्यहीं चुलो बालेर खीर पकाई भोग लगाउने र प्रसाद वितरण गर्ने साथै उब्रेको प्रसाद ल्याई घर टोलका मानिसहरूलाई वितरण गर्ने गरिन्छ ।

मरौटीबाट माथि अझै भित्र जंगलमा दौरी (बथान) भन्ने स्थान छ । दौरी भन्ने ठाउँ अहिले प्रदेश-१ (उदयपुर जिल्ला) मा पर्दछ । दौरीमा कृष्णारामको आफ्नो बथान थियो । त्यही बथानमा कृष्णाराम गाईभैंसी लिएर बस्दथे । पशुपालकहरूमा गाईभैंसीलाई बथान पठाउने चलन पुरानो छ । धेरै पशुलाई चरन, पानी, बासको सुविधा भएको स्थानमा बथान राखिन्थ्यो । दौरी बथानमा बस्ने पशुको व्यवस्थापन गर्ने, दूधका परिकारहरू खाने, कुस्तीको अभ्यास गर्ने यही कृष्णारामको जीवन शैली र दिनचर्या थियो । सप्तरीको घोघनपुर बलुवा गाउँमा उनको घर थियो । कृष्णारामको बल र विशिष्ट व्यक्तित्वको कारणले जंगलमा उनका पशुहरू सुरक्षित रहन्थे । सिंह, बाघहरूले पनि बथानका पशुहरूलाई आक्रमण गर्ने गर्दैनथे । भनिन्छ दौरी बथानको घाटमा गाई, भैंसी र बाघ, भालु आदि एकैसाथ पानीको प्यास मेटाउँथे । पशुहरू निर्भीकतापूर्वक चरन विचरण गर्थे । तर कृष्णाराम र सवरन युवावस्थामै मारिए । उनीहरूको मृत्युको विषयमा फरक मतहरू देखिन्छ ।

भनिन्छ, दौरी बथानबाट घर आउँदै गर्दा कृष्णा र सवरनको सलहेशसँग जम्काभेट भयो । सलहेश पनि पहलमान थिए । सलहेशसँगको कुस्ती वा मल्लयुद्धमा दुवै दाजुभाइ मारिएको भनिन्छ । त्यस्तै अर्को मत के छ भने दौरी बथानमा सलहेशको हात्ती पसेर दाजुभाइलाई मारेको हो । कृष्णा सवरनको मृत्यु कसरी भयो भन्ने विषयमा फरक-फरक मत वा धारणा रहे पनि उनीहरू मारिएको स्थान मरौटी वा मरौटी नजिकै हो भन्नेमा विवाद भने छैन । मूल रूपमा मरौटी, जहाँ कृष्णा सवरनको समाधि छ त्यसमा सबैले विश्वास र आस्था पनि छ ।

उदयपुरको दौरी र सप्तरीको घोघनपुर बलुवाको बाटोमा मरौटी पर्दछ । बलुवा आउँदा वा बलुवाबाट फर्किंदा उनीहरू मारिए । मारिएकै स्थानमा अन्त्येष्टि पनि गरियो । समाधिको पूजा गर्ने र भोग लगाउने चलन बस्दै गयो । भोग लगाइने परिकार अर्थात् नैवेद्यलाई जनार भनिन्छ । कृष्णाराम र उनको समाधिमा जनजनको आस्था छ । आस्थाको यो परम्परा कहिल्यै मेटिने छैन । लोकदेव कृष्णाराम (मरौटी) कहिल्यै नरोकिने किसिमको मानिसको लागि तीर्थ भएको छ ।

कृष्णाराम मूलतः पहलमान थिए । कुस्ती उनको ठूलो सोख थियो । कुस्तीप्रति उनको समर्पणको सीमा थिएन । आफ्नो शौर्य र वीर्यको रक्षाका लागि उनले ब्रहृमचर्य ग्रहण गरेर वनवासी भएका थिए । ब्रहृमचर्याको साधना र वनको वासले उनलाई असामान्य क्षमता प्रदान गरेको थियो । जस्तोसुकै जटिलतामा फसेका कुनै मानिस उनको शरणमा पुग्यो भने उनले क्षणभरमै उसको दुःख दूर गरी दिनसक्थे । उनले दिएको भनेको कुरा पुग्दथ्यो । उनको वचन खेर जाँदैनथ्यो । कृष्णारामको लोकगाथामा केही चामत्कारिक घटनाहरूको वर्णन पनि पाइन्छ । उनको अकाल मृत्यु भयो । उनले प्रेतयोनीमा रहेर पनि लोक कल्याणको कार्य गरिरहेको मानिन्छ । दाहसंस्कार हुँदै गर्दा उनको एक भाइ बल्कुको शरीरमा उनी प्रकट भएका थिए । त्यतिबेला उनले म मरे पनि मलाई सम्झ्यौ भने म आउँछु भनेका थिए । उनको भगिता खेलाउने चलन अहिले पनि छ । मानिस मरौटी जाँदा भाकल पनि गर्छन् । कृष्णारामको नश्वर शरीरको मात्र समाप्त भएको छ । उनी आफ्ना भक्तका लागि अमर छन् ।

आक्कलझुक्कल भक्तजन मरौटी जाने गरेका देखिन्छन् । सोमबार, बुधबार र शुक्रबार भीड जस्तो हुन्छ । कुनै पनि तीर्थस्थल वा धार्मिक पर्यटनको गन्तव्यलाई सुगम बनाउनु राम्रो कुरा हो । यसबाट पर्यटकको संख्या बढेर त्यस क्षेत्रको पूर्वाधार विकसित हुने अवसर प्राप्त हुन्छ । त्यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्छ । तर कतिपय अवस्थामा विकटता नै त्यस क्षेत्रको महत्वको कारण पनि रहेको हुन्छ ।

त्यस अर्थमा सुगम भन्दा दुर्गमताकै अनुभूति हुनु पनि ठीकै हुन सक्छ । साथै स्वतन्त्र र स्वच्छन्द आवागमनले जंगलको विशिष्टता र संवेदनशीलतामाथि पनि नकारात्मक असर पुर्‍याउन सक्छ । तापनि मरौटीको भौतिक, ऐतिहासिक तथा धार्मिक महत्वको संरक्षण हुनु पनि आवश्यक छ । साथै जंगलवारिसम्मको सहज पहुँच तथा तीर्थालु एवं धार्मिक पर्यटकको सामान्य सुविधा र सुरक्षाको व्यवस्था त गर्नै पर्ने हुन्छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ४ मा रमणीय कजरादहसँगै मन्दिर छ । कजरादहबाट प्राचीन ईंटा, भाँडा निस्किएको बताइन्छ । यस पालिकामा बौद्ध बिहार पनि छ । बौद्धमार्गी यहाँ निकै आउँछन् । यहाँ वैशाख महिनामा कटाहा भेडिया, अग्निसाइर र गुरमुराइनमा मेला लाग्दछ । पालिकाको वडा नं. ६ अन्तर्गत गुरमुराइन मन्दिर छ । गुरमुराइन मन्दिरमा थारू संस्कृतिको झलक आउँछ । वडा नं. १ मा कैली खोलाले उत्तरवाहिनी रूप लिएको प्रकृति अनौठो छ । साउन-भदौमा भगवान शिवलाई जलले अभिषेक गर्ने परम्परा छ । भक्तजन उत्तरवाहिनी नदीको जलले अभिषेक गर्न बढी रुचाउँछन् ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?