+
+

यमराजको मृत्यु चाहन्छु म

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ मंसिर २६ गते ७:२०

यी हातहरु अक्षर लेख्न तयार छैनन् । किनभने म मृत्यु लेखिरहेको छु, मृत्युको कहानी खोजिरहेको छु, मृत्युको कारण खोजिरहेको छु । शिव (महादेव) दोलखाको देउलाङमा जन्मिएका हुन् भन्दा म जति गौरव गरिरहेको हुन्थें, यमराजलाई शिवले जीवनदान दिएको प्राचीन कथाले कता कता उनै महादेवप्रति आक्रोश मडारिहेका हुन्थे अनुहारभरि ।

प्राणीको मृत्युको देवता यमराजको मृत्यु हुन्थ्यो भने मानिसको अकाल मृत्यु रोकिन्थ्यो कि ! अलिकता आश लाग्छ यो प्रसंगले ।

शिवभक्त थिए कलन्जोरका श्वेत राजा । छोरालाई राज्य सुम्पिएर गुप्तवास रहेका श्वेतलाई यमराजका सेनाले लान सकेका थिएनन् । कति कपटी छन् शिव । आफ्नै सेना कार्तिकेय मार्फत शक्ति अस्त्रले यमराजको बध गरे, अनि आफैंले उनलाई फेरि जीवनदान दिए । म यमराजको मृत्यु चाहन्थें, त्यसैले शिवसँग बेखुसी छु । शिवको आज्ञाबाट नन्दीश्वरले गौतमी नदीको जल ल्याएर यमराजलाई छर्किएपछि उनले जीवनदान पाएको प्राचीन कथामा कत्तिको सत्यता छ म जान्दिन, तर मृत्यु सत्य छ । यमराजको जीवनदानले मृत्युलाई सत्य बनाइदिएको मेरो विश्वास छ ।

मृत्युको सत्यतासँग मेरो कुनै दुश्मनी या फरक धारणा छँदैछैन । प्राणीको जीवन अजम्बरी हुने हो भने सृष्टिको तख्तामा प्रलयको बज्रपात कोलाहलपूर्ण हुनेथियो । म आफ्नो मृत्युसँग पनि परिचित छु । मेरो आत्मा मर्दैन मलाई ज्ञान छ । गीतामा भनिएको छ– किन व्यर्थ चिन्ता गर्छौ, कोसँग व्यर्थ डराउँछौ, कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ । तर एकदिन मैले मेरो यो देह त्याग्नैपर्छ । म त्यतिबेलासम्म मर्न चाहन्न अर्थात् यो देश त्याग गर्न चाहन्न जतिबेलासम्म मैले मेरो दायित्व, जिम्मेवारी र कर्तव्य पूरा गर्दिनँ । मेरो घर, परिवार, समाज र राष्ट्र छ । यो सबैप्रति मेरो जिम्मेवारी छ र यो सबैको मप्रति भरोसा छ ।

म त्यति महान् हुन चाहन्न कि आफ्ना दायित्व, जिम्मेवारी र कर्तव्य पूरा नगरी मेरो देहलाई अग्निले भष्म गरेको एउटा कुनामा बसेर छटपटिंदो आत्माले हेर्न सकुँ । त्यसैले म मृत्युलाई चुनौती दिन चाहन्छु । यमराजको मृत्यु चाहन्छु ।

प्राचीनकालमा देवताको बास धर्तीमै हुने गरेको थिया अनि त्यतिबेला मानिसको आयु पाँच सय वर्षसम्म पनि थियो रे । कसैले एक सय वर्षमा अर्को जुनी लिएको र कसैले एक हजार वर्षसम्म पनि एउटै जीवन बाँचेको प्राचीन कथा प्रचलनमै छ ।

चिरञ्जीवी मास्के

महाभारतमा उल्लेख भएका गंगा पुत्र भीष्म पितामहले आफ्नो पिता शान्तुनबाट इच्छा मृत्युको वरदान पाएका थिए ।

महाभारत युद्धमा उनको मृत्युको लागि कृष्णको चलाखी अनुसार अम्बाको दोस्रो जन्म शिखण्डीको प्रयोग गर्नु परेको थियो । किनभने भीष्म पितामह स्त्रीसँग युद्ध गर्दैन थिए र शिखण्डी पुरुष भेषमा महिला थिइन् । महाभारत कथा अनुसार विवाह मण्डपबाट भीष्म पितामहले हस्तिनापुरको संरक्षणको लागि अम्बासहित तीन दिदीबहिनीलाई अपहरण गरेका थिए । अपहरणमा परेकी अम्बाले भीष्म पितामहसँगै विवाह गर्न चाहिन्, तर भीष्म पितामहले आफू ब्रह्माचारी बस्ने भन्दै विवाह अस्वीकार गरिदिए । जसको लागि अम्बा भीष्म पितामहसँग बदला लिन चाहन्थिन् ।

युद्धभूमिमा शिखण्डीको उपस्थितिपछि भीष्म पितामहले हतियार बिसाए र उनलाई अर्जुनले वाण हानेर घाइते बनाए । तर उनले आफ्नो मृत्युको लागि सूर्य उत्तरायणमा हुनुपर्ने चाहना गरेकोले घाइते भएर तीरमा ५८ दिन बसिरहे । किनभने उनी मृत्युपछि स्वर्ग जान चाहन्थे र स्वर्गको लागि मृत्यु समय सूर्य उत्तरायण अनिवार्य मानिन्थ्यो ।

मृत्युसँग जोडिएको अर्को प्रसंग पनि छ । यमुनाले आफ्नो दाजु यमराजलाई दीर्घायुको कामनासहित भाइटीका लगाइदिएकी थिइन् । यमुनाले भाइटीकाको क्रममा मखमली फूल, दुबो र तेलको टीका प्रयोग गरिन् । मखमली माला तथा दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले यमुनाले आफ्नो दाजु यमराज अजम्बरी छन् भन्ने सन्देश दिन खोजेकी थिइन् ।

यो प्रसंग किन पनि भने मृत्युलाई रोक्न प्राचीनकालदेखि नै विभिन्न प्रयत्न भएका छन् । मानिस जन्मिएपछि कम्तीमा एक शताब्दी बाँचेर आफ्नो दायित्व पूरा गर्न चाहन्छ र दीर्घायुको लागि केही प्रयत्न गर्छ ।

तर यो कलियुगमा मृत्युको कुनै नियमै देखिंदैन । कसैको मृत्यु जन्मलगत्तै भएको छ, कसैले एक शताब्दी पार गरेका छन् । मानिसको सबै हरहिसाब राख्ने चित्रगुप्ताको सिफारिस किन न्यायोचित हुन सकेन । जन्मलगत्तै मृत्युवरण गर्नुपर्ने बालकको अभिलेख कसरी राखे चित्रगुप्ताले । अनि भर्खर युवावस्थामा प्रवेश गरेका मानिसलाई के अभियोगमा मृत्युको सिफारिस गर्छन् चित्रगुप्ता ।

त्यस्ता धेरै मृत्यु छन्, जहाँ चित्रगुप्तको सिफारिस र यमराजको सजाय अन्यायपूर्ण मात्र होइन, उनैले बनाएको नियम विपरीत पनि छ । प्राचीन कथाको एउटा प्रसंग, यमराजले मानिसको मृत्यु सन्देशमा चार पत्र पठाउँछु भनेका थिए रे । पहिलो– कपाल फुल्ने, दोस्रो– आँखा कमजोर हुने, तेस्रो– दाँत फुक्लिने र चौथो– कान कम सुन्ने ।

तर के मदन भण्डारीको मृत्युमा यो सबै कुरा लागु भएका छन् । बीपी कोइराला, भैरव अर्याल, शंकर लामिछाने, नारायण गोपालहरुलाई यमराजले यी चार पत्र पठाएका थिए । उनीहरुको असामयिक निधनमा चित्रगुप्ताको त्रुटि र यमराजको कमजोरी देखिंदैन ? मदन भण्डारी, बीपी कोइराला, भैरव अर्याल, शंकर लामिछाने, नारायण गोपालहरुले परिवार, समाज र देशको लागि धेरै कुरा दिनुपर्ने थिएन र ?

पछिल्लो एउटा मृत्युले म अझ बढी विक्षिप्त बनेको छु । स्पन्दन, पत्रकार दीपशंकर चौलागाईंको स्पन्दन (छोरा) अर्थात् ढुकढुकी । हरेकको मुटुको ढुकढुकी बनेका स्पन्दनको के दोष थियो र यमराजले १८ वर्षमै उसको आत्मालाई देहत्यागको लागि बाध्य गरिदियो । स्पन्दनका स्वरहरु भर्खर विद्यालय तहबाट उक्लिंदै विश्वविद्यालयको सिंढी पार गर्न प्रयासरत् थियो । धेरै सपना थिए होला, धेरै सन्देश र समर्पणहरु थिए होला आफ्नो मातापिता, परिवार, आफन्त, समाज र देशको लागि । तर यमराजले टपक्क टिपेर लगिदियो । हो त्यसैले पनि म यमराजको मृत्यु चाहन्छु । मानिसले कमसेकम इच्छा मृत्युको अवसर पाउने छन् कि ।

स्पन्दनको स्मरण कसैलाई पीडा थप्ने ओखती होइन, मेरो अन्तरआत्माको स्नेह हो । स्पन्दन बिरामी भएदेखि उसलाई नियालिरहेको थिएँ । कहिल्यै भय देखिन मैले उसको मुहारमा । सधैं हाँसीखुसी, सधैं उत्साहित र जोश । बिरामीले थलिंदा मनमा भय र चिन्ता पक्कै थियो होला तर उसलाई थाहा थियो ऊ कसैको स्पन्दन हो । उसको चिन्ता र भयले उसलाई रोक्ने थियो र कसैको मुटुको ढुकढुकी रोकिने थियो । त्यसैले ऊ चुपचाप थियो । ऊ आफ्नो सन्नाटाले मातापिताको ढुकढुकी सुनिरहेको हुन्थ्यो र त्यहाँ प्रत्येक धड्कनसँग आफ्नो लागि स्नेहको परख गरिरहेको हुन्थ्यो ।

सायद उसलाई थाहा थियो, आफ्नो मृत्युको निकटता तर ऊ आफ्नो परिवारमा मृत्युको भयबाट हुने विचलन चाहँदैन थियो । त्यसैले ऊ चुपचाप थियो, खुसी थियो र उत्साहित पनि देखावटीमै भए पनि ।

उसको देहत्यागमा उपस्थित सयौं मानिस तामाकोशी किनारमा चश्माभित्रको उसको आँखा खुलेको हेर्न चाहन्थे र आफ्नो आँखाबाट बगेका आँसुलाई रोक्न चाहन्थे । तर स्पन्दन रोकिएको थियो, उसको चश्मा विस्तारै बाफिलो बन्दै बन्द आँखालाई छोप्दै थियो ।

म सधैं भक्कानिन्छु दीपशंकरले सुनाएको स्पन्दनको यो शब्दले– बाबा अब मलाई के हुन्छ ? यो स्पन्दनको भय थिएन, परिवारप्रतिको जिम्मेवारी थियो, स्नेह थियो र त्यसैको लागि जीवनप्रतिको मोह थियो । हो यहीनेर म शिवसँग बेखुसी छु । यमराजको मृत्युलाई शिवजीले जीवनदान नदिएको भए स्पन्दनको पारिवारिक स्नेह, सामाजिक जिम्मेवारी र दायित्व पूरा हुनेथियो ।

र, मेरो प्रश्न यसैको लागि हो, स्पन्दनले किन भीष्म पितामहले जसरी इच्छा मृत्युको वरदान नपाउने ? यमराजले जसरी किन जीवनदान नपाउने ? अनि किन यमराजले स्पन्दनको लागि चारवटा पत्रको आवश्यकता नठानेको ? चित्रगुप्ताले किन दुरुस्त हिसाबकिताब राख्न नसकेको ?

म यो प्रश्नको जवाफ खोजिरहन्छु । त्यसैले यमराजको मृत्यु चाहन्छु । ताकि कलियुगमा पनि हरेक मानवले मृत्युको अवधि लम्बाउन सक्नेछन्, परिवारको लागि, समाजको लागि र देशको लागि ।

जेनिफर ली भन्छिन्– ‘आफैसँग विश्वास गर । जित अगाडि छ । मृत्युले जीवनको महत्व बढाइदिएको छ । मृत्यु नहुँदो हो त जीवन ज्यादै निरसिलो हुन्थ्यो ।’ जेनिफरको यही भनाइलाई आत्मसात् गर्दै म फेरि यमराजको मृत्यु चाहन्छु र मानव मृत्युलाई शताब्दी घचेटेर जिम्मेवारी तथा दायित्व पूरा गर्दै जीवनको महत्व अझ बढाउन चाहन्छु, बाँचुञ्जेल जीवनलाई रसिलो बनाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?