+
+

संसदीय दलको नेता बनेपछि मात्र शक्ति बाँडफाँट गर्न चाहन्छन् देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते ७:२२

२६ मंसिर, मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पेश गरेको सूची सदर हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार सबै दलले पठाएको सूचीमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । प्रदेशसभातर्फ केही सच्याउनुपर्ने भएकाले दलहरुलाई भोलि (सोमवार) दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दलहरुले संशोधित सूची पेश गरेपछि समानुपातिकका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गरिने छ । यो सबै प्रक्रिया पुरा गरेर ढिलोमा २९ मंसिरमा राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन परिणाम पेश गर्ने निर्वाचन आयोगको तयारी छ ।

तर नयाँ सरकार गठनका लागि अझै केही दिन लाग्ने छ । २०७४ मा निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएकै दिन केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । सांसदको सपथ नलिई प्रधानमन्त्री भएको भन्दै उनको आलोचना समेत भएको थियो । यो पटक प्रक्रियासम्वत रुपमा जाने नेताहरु बताउछँन् ।

त्यसमाथि कांग्रेस संसदीय दलको निर्वाचन गरेपछि मात्र शक्ति बाँडफाँट गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव छ । त्यसमा गठबन्धनका दलहरु सहमत भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनलाइनखबरसँग भनेका छन्, ‘कांग्रेस संसदीय दलको नेता टुंगो लागोस्, त्यसपछि (पावर शेयरिङको) विषयमा प्रवेश गरौंला भन्ने सहमति भएको छ ।’

कांग्रेस नेताहरुका अनुसार निर्णय त भइसकेको छैन, तर संसदीय दलको नेता चुन्न पुस दोस्रो साता निर्वाचन हुने सम्भावना छ । किनकी निर्वाचन आयोगले जुन दिन राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउँछ, त्यही दिन सांसदहरुको विवरण संसद सचिवालयमा पठाउँछ । त्यसपछि संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा पठाउने छ ।

जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएपछि अरु सांसदहरुलाई सपथ दिलाउने छन् । संसद सचिवालयका अधिकारीहरुका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जुन दिनका लागि संसद अधिवेशन आहृवान गर्छिन्, त्यसको एकदुई दिनअघि सांसदहरुको सपथ गराइनेछ ।

प्रतिनिधि सभा सदस्यहरुले सपथ लिएपछि बल्ल कांग्रेस संसदीय दलको बैठक बस्ने बाटो खुल्ने छ ।

कांग्रेसले दलको नेता छनोटका लागि प्रतिनिधि खटाउँछ र दलको कार्यालयले उम्मेदवारी दर्ता, मतदानको कार्यक्रम तय गर्छ । कांग्रेसमा दलको नेतामा र्वसम्मत भएपनि उम्मेदवारी दर्ता लगायतको प्रक्रिया पुरा गर्नुपर्छ । यो पटक सभापति देउवासँगै महामन्त्री गगनकुमार थापाले दलको नेताका लागि दावेदार छन् । कांग्रेसका एक सांसद भन्छन्, ‘पुस मध्यसम्म संसदीय दलको नेता चयन भइसक्ला । त्यसपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।’

गठबन्धनमा आवद्ध पाँच दलसँग १३४ सांसद छन् । ६ सांसद भएको जनमत पार्टी, ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीका साथै प्रभु साह, स्वतन्त्र सांसदहरुको समर्थन जुटाउने नेताहरुको प्रयास छ । संसदमा बहुमत जुटाउनुभन्दा शक्ति बाँडफाँट चुनौतीपूर्ण देखिएको गठबन्धनका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?