+
+

ठोरीका होमस्टेमा बढे पाहुना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १७:५५

२६ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाँउपालिका–५ सुवर्णपुरस्थित होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती होमस्टेमा आउने स्वदेशी तथा बिदेशी पाहुनोको संख्यामा वृद्धि भएको हो । कोभिड–१९ महामारी पछि विदेशी पाहुना आउन छोडेका थिए । तर कोरोना महामारी घट्दै गएपछि होमस्टेमा विदेशी पाहुना समेत आउन थालेको होमस्टेका सञ्चालकहरु बताउँछन् ।

सुनाखरी मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले अमेरिका, अस्ट्रेलिया, कयानडा लगायत पश्चिमी मुलुकबाट समेत पाहुना आउन थालेको बताए । उनका अनुसार हरेक महिना कम्तीमा सय देखि १ सय २० जनासम्म स्वदेशी र ३० देखि ३५ जना विदेशी पाहुना आउने गरेका छन् । सुवर्णपुरमा १५ वटा होमस्टे सञ्चालनमा छन् । मधेश प्रदेशकै पहिलो होमस्टेमा ६० जनासम्म पाहुनाले बास बस्न सक्छन् ।

सुवर्णपुरमा सञ्चालित होमस्टेमा पाइने स्थानीय खानाको परिकार तथा स्थानीयको राम्रो व्यवहारले आफूलाई आकर्षित गरेको अमेरिकाको क्यालिफोर्निया राज्यकी स्टेफनी थोर्नटन बताउँछिन् । तीन दिनको बसाइ सकेर फर्किने क्रममा थोर्नटन भन्छिन्, ‘बसाइ निकै रमाइलो भयो, फेरि साथीहरुसँग घुम्न आउँछु ।’

होमस्टेमा वीरगञ्ज, पोखरा, हेटौंडा, काठमाडौं, चितवन क्षेत्रका पाहुना पुग्ने गरेका छन् । विदा मनाउन मात्र नभई तामाङ संस्कृति, रहनसहनलाई नजिकबाट बुझ्न, वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान एवं शोधपत्र तयार पार्न पाहुना आउने गरेको होमस्टेका सञ्चालकहरु बताउँछन् ।
गैरसरकारी संस्थामा काम गर्दै आएका दामोदर यादवले होमस्टेमा बसेर कोलाहलमुक्त वातावरणमा रमाउन पाउँदा निकै आनन्द लागेको बताए । ‘घरमा जस्तै आफैंले खाना पकाइयो, खाइयो । रमाइलो गरियो’ उनले भने ।

होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटक आउने हुँदा समुदायको विकासमा समेत यसले योगदान पुग्ने उनको बुझाइ छ । ‘ ग्रामिण क्षेत्रका यस्ता होमस्टेको संरक्षण तथा प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो । स्थानीयको जीवन स्तर उकास्ने यस्ता काममा स्थानीय सरकारले बढी सहयोग गर्नुपर्छ’ दामोदरले भने ।

होमस्टे व्यवस्थापन समितिका सचिव बलराम कोर्मोचाले होमस्टेमा पाहुनाका लागि तयार गरिने खाना नास्ताको गुणस्तरसँगै सरसफाइमा विशेष ध्यान दिने गरेको बताए । होमस्टेमा एक रात बास बस्दा पाँच सय रुपैयाँ लिने गरिएको छ भने खाना र नास्ता पनि सस्तो छ । ठोरीकै तीन घरेमा पनि तीन घरे मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा छ । त्यहाँ १० वटा होमस्टे सञ्चालनमा छ ।
निकुञ्ज अन्तर्गतको मध्यवर्ती सामुदायिक वनको सहयोगमा होमस्टेहरु स्थापना भएका हुन् ।

ठोरी गाउँपालिकाको कार्यालयले पनि होमस्टेको प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्न सकिने बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले पर्यटन प्रबर्द्धनका लागि सहयोग गर्न पालिका तयार रहेको बताए ।

‘स्थापना गर्नेदेखि लिएर सबै काम वनले गरिरहेको छ, पालिकाले पनि खर्च गर्दा दोहोरो खर्च हुन्छ भनेर कार्यक्रम नै त राखेका छैनौं । ‘होमस्टेबाट पनि केहि माग आएको छैन,’ उनले भने, ‘कार्यक्रम माग भयो भने विचार गर्न सकिन्छ ।’

ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीय क्षेत्रको घोषणा समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?