+
+

वीरगञ्जका उद्योगको फोहोर पानी सिधै सिर्सिया नदीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते २०:४५

२७ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित उद्योगले सिर्सिया नदीमा सिधै फोहोर पानी पठाउने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमनको क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो ।

नदी आसपास रहेका उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त प्रदुषित पानी प्रशोधन नगरी सिधै नदीमा खसाउने गरेका छन् । जसका कारण सिर्सिया नदीमा कालो पानी बग्ने गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार वीरगञ्ज महानगरपालिका–२१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरेको थियो । निधि टेक्सटायल्स प्रालि, ब्रिटानिया नेपाल, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गर्दा उद्योगहरुबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

निधि टेक्सटायल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको पाइएको छ । यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकलसहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको छ ।

उद्योगले अहिलेसम्म पानी प्रशोधन केन्द्र नबनाएको पाइएको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीले बताए । ‘निधिले छायी (खरानी) पनि नदीमै फाल्ने गरेको रहेछ’, उनले भने, ‘ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न र आइन्दा छायी नदीमा नफाल्न भनेका छौं ।’

बिस्कुट उत्पादन गर्ने मल्टिनेसनल कम्पनी ब्रिटानियाले पानी प्रशोधन केन्द्र बनाएको भएपनि प्रशोधन नगरेको फोहोर पानी सोझै नदीमा मिसाइदिने गरेको स्थानीयले बताएका छन् ।

अनुगमन टोलीले पनि नाला लगेर नदीमा जोडेको भेटेको छ । शक्ति वायर उद्योगले पानी जम्मा गर्न पोखरी बनाएको भएपनि प्रभावकारी नहुँदा फोहोर पानी नदीमा नै मिसिने गरेको देखिएको छ । शक्ति दाल उद्योगले पानी प्रशोधन केन्द्र बनाएको छैन ।

प्रदुषण नियन्त्रण समितिका सदस्य एवं जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले उद्योग अनुगमनको क्रममा त्रुटिहरु भेटिएको बताए ।

‘ब्रिटानियाको संरचना राम्रो छ । पानी प्रशोधन केन्द्र भएपनि झुक्याएर नदीमा फोहोर पानी खसाल्ने गरेको देखियो । त्यसो नगर्न चेतावनी दिएका छौं’, उनले भने, ‘शक्ति दाल मिलको अन म्याद गुज्रेको कुहिएको दाल भेटिएको छ । सम्बन्धित निकायलाई अध्ययनका लागि पठाएका छौं ।’

सिर्सिया नदीलाई दुर्गन्धित र प्रदुषित बनाउने गरी रसायनयुक्त लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई त्यसो नगर्न चेतावनी दिइएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिका संयोजक एवं वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलमले बताए ।

‘कतिपय उद्योगमा पानी प्रशोधन केन्द्र नै देखिएन । उद्योगले फोहोर पानी प्रशोधन नगरी फाल्न पाइदैन, दाल मिलमा कुहिएको दाल छ’, उनले भने, ‘उद्योगको लापरबाहीले नगरबासी विरामी हुने अवस्था छ । उनीहरुले अटेर गरे आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया थाल्छौं ।’

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा आइतबार बसेको बैठकले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि उद्योगहरुको अनुगमन गर्ने निर्णय गरेको थियो । समितिले हरेक साताको मंलबार बिहान ९ बजेदेखि १२ बजेसम्म सिर्सिया नदी आसपास रहेका उद्योगको स्थलगत निरीक्षण गर्नेछ ।

टोलीलाई नदीको नापजाँच गरी ‘राइट अफ वे’ तय गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?