
२९ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ ।
यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।
रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह चरणमा एक/एक खेल हारेको थिए । उता सेमिफाइनलसम्म आउँदा अपराजित रहेका क्रोएसिया र मोरक्को भने एक हारपछि नै विश्वकपबाट बाहिरिए ।
अब अर्जेन्टिना र फ्रान्सबीच आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।क्रोएसिया र मोरक्को त्यसअघि शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फुटबलको महाकुम्भ विश्वकपको २२औं संस्करणको फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सको केही संयोगहरु पनि छन् । दुवै दुई पटकको विश्व च्याम्पियन हुन् । अर्जेन्टिना छैटौं पटक र फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेका हुन् ।
दुवैले समान दुई पटक उपाधि जितेका छन् । अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।
सन् १९३० को पहिलो विश्वकपै फाइनल पुग्दा उरुग्वेसँग पराजित भएको अर्जेन्टिना १९९० र २०१४ को फाइनलमा पनि पराजित भएको थियो ।
उता फ्रान्सले १९९८ र २०१८ मा उपाधि जितेको थियो भने २००६ को फाइनलमा पराजित भएको थियो ।
अर्जेन्टिना र फ्रान्स दुवैले पहिलो विश्वकप घरेलु मैदानमा आयोजकको रुपमा जितेका थिए । अर्जेन्टिनाले १९७८ मा आफ्नै मैदान नेदरल्याण्ड्सलाई ३-१ ले हराएर उपाधि जितेको थियो ।
फ्रान्सले सन् १९९८ मा पहिलो पटक फाइनल पुग्दा साविक विजेता ब्राजिललाई ३-० ले हराएर पहिलो पटक उपाधि जितेको थियो ।
अब आइतबार लुसेल स्टेडियममा फाइनल जित्ने टिमले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ । जित्ने टिम सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा रहनेछ ।
अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने इटली र जर्मनीले समान चार पटक जितेका छन् ।
यस बाहेक उरुग्वेले २ पटक तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटक विश्वकप जितेका छन् ।
क्रोएसिया र मोरक्को सेमिफाइनल पराजित भएपछि यस पटक विश्वकपमा नयाँ विजेता नहुने पक्का भएको छ ।
अर्जेन्टिना र फ्रान्सको प्रदर्शन
अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित रुपमा २-१ ले पराजित हुनका बावजुत पनि फाइनल पुगेको हो । फ्रान्स भने समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।
पहिलो खेलमै हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने डरसमेत देखिएको थियो तर लिओनल मेसीको पेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले त्यसपछिका हरेक खेल जित्दै फाइनल यात्रा तय गरेको हो ।
अर्जेन्टिनाले अहिलेसम्म ६ खेल खेल्दा ३ खेलमा क्लिनसिट राखेको छ । एक खेल पेनाल्टीमा जितेको थियो । फ्रान्सले भने सेमिफाइनलमा मात्र क्लिनसिट राखेको थियो । क्वाटरफाइनलसम्म हरेक खेलमा गोल बेहोरेको फ्रान्सले ट्युनिसिया विरुद्ध गोल गर्न सकेन ।
अर्जेन्टिनाले जारी विश्वकपा १२ गोल गर्दा ५ गोल खाएको छ । अर्जेन्टिनाका लागि कप्तान मेसीले सर्वाधिक ५ गोल गर्दा युलियन अल्भारेजले ४ गोल गरेका छन् । एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र नाहुएल मोलिनाले समान १ गोल गरेका छन् ।
यस्तै फ्रान्सले अर्जेन्टिना भन्दा १ गोल बढी अर्था १३ गोल गरेको छ । जसमा किलिएन एमबाप्पेले ५ गोल गर्दा ओलिभर जिरुडले ४ गोल गरेका छन् । यस्तै एड्रिएन राबिओट, औरेलियन चुवामेनी, थियो हर्नान्डेज र रान्डलकोलो मुआमीले समान एक गोल गरेका छन् ।
जारी विश्वकपमा अर्जेन्टिनाका ५ खेलाडीले गोल गरेका छन् भने फ्रान्सका ६ खेलाडीले गोल गरेका छन् ।
पेरिस सेन्ट जर्मेनका सँगै खेल्ने मेसी र एमबाप्पेले यस विश्वकपमा समान ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको होडमा अघि छन् । मेसीले ३ असिस्ट समेत गरेका छन् भने एमबाप्पेले २ असिस्ट गरेका छन् । फाइनलमा गोल थप्नेले गोल्डेन बुट जित्नेछ ।
यही अवस्थामा कायम रहे मेसीले असिस्टमा एमबाप्पेलाई पछि पार्नेछ ।
यस्तै मेसी र एमबाप्पेपछि रहेका अर्जेन्टिनाका अल्भारेज र फ्रान्सका जिरुडले समान ४ गोल गरेका छन् । फाइनल दुई गोल गर्ने सके अल्भारेज र जिरुडलाई पनि गोल्डेनबुट जित्ने अवसर हुनेछ ।
फ्रान्सका लागि एन्टोइनी ग्रीजमनले यस विश्वकपमा प्लेमेकर भूमिका निर्वाह गर्दै तीन असिस्ट गरेका छन् । यस्तै थियो हर्नान्डेजले पनि एमबाप्पे समान २ असिस्ट गरेका छन् ।
सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि फेरि उपाधि जित्न सकेको छैन ।
अन्तिम विश्वकप खेलिरहेका मेसी यस पटक आफ्नै प्रेरणामा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउने योजनामा छन् ।
पूरा टिम नै अहिले मेसीका लागि विश्वकप जित्न मोटिभेट देखिएका छन् । उता मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टार एमबाप्पेको प्रदर्शनमा फ्रान्स ६० वर्षपछि लगातार दुई पटक विश्वकप विजेता बन्ने योजनामा छ ।
सन् १९५८ मा ब्राजिलले लगातार विश्वकप जितेयता कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेको छैन र फ्रान्स त्यसको नजिक भने पुगेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4