+
+

मधेश प्रदेशमा एमाले संसदीय दलको नेता को ?

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर २९ गते ९:२४

२९ मंसिर, जनकपुरधाम । २०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ ।

समानुपातिक सांसदको टुंगो लागेसंगै एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ ।

यसअघि दलको नेता रहेका सत्यनारायण मण्डल यसपटक सांसद छैनन् । दलको नेताका लागि आकांक्षी धेरै छन् । यद्यपि मुख्य दाबेदारका रुपमा चार जनालाई हेरिएको छ ।

रामचन्द्र मण्डल (धनुषा), हरिनारायण महतो (धनुषा), सरोजकुमार यादव (महोत्तरी) र राजकुमार लेखी (सप्तरी) को दलको नेता बन्नेमा धेरै चर्चा छ । चारैजना प्रत्यक्ष निर्वाचित एवं एमालेका केन्द्रीय सदस्य छन् ।

मण्डल दोस्रो पटक धनुषा १ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि उनी नेकपा माओवादी केन्द्रबाट जितेका थिए । माओवादीका प्रमुख सचेतक समेत रहेका मण्डल नेकपा टुक्रिएपछि एमालेमा गएका हुन् ।

माओवादीले कारबाही गरेपछि उनले एक वर्षअघि नै पद गुमाएका थिए । दोस्रो पटक निर्वाचित र संसदीय दलको नेतृत्व गर्ने क्षमता रहेकाले आफू दलको नेताको आकांक्षी रहेको उनले बताए । ‘दोस्रो पटक निर्वाचित एवं अनुभवी भएकाले दलको नेताको म आकांक्षी हुनु स्वभाविक हो । दलको नेताको लागि मेरो दाबी रहने छ । तर संगठनले गरेको निर्णय नै अन्तिम हुन्छ,’ उनले भने ।

तर एमाले भित्र भने मण्डल माओवादीबाट प्रभु साहसँगै आएकाले उनीमाथि शंकाको दृष्टिले हेर्ने पक्ष पनि छन् । यस विषयमा मण्डलले प्रभु साहको कारण केही असर आफूमाथि परे पनि उनी गइसकेकाले खासै असर नपर्ने तर्क गर्नछन् ।

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सरोज यादव महोत्तरी जिल्ला एमालेका अध्यक्ष समेत हुन् । वरिष्ठताका आधारमा भने सरोज यादवले आफू दलको नेता बन्नु पर्ने दाबी गर्छन् ।

‘म अहिलेको निर्वाचित पार्टीका प्रदेश सभा सदस्यहरु मध्ये केन्द्रीय कमिटीको सबभन्दा पुरानो मेम्बर मै हुँ,’ यादवले भने, ‘यो आधारमा पन सबैभन्दा सिनियर हुँ । तर पार्टीमा जो कोही दलका नेतामा आकांक्षीवा दाबी गर्न सक्छन् । पार्टीले जे निर्णय गर्छ त्यो नै सर्वमान्य हुन्छ ।’

दलको नेताको अर्का प्रवल दाबेदार हुन् हरिनारायण महतो । उनी दुई कार्यकालदेखि एमाले केन्द्रीय सदस्य हुन् । मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका महतोले धनुषा ४ (ख) बाट निर्वाचित छन् । उनी आफू दलको नेताको दाबेदार रहेको बताउँछन् । यद्यपि पार्टीले गरेको निर्णय अन्तिम हुने उनको भनाइ छ ।

राजकुमार लेखी तत्कालीन राजपाका नेता थिए । राजपा छाडेर एमालेमा लागेका उनी सप्तरी १ (क) बाट निर्वाचित छन् । उनले आफू पनि दलको नेताको आकांक्षी रहेको बताए ।

चर्चामा दोस्रो पटक महोत्तरी १ (क) बाट निर्वाचित सारदा देवी थापाको नाम पनि छ । यद्यपि उनले आफू दलको नेताको दौडमा नरहेको बताइन् । दलको नेताको दौडमा रहेका चारजना मध्ये दुईजना रामचन्द्र मण्डल अथवा सरोज यादव बन्ने प्रवल सम्भावना रहेको एक नवनिर्वाचित सांसदले बताए ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो हुँदा २२ सिटसहित कांग्रेस दोस्रो दलको हैसियतमा छ । यस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ ।

एमाले प्रदेश सभाको ठूलो दल भएपनि सरकार बाहिरै रहने सम्भावना छ । यो प्रदेशमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याएर सत्ता गठबन्धन घटक कांग्रेस सरकार निर्माणको कसरतमा छ ।

चुनावी गठबन्धन गरेको जसपाले समेत एमालेसँगको सहकार्य अन्त्यको घोषणा गरेकाले उसलाई सरकार बनाउन बहुमत पुर्याउन कठिन देखिन्छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?