 
																			२९ मंसिर, काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।
पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।
उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’
खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विभिन्न १० तरिकाले आफूलाई पराजित गरिएको दाबी गरेका छन् । निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको, पटक पटक मतदान भएको उनको आरोप छ ।
खनालले रिट निवेदनमा मतदानको प्रक्रिया उल्लंघन भएको, निर्वाचनमा संलग्न भएका व्यक्तिलाई प्रभावित पारिएको अनि अनुचित ढंगले सवारीसाधनको प्रयोग भएको आरोप लगाएका छन् ।
उनले १० प्रकारका आरोप लगाउँदै इलाम-१ को निर्वाचन बदर गरी फेरि मतदान हुनुपर्ने भनी माग राखेका छन् । उनले आफूलाई पराजित गराउने काममा संलग्न निर्वाचन अधिकृत र कर्मचारीहरुलाई विभागिय कारबाहीका लागि जरिवाना हुनुपर्ने आदेशको पनि माग गरेका छन् ।
इलाम-१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३०८९ मत पाएका थिए । खनालले धाँधलीपूर्वक बस्नेतलाई जिताइएको दाबी गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4