+
+

वीरगञ्जमा भेटिए ठेउलाका बिरामी

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर २९ गते २०:१२
वीरगञ्जको ठेउला प्रभावित क्षेत्रमा पुगेको स्वास्थ्यकर्मीको टोली ।

२९ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६ अठराह र सुगौलीमा ठेउला (चिकेन पक्स) का बिरामी भेटिएका छन् ।

वीरगञ्ज महानगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले गाउँमा निजी क्लिनिक समेत चलाउँदै आएका थिए । क्लिनिकमा केही दिनदेखि निरन्तर ठेउलाका बिरामी देखिएपछि उनले महानगरलाई जानकारी गराएका थिए ।

अठराह सुगौलीस्थित नलेज बोर्डिङ स्कुलका सुनिल गिरीका अनुसार विद्यार्थीमा एक सातादेखि शरीरमा बिबिरा देखिएको छ । ‘एक सातादेखि निरन्तर विद्यार्थीको शरीरमा बिबिरा देखियो । स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीलाई विद्यालय नआउन भनेका छौं’, उनले भने ।

महानगरले बुधबार स्वास्थ्यकर्मीको टोली पठाएर थप विवरण संकलन गरेको थियो । बुधबार र बिहीबार गाउँ टोलमा बुझ्दा ९१ जना बालबालिकामा चिकन पक्सको लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिइन् । ‘७५ जनामा संक्रमण निको भइसकेको छ । बाँकीको अवस्था पनि सामान्य छ’ उनले भनिन् ।

एकैपटक ठूलो संख्यामा ठेउला संक्रमित देखिएपछि महानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखासँग समन्वय गरेको उनले बताइन् । ‘ स्क्रिनिङ गरेका छौं, संक्रमित भेटिएको ठाउँमा आवश्यक सावधानी अपनाउन आग्रह ग¥यौं’, उनले भनिन् ‘कुनै समस्या भयो भने स्वास्थ्य संस्थामा आउन सल्लाह दिएका छौं ।’

स्वास्थ्यकर्मीले टोलमा पुगेर संक्रमित बालबालिका तथा अभिभावकलाई भेटेर आवश्यक सल्लाह सुझाव दिएका छन् । चिकेन पक्सको बारेमा सचेतना जगाउन स्वास्थ्य स्वंयसेविकालाई समेत टोलटोलमा परिचालन गरिएको वीरगञ्ज महानगरको स्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

भाइरसको संक्रमणबाट लाग्ने सरुवा रोग चिकेन पक्स हरेक वर्ष छिटफुट रुपमा देखिने गरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले बताए । ‘एकैपटक ठूलो संख्यामा एउटै गाउँमा देखिएको भने पहिलो पटक हो’, उनले भने ‘विशेष गरेर चिकेन पक्स २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा देखिने गरेको छ । तर यहाँ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिएको छ ।’

वीरगञ्जस्थित मेडिसिटी बयोधा हस्पिटलका डाक्टर राजीव यादवले भने चिकन पक्स देखिँदैमा आत्तिन नपर्ने बताए । २ देखि १४ दिनभित्रमा आफैं निको हुने खालको रोग भएपनि एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा सावधानी भने अपनाउनुपर्ने उनको भनाइ छ ।

‘भाइरसको संक्रमणबाट हुने यो रोग छिटो फैलने गर्छ । शरीरमा पानीको फोका जस्तो बिबिरा देखिने, चिलाउने, आँखाबाट आँसु आउने, खोक्ने, पीप समेत आउने हुन्छ’, उनले भने ‘संक्रमितको ¥याल, खकार र हाच्छ्यु गर्दा निस्कने छिटाबाट समेत यसको संक्रमण हुन्छ । संक्रमित बालबालिकालाई अन्य बालबालिकाको सम्पर्कमा आउन दिनुहुँदैन ।’

बालबालिकालाई विद्यालय नपठाउने, उसले प्रयोग गर्ने सामाग्री अरुलाई प्रयोग गर्न दिन नहुने डाक्टर यादवको भनाइ छ । ‘ ज्वरो आयो भने पारासिटामोल खाने, झोलिलो खानेकुरा खाने, आराम गर्ने हो’, उनले भने ‘अरु बालबालिकालाई सर्न नदिन बिरामीलाई आइसोलेट गर्नुपर्छ ।’

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई लामो समय ज्वरो निको नहुने, स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्ने भन्दै उनले त्यसो हुँदा नजिकको स्वास्थ्य संस्थामा लैजान सुझाव दिएका छन् । ठेउलाका कारणले पनि कतिपयको ज्यानै जाने भएकाले यो रोग लाग्न दिनु भन्दा पहिल्यै रोकथाम गर्नु बुद्धिमानी हुने उनको भनाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?