+
+

मनलाग्दी छ पोखराको सडक पार्किङ ठेक्का, सात महिना अघि नै म्याद थप

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष १ गते ८:४०

१ पुस, पोखरा । फेवा सावित्री जेभीले पोखरा महानगरका मुख्य सडकमा पार्किङ गरेवापत शुल्क उठाउने दुईवर्षे सम्झौता गरेको थियो । उक्त सम्झौताको अवधि मंसिर २७ गतेसम्म थियो । तर,  सात महिना अगाडि नै आगामी चैत मसान्तसम्म शुल्क उठाउन पाउने गरी महानगरले ठेकेदार कम्पनीलाई म्याद थपिदिएको खुलेको छ ।

निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकाल सकिनैलाग्दा ठेकेदार कम्पनीलाई महानगरले ०७९ बैशाख २२ गते चार महिना म्याद थपिदिएको हो । म्याद थपिएको पत्रअनुसार अब फेवा, सावित्री जेभीले चैत मसान्तसम्म पार्किङ शुल्क उठाउन पाउनेछ । म्याद थपको कारण भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना महामारीलाई देखाइएको छ ।

पोखरा महानगर राजश्व अधिकृत कृष्णप्रसाद तिवारीका अनुसार राजश्व परामर्श समितिकै सिफारिसअनुसार ठेकेदार कम्पनीको म्याद थप गरिएको हो । राजश्व परामर्श समितिले ०७८ माघ ६ गते नै ठेकेदार कम्पनीसँग म्याद थप्न सिफारिस गरेको उनको भनाइ छ ।

तर, गुपचुप ठेकेदार कम्पनीसँग म्याद थप गरिएपछि महानगरकै अन्य कर्मचारी पनि चकित छन् । ‘यत्रो ठूलो ठेक्का कर्मचारीको हस्ताक्षरमा म्याद थपिएको छ । अरुलाई जानकारी नै भएन, हामीले पनि बल्ल थाहा पायौं,’ महानगरका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

पोखरा महानगरले सडक पार्किङ शुल्क उठाउन जेभीसँग ०७७ मंसिर १४ गते सम्झौता गरेको थियो । महानगरले जेभीसँग २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । जसअनुसार प्रत्येक किस्तामा महानगरले ६३ लाख ३४ हजार रुपैयाँ पाउने उल्लेख छ ।

महानगरले पार्किङका लागि पटक–पटक ठेक्का आह्वान गर्नुपरेको थियो । ३ पटकसम्म सूचना आह्वान गर्दा पनि कसैको आवेदन नपरेपछि महानगरले मूल्य घटाएर चौंथो पटक टेन्डर आह्वान गरेको थियो । पहिलो पटक महानगरले सडक पार्किङको शुल्क उठाउन ०७५ असोज ६ गते सूचना जारी गरेको थियो । त्यतिबेला महानगरले न्यूनतम ७ करोड ७५ लाख रुपैयाँ तोकेको थियो ।

फेवा–सावित्री जेभीले पहिलो पटक तोकिएको मूल्यको आधाभन्दा कम मूल्यमा टेन्डर हात पारेको थियो । बढी मूल्यमा पटकपटक टेन्डर जारी गर्दा पनि आवेदन नपर्नुमा भने त्यतिबेलै ठेकेदार कम्पनी र महानगरको ‘सेटिङ’ रहेको स्रोतको दाबी छ । ‘सडक पार्किङ पोखरामा राम्रो आम्दानी हुने ठाउँमा पर्छ । कुनै पनि कम्पनीको आवेदन नपर्नु ठेक्का मूल्य घटाउनकै लागि थियो,’ स्रोतको दाबी छ ।

महानगरको विरोध

पोखरा महानगरका हालका मेयर धनराज आचार्यले म्याद सकिएपछि सडकबाट शुल्क उठाएर पार्किङ गर्न बन्द गरिने र नयाँ विकल्प खोजेर व्यवस्थित गरिने बताउँदै आएका थिए । तर, २७ गते सकिएपछि पनि शुल्क उठाउन बन्द नभएपछि जनस्तरबाट विरोध हुन थालेको छ ।

‘मेयर सा’ब ! हिजोबाट ठेक्का सकियो । तर, मनोमानी आज किन ? पोखराको पार्किङ व्यवस्थापन र निःशुल्क गर्छु भन्ने योजना जीवित छ कि मर्‍यो ?’ अभिमन्यु पाण्डेले फेसबुकमा आफूले तिरेको शुल्कको बिल पोस्ट गर्दै लेखेका छन् ।

महानगरका सूचना अधिकारी जीतेन्द्रजंग केसीले अघिल्लै सरकारका बेला ठेक्का सम्झौता म्याद थप भएकाले आफूलाई पनि धेरै जानकारी नभएको बताए ।

महानगर प्रवक्ता तथा पोखरा महानगर २५ का वडाध्यक्ष मोति तिमिल्सिना अघिल्लै सरकारले चैतसम्म म्याद थपेकाले अहिले त्यसैलाई निरन्तरता दिइने बताए । ‘मेयर साबले यो म्याद सकिएपछि शुल्क नउठाउने भन्नु भएको हो । उहाँहरुको चैतसम्म म्याद थपिएको छ,’ उनले भने ।

कोरोना महामारीलाई कारण देखाएर म्याद थपे पनि ठेकेदार कम्पनीले नियमित रुपमा किस्ता नतिरेको पाइएको प्रवक्ता तिमिल्सिनाले सुनाए । उनले ठेकेदार कम्पनीले ३ किस्ता नबुझाएको जानकारी दिए । ‘अहिले उहाँहरुको किस्तामा इ–रेगुलर देखिन्छ । किस्ता समयमा तिरेका छैनन्,’ उनले भने, ‘त्यसका लागि फ्लोअप गर्नुपर्नेछ ।’

चैत महिनापछि सडक पार्किङको विषयमा के गर्ने भन्नेबारे विकल्पको खोजी भइरहेको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । ‘मेयर साबले अब सडक पार्किङको शुल्क नलिने भन्नुभाछ । विकल्प खोजिराखेका छौं,’ उनले भने ।

कहाँ कति उठाउँछन् शुल्क ?

महानगरले सडक पार्किङको चापअनुसार शुल्क तोकेको छ । जसअनुसार सेती नदी पुल, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, नागढुंगालगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँ सवारी धनीले तिर्दै आएका छन् ।

त्यस्तै, कार, जिप प्रतिघन्टा २० तथा मोटरसाइकल र स्कुटर प्रतिदिन १० रुपैयाँका दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउँछन् ।

अन्य सडकअन्तर्गत अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हुँदै छोरेपाटनसम्म, पालिखे चोकदेखि नदीपुर बगर हुँदै केआईसिंह पुललगायतका ठाउँमा पनि सवारी धनीले पार्किङ शुल्क तिर्नुपर्दछ ।

ती ठाउँमा ठूला बस–ट्रकधनीले प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबसले प्रतिघन्टा २० तथा कार, जिप, भ्यानले प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटर धनीले प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क तिर्दै आएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?