+
+

सम्झनामा सीमित ‘सगरमाथाको ढोका’

पर्यटकीय मौसममा यहाँ विदेशीको भीड थामिनसक्नुहुन्थ्यो । बाटोभरि विदेशी हुन्थे । विदेशी र तिनका भरियाले गर्दा बाटोमा दोहोरो हिंड्ने ठाउँ पनि हुन्थेन । अब त यो सबै सम्झना मात्र हो ।

टंक जिरेल, पूर्व मेयर तथा गाविस अध्यक्ष टंक जिरेल, पूर्व मेयर तथा गाविस अध्यक्ष
२०७९ पुष १ गते १९:५०

सगरमाथा क्षेत्र जानका लागि अहिले जस्तो सडक र हवाई सुविधा नहुँदा जिरी हराभरा थियो । शाही नेपाली वायु सेवा निगमका केही जहाज मात्र सगरमाथा क्षेत्रमा जान्थे । ती जहाजमा ठूलाबडाले मात्र टिकट पाउँथे । त्यसैले जिरी हुँदै जानुको विकल्प थिएन ।

जिरी नटेकिकन सगरमाथा पुग्न सकिंदैनथ्यो । त्यसकारण मान्छेहरूले जिरीलाई ‘गेट वे अफ एभरेष्ट’ भने । अहिले सोलुखुम्बुमा खोटाङ, ओखलढुंगा सबैतिरबाट सडक पुगिसक्यो । हवाई मार्ग पनि सजिलो भयो । हामी त यहाँ बसेर आकाशमा उडेका प्लेन गन्ने मात्र अवस्थामा पुग्यौं ।

मान्छेहरूले सुविधा पाए । यो सुविधाको मारमा पर्‍यो जिरी । जिरी मात्र होइन, यहाँभन्दा अगाडि रहेका शिवालय, ठोसे पनि यसरी नै मारमा परे । पर्यटकको भरमा चलेका बजार सबै डुबे ।
जिरीमा बैंकको ऋण तिर्न नसकेर होटल सञ्चालक डुबिरहेका छन् ।

सडक मार्ग सबैतिर नहुँदा जिरी केन्द्र थियो । मान्छेहरू आउजाउ गर्ने, चहलपहल भइरहन्थ्यो । २०४० सालतिर त जिरी ठूलो बजार थियो । विदेशी पर्यटकका लागि मात्र होइन यहाँभन्दा माथितिरका बस्तीका मान्छेको किनमेल गर्ने थलो थियो । तर, समस्या के थियो भने यहाँ सबै व्यापारी बाहिरका थिए । सोलुखुम्बु, धुलिखेल, बनेपा, काठमाडौंका व्यापारी थिए ।

विगतमा भएका स्वीस शैलीका घरहरूलाई निरन्तरता दिऊँ भन्ने प्रस्ताव पनि राखेको थिएँ । अरू कतिपय आउँदा पहिले जस्तै घरहरू बनाउँदा हुँदैन भनेर पनि सोध्नुभएको थियो । तर, मैले निकै कोसिस गरे पनि सकिन

पर्यटकीय मौसममा यहाँ विदेशीको भीड थामिनसक्नुहुन्थ्यो । बाटोभरि विदेशी हुन्थे । विदेशी र तिनका भरियाले गर्दा बाटोमा दोहोरो हिंड्ने ठाउँ पनि हुन्थेन । अब त यो सबै सम्झना मात्र हो ।

जिरीको मुख्य बजारलाई लिंकन बजार भनेर नामकरण गर्ने स्वीसहरू नै हुन् । स्वीसहरूले कृषि फार्मको बाहिर एउटा क्यान्टिन चलाएका थिए । त्यहाँ चिया, कफी मात्र पाइन्थ्यो । रक्सी, तासका लागि यहाँ ठाउँ थिएन । जिरी बजार बसेकै थिएन ।

क्षयरोगको उपचार गर्न आएका शिवबहादुर कार्की भन्ने मान्छेले बजारमा सानो कटेरो बनाएर जाँड, रक्सी बेच्न सुरु गरे । तास पनि खेलाउन थाले । यहाँ काम गर्ने स्वीसहरू शुक्रबारको दिन शिवबहादुरको पसलमा जम्मा हुन थाले ।

तास पनि खेल्न पाइने भएकाले उनीहरूले त्यो पसलको नाम लिंकन राखे । उनीहरूको तिर लिंकन भन्ने क्यासिनो थियो क्यार ! अनि यो बजारको नाम लिंकन बजार रह्यो ।
जिरी अस्पताल चर्चित थियो । क्षयरोगको उपचारका लागि यहाँ मधेशको धनुषा, महोत्तरी र भारतबाट समेत मान्छे आउँथे ।

अब विदेशी पर्यटक बोलाउन सकिने अवस्था छैन । सगरमाथा सहजै पुग्न सकिन्छ भने कोही किन यति लामो बाटो आउँछ ? कोही यो बाटो आइहाले पनि गौरीशंकर संरक्षणका नाममा विदेशीसँग ३ हजार रुपैयाँ असुलिन्छ । एक त हिंडेर आउनु छ अर्को ३ हजार पनि तिर्नुछ ।

३ हजार रुपैयाँमा त विदेशीहरू गाडी चढेर जान्छन् । त्यसैले अब स्वदेशी पर्यटक आकर्षित गर्न हामीले जिरी तालको योजना अगाडि सारेका छौंं । यसको विस्तृत परियोजना प्रतिवेदन पनि तयार भइसक्यो । त्यो डीपीआरमै जिरी मृत शहर भइसक्यो र अब यसलाई ब्युँताउनका लागि ताल चाहिन्छ भनेका छौं ।

स्वदेशी पर्यटक आकर्षित गर्न भनेर हामीले अर्गानिक जिरी अभियान पनि चलाएका छौं । यहाँ पनि बाहिर जस्तै खानका लागि पर्यटकहरू आउँदैनन् । यहाँको लोकल आलु, चिज, अरू तरकारी उत्पादनहरूको भरपूर प्रयोग गरेर जिरीमा अर्गानिक वस्तु मात्रै पाइन्छ भन्ने सन्देश दिनु जरूरी छ ।

पहिलेको तुलनामा अहिले परिस्थिति फेरिएको छ । त्यसैले होटल व्यवसायीहरूले आतिथ्यको शैली परिवर्तन गर्नुपर्छ । पर्यटकलाई गर्ने व्यवहार परिवर्तन गर्नुपर्छ । जिरी खास चल्ने भनेको आन्तरिक पर्यटकबाटै हो ।

विगतमा पनि विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपाली पर्यटकले गर्ने खर्च नै बढी हुन्थ्यो । विदेशी पर्यटकले निकै समयसम्म बार्गेनिङ गरेर मात्र सुविधा लिने गरेको हाम्रो अनुभव छ भने नेपाली दाजुभाइले त्यसको मूल्य नै नसोधी खरिद गर्नुहुन्छ ।

विगतमा भएका स्वीस शैलीका घरहरूलाई निरन्तरता दिऊँ भन्ने प्रस्ताव पनि राखेको थिएँ । अरू कतिपय आउँदा पहिले जस्तै घरहरू बनाउँदा हुँदैन भनेर पनि सोध्नुभएको थियो । तर, मैले निकै कोसिस गरे पनि नसकेको कुरा हो ।

भूकम्पपछि स्वीस शैलीका सबै घरहरू भत्किए । नयाँ बनाउँदा सबैले आफूखुशी घरहरू बनाउँदा जिरीको चिनारी मेटियो । निकै गर्दा पनि एउटै शैलीको घर बनाउन सकिएन ।

(जिरी नगरपालिकाका पूर्वमेयर जिरेलसँग अनलाइनखबरकर्मी गौरव पोखरेल र सागर चन्दले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?