+
+
अन्तरर्वार्ता :

‘जिरीलाई रि–ब्राण्डिङ गर्छौं’ : मित्रबहादुर जिरेल, मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १९:४८

१ पुस, दोलखा । कुनै समय सगरमाथा आधार शिविर पुग्नेका लागि ‘गेट वे’ मानिने जिरी अहिले सुनसान प्रायः रहन्छ । सोलुखुम्बुसम्मै सडकको सहज पहुँच र काठमाडौं–लुक्ला हवाई यात्राको पनि सुविधा भएकाले आजभोलि जिरीको बाटो पर्यटकहरूले प्रयोग गर्दैनन् ।

भूगर्भविद् टोनी हागनले स्वीट्जरल्याण्डको शहर जुरिचसँग जिरीलाई तुलना गरिदिएपछि यसको परिचय नेपालको स्वीट्जरल्याण्डको रूपमा भएको थियो । लामो समयसम्म जिरीमा स्वीस परियोजनाले नै काम गर्‍यो।

अहिले जिरीमा न पहिले जस्तो विदेशी परियोजना छ, न विगतमा स्वीस शैलीमा बनाइएका घरहरू नै बाँकी छन् । त्यसैले जिरीवासी भन्छन्, ‘यो मृत शहर बनिसक्यो !’

तर, जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेल त्यो मान्न तयार छैनन् । भन्छन्, ‘जिरीलाई नयाँ स्वरुपमा रि–ब्राण्डिङ गर्ने तयारीमा छौं ।’

अनलाइनखबरकर्मी गौरव पोखरेल र सागर चन्दसँग अन्तर्वार्ता दिंदै उनले आन्तरिक पर्यटकलाई लक्षित गरेर जिरीलाई नयाँ ढाँचामा लैजाने योजना अघि सारिएको बताएका छन् ।

प्रस्तुत छ, मेयर जिरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

कुनै बेलाको गुल्जार जिरी बजार आजभोलि किन सुनसान भयो ?

गएका २०/३० वर्षमा जस्तो चहलपहल यतिखेर जिरीमा छैन । किनभने पहिले सगरमाथा क्षेत्रमा जाने एक मात्र बाटो थियो जिरी । तर, अहिले धेरैतिर सडकको सहज पहुँच भएको छ । हवाई मार्ग पनि सहज भएको छ ।

कुनै समय सडक पुगेको यस क्षेत्रको अन्तिम बिन्दु थियो, जिरी । तर, अब सडक जिरीभन्दा निकै अगाडि गइसक्यो । त्यसकारण स्वाभाविक रूपमा मानिसको चहलपहल यहाँ कम छ ।

जिरी पुग्ने बाटो दुई–तीन वर्ष अगाडिसम्म अत्यन्तै खराब थियो । यस कारण आन्तरिक पर्यटकको संख्या पनि घट्यो । विदेशी पर्यटक कम हुँदै गएपछि आन्तरिक पर्यटकलाई आकर्षित गर्न हामीले बनाउनुपर्ने पूर्वाधार पनि समयमा बनाउन सकेनौं ।

अब विदेशी पर्यटकको भरमा मात्र हामी छैनौं । सगरमाथाको प्रवेशद्वार, विदेशी पर्यटक आउने भन्ने कुरा अब पुरानो भइसक्यो ।

हामी आन्तरिक पर्यटनमा जोड दिंदैछौं । आन्तरिक पर्यटक बढाउनका लागि हाम्रा होटल व्यवसायीलाई पनि तयार पार्दैछौं । हाम्रो क्षेत्रमा आन्तरिक पर्यटक आकर्षित गर्ने काम पनि गरिरहेका छौं । वडा नं १ को खिम्ती खोला किनारमा स्टोन पार्क तयार भएको छ । गुरु रिम्पोछेको मूर्ति तयार हुँदैछ । यो तयार भएपछि बुद्ध धर्मावलम्बीहरू आउँछन् भन्ने विश्वास छ ।

यसैगरी जिरी तालको डीपीआर तयार भएर प्रदेश सरकारले १५ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । चेर्दुङ्ग एकीकृत विकास परियोजनाअन्तर्गत विभिन्न काम गरिरहेका छौं । खावाबाट गुराँस पार्कहुँदै गुरु रिम्पोछेको मूर्तिसम्म साइकल तथा हाइकिङका लागि बाटो बनाउने काम भइरहेको छ । यी सबै तयार भएपछि विस्तारै मान्छेको चहलपहल बढ्छ भन्ने लागिरहेको छ ।

विगतमा जिरी स्वीसहरूका कारण चर्चित भयो । सगरमाथा जाने बाटोका रूपमा विदेशी आउजाउ गर्ने थलो बन्यो । आजको जिरीको परिचय त्यही विगत हो कि नयाँ केही छ ?

जिरी त त्यही हो । तर, यसको पहिचान भने फेरिंदैछ । हामी यसलाई अर्गानिक जिरीका रूपमा विकास गर्न खोजिरहेका छौं । हामी शहरका मान्छेलाई अर्गानिक खाना खान पाउने ठाउँका साथै मनमोहक दृश्यावलोकन गर्न पाइने ठाउँका रूपमा जिरीलाई विकास गर्दैछौं ।

जिरेल जातिको बसोबास भएको यो क्षेत्र जिरेल जातिमाथि अध्ययन गर्नेहरूका लागि विश्वविद्यालय नै हो । यहाँको जडीबुटी र प्राकृतिक सम्पदाको सदुपयोग गरेर नयाँ पहिचान बनाउने योजनामा छौं ।

धेरै मान्छेले स्वीसले गरेको विकास र अहिलेको विकास तुलना गर्दै स्वीसले गरेजस्तो भएन भन्ने गुनासो गर्ने रहेछन् नि ?

हिजो स्वीसले गरेको काम र अहिले नेपाल सरकारले लिइसकेपछि स्वाभाविक रूपमा मान्छेहरूले फरक महसुस गरेकै छन् । मैले पनि यस्तो महसुस गरेको छु । अस्पताल, शिक्षा वा अन्य कुरामा सबैले यस्तो महसुस गरेका छन् । तर, हामीले हाम्रो क्षमता र औकातले भ्याएसम्म गरिरहेका छौं ।

यहाँको भूगोल सुन्दर नै छ । हामी ताल पनि बनाउँदैछौं । त्यसैले अब जिरी इतिहासको बलमा आफूलाई ‘रि–ब्राण्डिङ’ गर्छ

उपचारका लागि आवश्यक सबै प्रविधि भएर पनि अस्पतालमा डाक्टर भने रहेनछन् नि !

२०१४ सालमा स्वीसले त्यो अस्पतालमा आफ्नै प्राविधिक र डाक्टर ल्याए । उनीहरू सधैं यहाँ बस्ने कुरा पनि भएन । उनीहरूले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि जिरी अस्पताल दोलखा जिल्ला अस्पताल भयो ।

तर, संघीयता लागू भएसँगै जिल्ला अस्पतालको कन्सेप्ट नै हरायो । जिरी अस्पताल यतिखेर हाम्रो मातहतमा छ । हामीले त्यहाँ चिकित्सक, मेडिकल अफिसर, प्यारा मेडिक्स, नर्स राख्न सकेका छैनाैं । स्थानीय सरकारले हेर्ने भनेपछि जनशक्ति पनि आउन नमान्ने रहेछन् । अनि हिजो सबै प्रकारको सेवा–सुविधा पाइरहेका जनता अहिले केही नपाएपछि स्वाभाविक रूपमा गुनासो गर्छन् ।

जिरी अस्पताल भूकम्पपछि जर्मन सरकारले राम्रो बनाइदिएको छ । उपचारका लागि चाहिने सबै औजार, प्रविधि छन् तर जनशक्ति छैन । जनशक्ति व्यवस्थापनमा म अहोरात्र खटिएको छु । चाँडै नै यहाँ डाक्टर आउँछन् ।

तर, एमडीजीपी डाक्टरले माग गर्ने तलब दिनसक्ने अवस्थामा हामी छैनौं । हाम्रो वार्षिक आम्दानी ५०/६० लाख छ, डाक्टरले पाँच लाख तलब माग्छन् । यो त हामी दिनै सक्दैनौं ।

जिरी नगरपालिकाले व्यापारिक कम्प्लेक्स पनि बनाएको रहेछ, मान्छेको चहलपहल छैन व्यापारिक कम्प्लेक्स किन ?

व्यापारिक कम्प्लेक्स बनाएको ठाउँ बसपार्क हो । त्यहाँ वरिपरि सबै झुप्रा बस्ती थिए । अघिल्लो मेयर (टंक जिरेल) ले त्यहाँका झुप्रा बस्ती हटाएर त्यहाँ व्यापारिक कम्प्लेक्स बनाउनुभएको हो । त्यो कम्प्लेक्समा ती बस्तीमा बस्ने मान्छेलाई नै व्यापार गर्न दिने योजना हो, नगरपालिकाको ।

नेपालको स्वीट्जरल्याण्ड भन्ने परिचय बनाएको जिरी अब त्यही पुरानै परिचय लिएर अगाडि बढ्छ कि आफूलाई ‘रि–ब्राण्डिङ’ गर्छ ?

स्वीस स्टाइलमा बनेका यहाँका घर थिए तर, सबै भूकम्पपछि भत्किए । हामीले त्यही पुरानै स्टाइलमा घर बनाऊ भनेर मान्छेलाई ‘डिक्टेट’ गर्न सकेनौं । यहाँको भूगोल सुन्दर नै छ । हामी ताल पनि बनाउँदैछौं । त्यसैले अब जिरी इतिहासको बलमा आफूलाई ‘रि–ब्राण्डिङ’ गर्छ ।

स्वीसको पालादेखिका अहिलेसम्म चलिरहेका संस्थाहरू के कस्ता छन् ?

स्वीसहरूले २०१८ सालमा स्थापना गरेको चिज उद्योग चलिरहेको छ । जिरी प्राविधिक शिक्षालय पनि चलिरहेको छ । भूकम्पले भत्किएपछि नयाँ संरचना बने पनि जिरी अस्पताल स्वीसले नै स्थापना गरेका हुन् । अहिलेको गाई आनुवंशिक स्रोत विकास केन्द्र पनि स्वीसहरूले नै चलाएका हुन् ।

स्वीसहरूले सुरु गरेर असफल भएको योजना जिरी विमानस्थल मात्रै हो । हामीले धेरै प्रयत्न गर्दा पनि विमानस्थल चलाउन सकेनौं । नागरिक उड्डयन मन्त्रालयको अध्ययनले नै जिरीमा विमानस्थल बनाउन सम्भव छैन भन्ने देखायो ।

विमानस्थल जिरीको आवश्यकता हो र ?

मान्छेको खडेरी परेको छ, यो अवस्थामै विमानस्थल बनायौं भने पनि चल्दैन । गुरु रिम्पोछेको मूर्ति र ताल बनेपछि अनि चेर्दुङ एकीकृत परियोजना व्यवस्थित रूपमा लागू गरेर पर्यटक बढाउन सक्यौं भने विमानस्थल चाहिन्छ नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?