+
+

बाध्यताले राजनीतिमा आएकी रञ्जिता श्रेष्ठ

सागर चन्द दिपेश शाही सागर चन्द, दिपेश शाही
२०७९ पुष ३ गते ६:४७

३ पुस, काठमाडौं । फरार रेशम चौधरीलाई २०७४ को चुनाव जिताएकी रञ्जिता श्रेष्ठ चौधरी यसपटक आफैं चुनावी मैदानमा उत्रिइन् । २०७२ अगाडिसम्म सञ्चारकर्ममा सक्रिय रहेकी श्रेष्ठ २०७४ यता राजनीतिक गल्लीमा देखा परिन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँदै कैलाली- १ बाट ३० हजार बढी मत ल्याएर चुनाव जितिसकेपछि श्रेष्ठ यतिखेर राजनीतिको मूलबाटोमा छिन् ।

राजनीतिको पर्दामा देखिनु रहर नभई बाध्यता भएको रञ्जिता बताउँछिन् । उनका अनुसार २०७२ भदौ ७ मा टीकापुरमा ८ जनाको ज्यान जाने गरी भएको घटनाले श्रीमान् रेशम चौधरीलाई जेल पुर्‍यायो भने श्रेष्ठलाई राजनीतिमा आउन बाध्य बनायो ।

तीन सिटसहित उनको पार्टी संसदमा आउने भएपछि यतिखेर सरकारले रेशम चौधरीलाई रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन गरेर अध्यादेश तयार पारेको छ । नयाँ बन्ने सरकारमा श्रेष्ठ नेतृत्वको पार्टीलाई पनि सामेल गराउने राजनीतिक वृत्तमा चर्चा छ । तर, श्रेष्ठ भने आफू यी सबै हल्लाबाट बाहिरै रहेको दाबी गर्छिन् । सरकारमा सहभागी हुने वा नहुने विषयमा जेलबाट नै रेशमले नेताहरुसँग संवाद गरिरहेका छन् ।

काठमाडौंकी रैथाने रञ्जिता र रेशमले २०५५ मा विवाह गरे । रसियन सांस्कृतिक केन्द्रमा भएको एक कार्यक्रममा रेशमसँग चिनजान भएपछि रञ्जिता र रेशम नजिकिए ।

२०५५ भदौमा विवाह गर्दा रञ्जिता १५ वर्षकी मात्र थिइन् । ‘सानैमा विवाह गरेकाले होला रेशमले मलाई अहिले पनि सानै ठान्छन्, हरेक कुरा सिकाउँछन्’, श्रेष्ठले हाँस्दै भनिन् ।

काठमाडौंको जेभियर स्कुलमा पढाइरहेकी रञ्जिता विवाहपछि कैलालीको टीकापुर गइन् । टीकापुर पुगेर रञ्जिता र रेशमले फूलबारी एफएम चलाए । सुदूरपश्चिमको चर्चित यो रेडियोको भवनमा २०७२ भदौ ७ गते टीकापुर घटना भएको भोलिपल्ट आगजनी भयो । रञ्जिता र रेशमको घर र उनीहरुले सञ्चालन गरेको रिसोर्ट पनि आगजनीको शिकार भयो ।

यो घटनापछि रेशम लामो समय ‘भूमिगत’ भए । रञ्जिताले पनि टीकापुर छाड्न खोजेकी थिइन् । घटनापछि परिवारका लागि टीकापुर असुरक्षित भएको भन्दै रञ्जिताले काठमाडौं बस्ने सोच बनाएकी थिइन् । तर त्यसको ७ वर्षपछि रञ्जिता यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । ७ वर्ष अगाडिको सन्दर्भ कोट्याउँदै उनले भनिन्, ‘सारै चित्त दुखेको थियो । त्यही पीडामा मैले टीकापुर छाड्ने कुरा गरेकी थिएँ ।’

टीकापुरको हिंसात्मक घटना र त्यसपछि रेशम र थारु समुदायले भोगेको पीडापछि टीकापुरप्रति आफ्नो प्रेम र लगाव झनै बढेको रञ्जिता बताउँछिन् । रेशमले आफूलाई भनेको कुरा सम्झिंदै उनले भनिन्, ‘म मरेपछि तिमीले रुनुपर्छ । तिमीले चुरा फुटाउनुपर्छ, म जहाँ गयो तिमी त्यहीं जानुपर्छ भन्नुभयो । त्यसपछि मैले टीकापुर नछाड्ने निधो गरें ।’ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशम निर्वाचित भएपछि रञ्जिता टीकापुरमा झनै सक्रिय भइन् ।

२०७४ र २०७९ का दुई चुनाव जितेर थारु समुदायले आफ्नो निर्दोषिता दुई पटक प्रमाणित गरिसकेको उनको बुझाइ छ । ‘हामीले गल्ती गरेका थियौं भने त जनताले चुनाव हराउँथे । हामी निर्दोष थियौं त्यही भएर त जनताले चुनाव जिताए’, रञ्जिता भन्छिन् ।

रेशम रिहा हुने प्रतीक्षामा बितेका पाँच वर्ष

टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशम २०७५ सालदेखि जेलमा छन् । २०७५ यताका हरेक दिन रेशम छुट्ने आशैआशमा बिताइन् रञ्जिताले । निर्वाचित भएको एक वर्षपछि १९ पुस २०७५ रेशम शपथ लिन सिंहदरबार पुगेपछि रञ्जिताले अब श्रीमानलाई जेल लाँदैनन् भन्ने ठानेकी थिइन् । त्यसदिन उनले भनेकी थिइन्, ‘अब त छुट्नुहुन्छ होला ।’

तर, उनको अपेक्षा विपरीत शपथपछि चौधरीलाई डिल्लीबजार जेल लगियो । चौधरी यी पाँच वर्षमा चर्चामा रहिरहे । जतिपटक चौधरी राजनीतिक विषयको केन्द्र बन्थे त्यतिपटक रञ्जिताको मनमा आश जाग्थ्यो ।

‘कहिले नेताहरु आएर रेशमजी निर्दोष भएको सुनाउँथे र लाग्थ्यो अब छुट्छन् । कहिले सरकारसँग सम्झौता हुन्थ्यो, लाग्थ्यो अब त छुट्नुहुन्छ । कहिले नेताहरु जेलमै भेट्न जान्थे र लाग्थ्यो अब छुट्छन् । सर्वोच्च अदालतमा पेशी चढेको दिन लाग्थ्यो अब त छुट्छन् । तर, उहाँ छुट्नुभएन’, हरेक दिन आशा निराशामा बद्लिरह्यो।

निराशाका यी पाँच वर्षमा रेशमले नै रञ्जितालाई हौसला दिइरहे । ‘उहाँको बलियो साथ नभएको भए सायद म डिप्रेसनमा जान्थें’, रञ्जिता भन्छिन् ।

जेलमा बसेरै किताब, पार्टीको घोषणापत्र, पार्टीको चुनावी गीत लेख्ने राजनीतिक अभ्यास गर्ने रेशमको सक्रियता र आत्मविश्वासले रञ्जितालाई पनि बलियो बनाउन मद्दत गर्‍यो ।

प्रमुख दलहरुले चौधरीलाई राजनीतिक हतियार बनाएपछि न हो रञ्जिता आफैं राजनीतिक मैदानमा उत्रिएकी । पुराना दलहरुबाट पार नलाग्ने निष्कर्षमा पुगेपछि नै हो रेशमले श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी खोलेको ।

गएका पाँच वर्ष राज्यसँग गुहार मागिरहेकी रञ्जिता यतिखेर सांसदको शक्तिसहित आफैं सत्तासँग संवाद गर्ने ठाउँमा पुगेकी छिन् । यही शक्तिको नतिजा र सत्तारुढ दलको सत्तामै रहिरहने स्वार्थले चौधरीको रिहाइका खातिर अध्यादेश तयार पारेको छ ।

‘यो अध्यादेशले टीकापुर घटनाका राजबन्दीहरु रिहा भए भने त न्याय हुन्छ’ रंञ्जिता शंका गर्छिन्, ‘यही अध्यादेशका आधारमा अन्य घटनाको दोषीहरु पनि मुक्त भए भने राम्रो म्यासेज जाँदैन ।’

त्यसैले रञ्जिता आफूहरुले सरकारसँग क्षमा नभई न्याय मागेको बताउँछिन् । भन्छिन्, ‘हामीले सरकारसँग क्षमा होइन न्याय मागेका हौं । हामीलाई क्षमादान होइन न्याय चाहिएको हो ।’

तत्कालीन जनता समाजवादी पार्टी विभाजित हुन हस्ताक्षर गर्न निर्वाचन आयोग लगिएका रेशम चौधरीले ११ साउन २०७८ मा न्यायको गुहार मागेका थिए । उनले त्यतिखेर भनेका थिए, ‘श्रीमान् ! न्याय देऊ हामीलाई, क्षमा चाहिंदैन । दोषीलाई दण्ड देऊ, निर्दोषलाई थुन्न पाइँदैन ।’

चौधरीको रिहाइका लागि शीर्ष राजनीतिक दलका नेताहरुले गएका पाँच वर्षमा बारम्बार बोली फेरे । गृहमन्त्री पदमा रहेकै बेला रामबहादुर थापा ‘बादल’ चौधरीको रिहाइका लागि भइरहेको आन्दोलनमा सहभागी हुन माइतीघरमण्डलमा पुगे । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सोही पार्टीका नेता महेश बस्नेत चौधरीलाई भेट्न जेलमै गए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चौधरी निर्दोष हुन् भने ।

‘तर, कसैले पनि टीकापुर घटनाका बन्दीलाई छुटाउने प्रयास गरेनन’ रञ्जिताको आपत्ति छ, ‘सबैले टीकापुर र थारुमाथि राजनीति गरे ।’

चौधरीलाई संरक्षक राखेर खुलेको नागरिक उन्मुक्ति पार्टीको मुख्य एजेण्डा नै टीकापुर घटनामा दोषी करार गरेर जेलमा राखिएकाको रिहाइ हो ।

टीकापुर घटनाका पीडित एकै ठाउँमा छौं

टीकापुर घटनामा मारिएका व्यक्तिका परिवार र थारु समुदाय न्यायको खोजीमा यतिखेर एकै ठाउँमा उभिएका छन् । घटनामा मारिएका २ वर्षे बालकको स्मृतिमा टीकापुरमा पार्क बनाइएको छ । मारिएका बालक टेकबहादुर साउदकी आमा र परिवारले चुनावी अभियानमा रञ्जितालाई सघाएका थिए । मृतक बालककी आमालाई प्रदेशसभा टिकट नै दिन खोजेको रञ्जिता बताउँछिन् ।

‘हामी टीकापुरका सबै पीडितले न्याय खोजिरहेका छौं । सत्यतथ्य छानबिन गरियो भने हामी सबैले न्याय पाउँछौं’ उनी भन्छिन् ।

टीकापुर घटनामा समग्र टीकापुर पीडित भएको उनको भनाइ छ । रेशमसहित टीकापुर घटनामा बन्दी बनाइएकाहरुको रिहाइसँगै टीकापुर घटनाको निष्पक्ष छानबिन गरेर पीडितलाई न्याय दिलाउने आफ्नो मुख्य भूमिका हुने उनले बताइन् ।

‘हामी सबै पीडित हौं । हामी सबैले न्याय पाउनुपर्छ’, टीकापुरले सामाजिक सद्भाव देखाइसकेको बताउँदै उनले भनिन्, ‘हामी मिलेर बसेका छौं । हामी मिलेर बसेका समाज हौं, हामीबीच कुनै वैमनस्य छैन भन्ने त प्रमाणित भइसकेको छ ।’

भिडियो/तस्बिर : शंकर गिरी

लेखकको बारेमा
सागर चन्द

दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?