+
+

सेफ आरबी बुढाथोकीको रेसेपी : कसरी बनाउने खिचडी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १३:०८

खिचडी, वीरबल-अकबरको कथादेखि हाम्रा हजुरआमासम्मले यसको बखान गरिसकेका छन् । पुस्तौंदेखि हाम्रो भान्सामा पाक्दै आएको स्वादिष्ट खुराक हो यो ।

खासगरी माघे संक्रान्तिको दिन खिचडी खाने प्रचलन छ । हाम्रा पूर्खाहरुले यो प्रचलन किन पनि चलाए होलान् भने जाडोयामका लागि खिचडी बढी काइदाको खान्की हुनसक्छ ।

नरम, रसिलो र मिश्रित स्वादको तात्तातो खिचडीमा थोरै घिउ मिसाएपछि कम्ता स्वादिलो हुँदैन । नेपाल आउने विदेशी पर्यटकहरुले पाँचतारे होटलमा खिचडी खान रहर गर्छन् । मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको बेला सोल्टी होटलमा खिचडी बनाएर खुवाएको थिएँ ।

जोगी भात

हामीकहाँ खिचडीलाई जोगीभात पनि भन्ने गरिन्छ । खिचडीमा दाल, चामल, घिउ र विभिन्न तरकारीको मिश्रण गर्नुपर्छ । यो प्रोटिन, फाइबर, कार्बोहाइड्रेट पाइने हुँदा यो पोषणको सम्पूर्ण प्याकेज हो । यो परिकारले अपच हुनबाट बचाउने, वात, पित्त र कफलाई रोक्ने काम गर्छ ।

कसरी बनाउने खिचडी ?

सामग्री

–     १ कप चामल (सकेसम्म बासमती चामल जस्ता लामो दाना भन्दा छोटो र मोटो पोलिस नगरेको टाइचिनको चामल खिचडीको लागि उपयुक्त हुन्छ)

–     डेढ कप मासको दाल (बोक्रासहितको मासको दाल प्रयोग गरे फाइबर बढी हुन्छ)

–     घिउ ठूलो चम्चा दुई चम्चा आधा

–     बेसार डेढ चिया चम्चा

–     गेडा जिरा साढे १ चिया चम्चा

–     अदुवा लसुनको पेस्ट ठूलो चम्चाको १ चम्चा आधा

–     हिङ, आधा चिया छ भने चम्चा (छैन भने नहाल्दा पनि हुन्छ)

–     खिचडीमा प्रयोग गर्न तयार पारिएको तरकारी हाल्दा केलाएर फ्याँक्न राखिएको तरकारी पनि पखालेर सफा पानीमा उमाल्ने र त्यो पानी १ लिटर (भेजिटेबल स्टक) तरकारीको मीठो फ्लेभरको लागि ) अथवा ताजा पानी १ लिटर

–     नुन स्वादअनुसार

–     दुईवटा हरियो खुर्सानी र थोरै धनियाँको मिश्रण

–     थोरै गाँजर, आलु, काउली, बन्दाहरु स-सानो टुक्रा (यो नहाल्दा पनि खिचडी बन्छ)

खिचडी कसरी पकाउने ?

बाक्लो खालको डेक्ची वा कसौंडीमा पकाउँदा स्वादिष्ट र हेर्दा आकर्षक देखिन्छ । डेक्ची वा कसौंडी नभए कुकरमा पनि बनाउन सकिन्छ । सबैभन्दा पहिला भाँडो तताउने, तातेपछि तयार पारेर राखिएको घिउ हाल्ने, त्यसमा जिरा हाल्ने, हिङ छ भने हाल्ने, अदुवा लसुनको पेस्ट हाल्ने र एकछिन भुट्ने ।

त्यसपछि तरकारी हालेर भुट्ने, त्यसमा दाल र चामल छ भने हालेर कसौंडीमा ४० मिनेट जति मधुर आगोमा पकाउने अनि बाक्लो हुँदै आउँछ । हतार छ भने पानी हालेर कुकर चार सिट्ठी लगाउन सकिन्छ ।

चामल, दाल र चामलको मात्र खिचडी खाने हो भने राम्रोसँग पखालेर मज्जाले भुट्ने । तीन मिनेटपछि पानी हाल्ने विस्तारै नुन, मसला हाल्ने चलाएर कसौंडीमा वा प्रेसर कुकरमा पकाउन सकिन्छ । त्यस्तै कुखुरा, खसीको मासु हालेर पनि खिचडी बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?