+
+

चलचित्र संघले गर्‍यो आन्दोलन घोषणा : हल बन्द गर्ने, विकास बोर्डमा ताला लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:१७

६ पुस, काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन् ।

जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन्् ।

भेलापछि अनलाइनखबरसँग कुरा गर्दै चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘अब हामीहरु मन्त्रालयस्तरमै वार्ता गर्छौं,’ उनले भने, ‘हामी क्रमशः कडा आन्दोलनसहित अघि बढ्छौं ।’

एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।

‘कोरोना महामारीले थलिएका फिल्म हललाई राहत दिने काममा बोर्ड गम्भीर भएन । सहजीकरण गर्ने भन्दा पनि शासन लाद्ने काम भयो । देशभरका सबै साथीहरुको सहमतिमै हामी आन्दोलनमा होमिने निर्णय गरेका हौं,’ महर्जनले भने ।

भुवन केसीसँग वार्ता नगर्ने

यसैबीच, चलचित्र संघको राष्ट्रिय भेलाले चलचित्र विकास बोर्डको नेतृत्वसँग वार्ता नगर्ने निर्णय गरेको छ । ‘बोर्डसँग वार्ता नगर्ने हाम्रो निर्णय भएको छ । अब मन्त्रालयस्तरमै वार्ता हुन्छ । सोहीअनुसार १२ गते ज्ञापनपत्र बुझाउँछौं,’ उनले भने ।

भेलाको पूर्वसन्ध्यामा मंगलबार बोर्डले वार्तामा बस्न आग्रह गर्दै संघलाई पत्र लेखेको थियो । तर वार्तामा नबस्ने जवाफ आफूहरुले दिएको महासचिव महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?