+
+
साहित्य-सम्झना :

‘यो चिठी क्याम्पस चिफलाई लगेर दिनू’

कृष्ण धरावासी कृष्ण धरावासी
२०७९ पुष ७ गते १७:२८

फारम बुझाइसकेपछि सोधखोज गर्दै चिफ सरको कोठामा पुगें । एउटा ठूलो टेबलको पछि कुर्सीमा अग्लो, मोटो, बलियो एउटा कालो मान्छे बसेका थिए । पस्नुभन्दा अघि बाहिर ढोकामै नेमप्लेट पढेको थिएँ– केदारनाथ बाँस्तोला । मलाई कुमारबाबुले भन्नुभएको थियो, ‘यो चिठी क्याम्पस चिफलाई लगेर दिनू, ऊ मेरो साथी हो । उसले तिमीलाई सहयोग गर्छ ।’

नमस्कार गर्दै डरले लगलग काम्दै टेबलको अघि उभिई अघिदेखि मुठीमा दह्रो गरी कसेर बोकेको चिठी उहाँको हातमा राखिदिएँ । चिठी खोलेर हेर्नुभयो । सानो कागजमा दुई वटा वाक्य त थिए, पढ्न कत्ति बेरै लागेन । पढिसकेर मतिर हेरी नरम भाकामा सोध्नुभो । मैले छोटकरीमा आफ्ना कुराहरू भनें । मार्कसिट हेर्नुभो ।

‘ल ठिक छ । राम्ररी मिहिनेती र अनुशासित भएर पढ्नू । केही साह्रोगाह्रो, अप्ठ्यारो परे मलाई भन्नू’, भन्नुभयो ।यो २०३५ साल असार २१ गतेको कुरा थियो । म इलाम क्याम्पसको विद्यार्थी हुन पुगेको पहिलो दिनको कुरा थियो, त्यो । क्याम्पस चिफ अर्थात् केदारनाथ बाँस्तोला । अग्ला, कालो वर्णका, हाँस्दा मिलेका सेता दाँत टलक्क टल्किने, नबोलेको बेला रिसाएका हुन् कि खुसाएका-थाहा नहुने लाग्थे ।

मैले नियमानुसार फारम भरें र शिक्षाशास्त्रमा अध्ययन गर्न लागें । पहिला मलाई कहाँ गएँ कहाँ, परदेशमा के होला, कसो होला भन्ने डर लागिरहेको थियो घरबाट हिंड्दा । कलेज पुगेर चिफ सरलाई भेटेपछि खुसी र डर दुवै लागेको थियो ।

कृष्ण धरावासी

खुसी थिएँ किनकि मलाई क्याम्पस चिफले छर्लङ्ग चिनेका छन् । केही परे सीधै उनीकहाँ जान सक्छु, डर थियो मबाट केही गल्ती भए पनि पहिल्यै चिफ सरले थाहा पाउनेछन्, लुक्न पाउँदिनँ । डर र भर दुवै कुराले म राम्ररी बाँधिन पुगेको थिएँ ।

उनको व्यक्तित्व नै यस्तो थियो, सबै विद्यार्थी डराउँथे । केही कुरा भन्नु परे सकेसम्म एक्लै उनको अघि पुग्न चाहँदैनथे । अठार वर्षको म इलाम क्याम्पसको विद्यार्थी हुनपुग्दा हाम्रा चिफसरको उमेर पैंतीस वर्षको भयो भन्थे र सम्भवतः त्यही वर्षको हिउँदमा उनको बिहे भयो । मलाई लाग्थ्यो उनले धेरै नै बुढो भएपछि बिहे गरे । त्यसबेला मात्र हैन अहिले पनि यस्तो बिहेलाई ढिलो नै मानिन्छ ।

त्यही साल अर्थात् २०३५ साल फागुनदेखि देशव्यापी रूपमा विद्यार्थी आन्दोलन सुरु भयो । हाम्रो क्याम्पसमा पनि विभिन्न माग राखेर आन्दोलन सुरु भयो । खासमा त्यसबेला राखिएका धेरै माग क्याम्पसले पूरा गर्न सक्ने खालका थिएनन् । म एउटा सामान्य खालको विद्यार्थी भएकाले ती मागहरूका पछि के कस्ता राजनीतिक कुराहरू मिसिएका छन् भन्ने थाहै थिएन तर किन हो मलाई यस्तो आन्दोलन मन पर्थ्यो ।

पहिलोपल्ट नौ वर्षको उमेरमा २०२५ सालमा झापामा भएको पहिलो विद्यार्थी आन्दोलनको जुलूसको भीडमा म पनि त्यत्तिकै चिच्याउँदै कुदेको थिएँ । त्यसबेलाको त्यो प्रभाव गहिरो गरी मेरो मन र दिमागमा बसेको रहेछ होला । जसरी कुरै नबुझी त्यसबेला म जुलूसमा कुदेको थिएँ, यसपालि पनि उसै गरी म कुदिरहेको रहेछु ।

यो हड्ताल र जुलूसमा बडो जोडसँगले नारा लगाउँदै उफ्रिंदै गर्दा एकाएक मलाई चिफ सरको अनुहार आँखामा आएर नाच्न लागेको आभास हुन्थ्यो अनि मेरो स्वर झट्टै सानो हुन पुग्थ्यो । यो आन्दोलनले घरी–घरी चिफ सरको अफिस घेर्न पुग्थ्यो । त्यो भीडमा म पनि हुन्थें तर, सकेसम्म चिफ सरले नदेखुन् भनी छेलिन खोज्थें । जब जुलूस चिफ सरको कोठातिर मोडिन्थ्यो त्यसबेला चाहिं मलाई त्यो आन्दोलन मन पर्दैनथ्यो ।

मनमा डर लागिरहन्थ्यो, कुनबेला चिफ सरले बोलाएर मलाई हकार्ने हुन् भन्ने तर, उनले कहिल्यै पनि त्यसबारेमा केही कुरा गरेनन् । त्यो आन्दोलन २०३६ साल जेठ १० गते राजा वीरेन्द्रले जनमत संग्रहको प्रस्तावको आह्वान गरेपछि मात्र शान्त भयो र आन्दोलनले बहुदलको पक्षमा नयाँ मोड लियो ।

विस्तारै कुरा बुझ्दै गएँ । चिफ सर आफैं पनि वामपन्थी विचारका रहेछन् र त्यो आन्दोलनमा भित्रभित्रै उनको समर्थन मात्र हैन, सक्रिय सहयोगसमेत रहेछ । बाहिर–बाहिर प्रशासकको हैसियतले विरोध गरे जस्तो गरे पनि भित्र–भित्रबाट चिफ सर र अन्य प्राध्यापकहरूको पनि जोडैको सहयोग रहेछ । क्याम्पसभित्र आन्दोलनले त्यो रूप लिनुमा क्याम्पस प्रशासनकै आन्तरिक भूमिका रहेछ ।

आन्दोलनकै बीचमा पनि जम्काभेट हुँदा उनले प्रायः सोधिरहन्थे पढाइको बारेमा । ‘कलेजमा केही न केही सधैं भइरहन्छ, आफ्नो पढाइलाई चाहिं नियमित गर्नुपर्छ है !’ यो भनाइले मलाई उहाँको अभिभावकत्वमा सधैं विश्वास भइरह्यो ।

त्यो वर्षभरि कहिले आन्दोलन, कहिले जुलूस, कहिले पढाइ हुँदै अघि बढिरहियो । प्रायः कलेजको वरिपरि प्रहरीहरू गस्ती गरिरहन्थे । यस्तो बेलामा विद्यार्थी प्रशासनले हामीमाथि किन निगरानी गराउँदैछ भनेर चिफ सरको कोठा घेरा हाल्थे । त्यही निहुँ पारेर उनले प्रहरी प्रशासनलाई भन्थे होलान् र केही दिन खैरा पोशाकका प्रहरी देखा पर्दैनथे तर, सादा पोशाकका प्रहरीहरू विद्यार्थीको रूपमा हरेक कक्षामा हुँदारहेछन्, मैले चाहिं त्यो कुरा पटक्कै बुझ्दोरहेनछु ।

जनमत संग्रहको परिणाम पञ्चायतको पक्षमा आयो । त्यो हुनुभन्दा अघि नै क्याम्पसमा विद्यार्थी सैद्धान्तिक आधारमा विभाजित भए । कांग्रेस समर्थक नेपाल विद्यार्थी संघ, माले समर्थक अनेरास्ववियु पाँचौं, रसियन कम्युनिष्ट समर्थक विद्यार्थी संगठन फेडरेसन आदित्यादि । अनि आफू आफैंमा झडप पनि हुन थाल्यो । विद्यार्थी एकता कमजोर हुँदै गएपछि प्रशासनलाई पनि कारबाही गर्न सजिलो हुँदैगयो र माले समर्थक विद्यार्थी पक्राउ पर्दै थुनिंदै पनि जान थाले ।

यस्तै उस्तैमा पढाइ सकियो । इलाममा व्यावसायिक शिक्षाको पढाइ आईएडसम्म मात्र हुने भएपछि मेरो पढाइ पूरा भयो । सदाको लागि घर फर्किनु अघिल्लो दिन मैले चिफ सरलाई भेटें । यो दुई वर्षमा म धेरै नै आँटिलो पनि भइसकेछु । नडराई आत्मीय पाराले विदा मागें ।

उनले भने, ‘तिम्रो बारेमा कुमारले पछि इलाम आएका बेलामा राम्ररी भनेको थियो । दुःखबाटै उठ्नुपर्छ । यसअघिका बाटा पनि सजिला हुँदैनन् । सतर्क भएर चल्नुपर्छ । राजनीतिमा जति रुचि भए पनि पहिला आफ्नी आमा र भाइबहिनीलाई हेर्नु । केही आवश्यक परे मलाई चिट्ठी लेख्नु ।’ तर मैले उनलाई कहिल्यै कुनै चिट्ठी लेखिनँ ।

बेलाबेला बिर्तामोडतिर भेट हुन्थ्यो, केकसो छ भनेर पारिवारिक र जागिर बारे चासो राख्थे । जिल्लास्तरका पत्रपत्रिकाहरूमा मेरा लेख र कविताहरू छापिन थालेकाले कुनै कुनै पढेको कुरा गर्थे । लगत्तै उनको पनि काठमाडौं सरुवा भएछ ।

काठमाडौं पुगेपछि इतिहास विषयमा विद्यावारिधि गरेको पनि सुनियो । उनी जहाँ भए पनि आफ्नै व्यक्तित्वले अरूलाई सहजै प्रभावित गर्न सक्ने हैसियत राख्थे । त्रिभुवन विश्वविद्यालयमा पनि उनको अलग्गै पहिचान रहेको चर्चा सुनिरहन्थें । पछि दुईपल्ट जति मात्र भेटघाट भएको सम्झना छ ।

प्रजातन्त्र आइसकेपछि नेपालको राजनीतिमा अनेक खाले खेल हुन थाले । ती खेलहरूमा यहाँका राजनीतिक दलहरू अनावश्यक आन्तरिक द्वन्द्वमा फँस्दै र विचलित हुँदै गए । त्यस्तै बेलामा एमाले विभाजन भएर माले भएपछि २०५६ सालमा उनले नेकपा मालेको टिकटमा इलामबाट प्रतिनिधिसभाको सदस्यमा चुनाव लडे, एमालेका झलनाथ खनालसँग प्रतिस्पर्धा थियो, जितेनन् ।

चुनावपछि उनलाई राजनीतिमा खासै सक्रिय देखिएन । बेलाबेला विद्यार्थीकालका सन्दर्भ आउँदा म उनलाई गहिरो गरी सम्झन्थें । हुन त उनले मलाई धेरै ठूलो उस्तो सहयोग केही गरेका हैनन् तर अभर परेका बेला सानो सिटोले पनि भर दिन्छ भनेझैं भरको काम गरेका थिए । कोही त थिए मलाई अनुशासनमा रहन प्रेरित गरिरहने— मनको कुनै कुनामा गहिरो गरी अभिभावकीय व्यक्तित्वको रूपमा आसन जमाई बसेका ।

निकैपछि सायद २०६४ सालतिर हुनुपर्छ पत्रकार भाइ बसन्त बस्नेतले बानेश्वरस्थित उनको डेरामा लैजाँदा म केदार सरको घरमा पुर्‍याइएछु । तर त्यसबेला उहाँको अवस्था निकै फरक थियो । उहाँलाई बिर्सने रोगले समातिसकेको रहेछ ।

मलाई चिन्न सक्नुभएन । उहाँको घरमा पुग्न पाएको हर्ष उहाँले चिन्न नसकेकोमा वियोगमा परिणत भयो । त्यो दिन उहाँले मलाई चिन्न सक्नुभएको भए त्यसबेलासम्म मैले गरेका आर्थिक, सामाजिक, पारिवारिक र साहित्यिक प्रगतिका कति कुरा मेलैसँग सुनाउँदो हुँ !

भाउजूले भन्नुभएको थियो– बीस वर्षअघि उहाँको स्तनमा एउटा गाँठो आएको थियो रे ! त्यसको शल्यक्रिया गरिसकेपछि डाक्टरहरूले भनेका थिए रे यस्तो अप्रेशन गरिएका कतिपय मानिसलाई पन्ध्र बीस वर्षपछि बिर्सने रोगले समात्न सक्ने संभावना पनि देखिएको छ । नियमित परीक्षणमा रहनुहोला ।

नभन्दै बीस वर्षपछि उहाँमा बिर्सिने समस्या देखिएको रहेछ र त्यो निकै नै छिप्पिइरहेको थियो । उहाँले बोल्दाबोल्दै शब्दहरू नै बिर्सिने र आधामै भन्न खोजेको वाक्य छोड्न थाल्नुभएको थियो ।

बाथरुमभित्र पसेर चुकुल लगाई खोल्न भुल्नुहोला भनेर बाथरुमका चुकुलहरू सबै खुस्काइएका थिए । आर्थिक समस्याले निकै गाँजेको र त्रिविले भाउजूको जागिर शङ्करदेव क्याम्पसमा सरुवा माग्दा छोटो अवधिको काजमा मात्र हाजिर गराएको छ भनी दुःख पोख्नुभएको थियो ।

दुःख सुन्नुबाहेक मसँग के नै उपाय थियो र ! केही घण्टा बसेर बसन्तकै कोठामा खाना खाएर फर्केको थिएँ । फर्केपछि उसबेलाका मेरा सहपाठी केही साथीहरूलाई उहाँको बारेमा सुनाएँ । कसैलाई पहिल्यै थाहा रहेछ, कसैले पहिलोपल्ट मैबाट थाहा पाए । मपछि अरू साथीहरू पनि गएर भेटे नै होला । त्यसको केही महिनापछि बसन्त पनि डेरा सरेछन् । बसन्तले डेरा सरेपछि म पनि उहाँको बारेमा सम्पर्क शून्य भएँ ।

पछिल्लो कालमा निकै मेरा समकालीनहरूसँग उहाँको बारेमा सोधखोज गरें । कसैले दुई वर्षअघि इलाममा उनको त्यही रोगका कारणले निधन भयो भनेर सुनाए । यो समाचार सुनेको दिनभरि मलाई नराम्रो लागिरह्यो । उनी अल्जाइमर जस्तो दिक्क लाग्दो रोगसँग धेरै वर्ष जुधेर मर्नुभयो ।

मृत्यु स्वाभाविक हो तर, आज उहाँलाई मैले जसरी नै अरू पनि कतिलाई सम्झना आइरहँदो हो भन्ने लागिरहन्छ । जीवनमा जोडिएर आउने हरेक व्यक्तिहरू आफूलाई भविष्यतिर ठेल्ने ऊर्जा हुन्, तिनलाई कहिल्यै पनि भुल्नुहुँदैन भन्ने मलाई लागिरहन्छ । म रहुन्जेल तपाईं पनि मेरो स्मृतिमा बाँचिरहनुहुनेछ चिफ सर ! जहाँ रहे पनि शान्तिपूर्वक रहनुहोस् । आध्यात्मिक अभिवादन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?